उज्यालो रोक्ने याचना गर्दैमा
सकिँदैन रात लम्ब्याउन
चुटेर लट्ठीले
कानूनको
या छोपेर बर्कोले
संविधानको
जति नै ताडना दिएपनि
हुँदैन सपनाको मृत्यु,
सपना तब मात्र मर्छ
जब मर्छ कविताको मथिङ्गल ।
कविताहरू
गर्छन् सपनाको खेती
सपना
सङ्कल्प हो कविताहरूको
सपना पुरा हुन्छ अवश्य
छैन उनीहरूलाई कुनै सन्देह
र, उदाउँछ झुप्राहरूमा
एउटा सुनौलो संसार ।





























