सपना

सपना

कविता

उज्यालो रोक्ने याचना गर्दैमा
सकिँदैन रात लम्ब्याउन
चुटेर लट्ठीले
कानूनको
या छोपेर बर्कोले
संविधानको
जति नै ताडना दिएपनि
हुँदैन सपनाको मृत्यु,
सपना तब मात्र मर्छ
जब मर्छ कविताको मथिङ्गल ।

कविताहरू
गर्छन् सपनाको खेती
सपना
सङ्कल्प हो कविताहरूको
सपना पुरा हुन्छ अवश्य
छैन उनीहरूलाई कुनै सन्देह
र, उदाउँछ झुप्राहरूमा
एउटा सुनौलो संसार ।

८ माघ २०८२, कोटेश्वर, काठमाडौं