अँध्यारो विरुद्ध उज्यालोको खोजी, पुरातनका विरुद्ध नवीन आभाको जिजिविषा, भोक र तिर्खा विरुद्ध श्रम श्रृजनाको खोजले घोर निराशा र तुफानको बिचमा धिपधिपे दियो पनि मशाल बनाउने उर्जा भरिदिने गर्दछ । गरिबी, अशिक्षा, न्यून चेतना, सामाजिक सांस्कृतिक विभेद र कुरिती, पितृसत्ताका उत्पीडनबाट थिचिएका भुइँमान्छे समेतको दिल दिमागमा तरङ्ग पैदा गर्ने दावानल बन्दै थियो ती दिनहरू । महान् जनयुद्धको विकाससँगै महिलाहरूमा देखिएको जागरण र सहभागिता नेपाली इतिहासकै ठुलो परिघटना थियो । यसको प्रभाव सहरका चोक गल्ली होस् वा दूरदराजका ग्रामिण बस्तिहरू हुन्, युवा जनशक्ति होस् वा वृद्ध आमाबुबा सबैलाई परिरहेकै थियो । कथित ब्राह्मण जाति हुन् वा अल्पसङ्ख्यक र सिमान्तकृत जाति जनजातिहरू सबैतिर डढेलो सल्केझैँ बिस्तार भैरहेको थियो । मानिस चेतनशील प्राणी भएको कारण गति र अग्रगमनप्रति विश्वास राख्ने हुँदा क्रान्तिको लागि वस्तुगत परिस्थिति झन् पछि झन् सुदृढ बन्दै गैरहेको थियो । यिनै बस्तुगत आधारमा नेपालको कुल जनसङ्ख्याको करिब पौनेलाख र केही सीमित जिल्लामा मात्र बसोबास गर्ने, गरिबी, अशिक्षा, अवचेतन बस्तिहरूलाई पनि झक्झकाउन पुग्यो क्रान्तिको उभार । यसै क्रान्ति र मुक्तिको तुफानी यात्राको यात्री बनिन् मिना चेपाङ । मुक्तिको अभिलाषा बोकेर पारिवारिक घेरा तोडी स्थानीय पार्टीको माध्यमबाट पूर्णकालीन बनिन मिना ।
आफ्नो आमाबुबाको आठ सन्तान मध्येका छैटौं सन्तान मिनाको जन्म कविलास गाविसको भार्लाङमा भएको हो । पूर्व पश्चिम राजमार्गबाट खासै टाढा नभए पनि राज्यको कोपभाजनको कारण घर नजिकै रहेको झिक्राले बारेर बनाएको स्कुलमा तीन कक्षासम्म अध्ययन गरेकी मिनाको आन्दोलनमा सरिक हुने प्रेरणा स्थानीय पार्टी कार्यकर्ता, महान् सहिद गोबिन्द पौडेल ‘सुदिप’, सहिद रामबहादुर गुरुङ ‘रमेश’ र उहाँको छोरी मिनाको बालसखा अनिता गुरुङ थिइन् । केही महिना अघि नै पार्टी सम्पर्कमा गैसकेकी अनितासँग मिना घर छाडेर हिँडेको दिन कोराकको चात्राङमा भेट भएको सुखद क्षण सम्झदै भावुक बन्नुहुन्छ अनिता । मिनासँग अत्यन्तै घनिष्ठ बालपनको स्मरणले कहिले रोमाञ्चक बन्दै एक रात पनि छुट्न नमान्ने, गोठालो जाँदा, घाँस दाउरा लगायत सधैं सँगै बिताएका पल र मुक्ति वा मृत्युको बाटोमा आफ्नो बुबा र सबैभन्दा प्रिय साथी गुमाउदाको पिडाले आहात बनाउँछ उनलाई । पार्टी आन्दोलन कहाँ कति चुनौती हुन्छ भन्दा पनि आफ्नो बालसखा साथै हुने लोभलाग्दो मिठासले मिनालाई तानेर पूर्णकालीन बनायो होला भन्नुहुन्छ अनिता । अभाव, अशिक्षा, गरिबी, अज्ञानता, अन्धबिश्वास आदि कारण घरदेखि करिब एक घन्टाको बाटोमा अर्को स्कुल भए पनि औपचारिक अध्ययन अघि बढाउन त पाएनन् तर यिनीहरू एउटै वर्ष, एउटै महिना जन्मेकाले पनि होला, एक दिन पनि छुटेनन् । केही गरी छुटिहाले भने दुधे बालखले आमा देखेर झम्टिए झैँ गर्थे एकअर्कालाई । मिना तीन वर्षको भएदेखि शायदै यिनीहरू छुट्टै सुते होलान् भनेर छोरीहरूको बालापन सम्झेर भक्कानिनु भयो अनिताको आमा मनमति गुरुङ । यति धेरै घनिष्ठ सम्बन्ध देखेर मिनाको बुबाआमाले समेत दुबैलाई रम्न दिएका होलान् ।
अनिता आफू पूर्णकालीन भएर हिँडेको केही समयमा बुबा पनि पूर्णकालीन बनिसकेको सुनेकी थिइन् तर भेट भने भएको थिएन । परिवारसँग पुग्ने वा परिवारबाट आउने सुचना सञ्चारको माध्यम पत्राचार र पार्टी च्यानल थियो । यस्तै दैनिकीका बिच
अनिताको टोली लोथरको चात्राङमा ठुलो पैमानामा बारुद बनाउँदै थिए । गोधुली साँझ पर्न लाग्दा आज केही साथीहरू थपिने भनेर मेसमा सुचना आयो । को, कुन जिल्लाको टोली थाहा हुने कुरै भएन । भोलिपल्ट उनीहरूले यो सेल्टर छाड्ने योजना थियो । त्यही भएर काम सक्ने हतारो थियो । एक्कसी उनको अगाडि कुदेर एउटा आकृती टक्क उभियो । सपना हो कि बिपना छुट्टाउनु गाह्रो भयो । अनिताको कल्पना भन्दा बाहिरको त्यो मान्छे को हो भनेर अलमल्ल भयो । आफ्नो बिरानो पनि छुट्टाउनु नसकिनेझैं अँध्यारो भइसकेको थियो । को हो भनेर मुख खोल्नै थाल्दा गम्लङ्ग अँगालो हाल्नै आइपुग्यो । त्यसरी अँगालो मारेर भक्कानिदै रुने अरू कोही नभएर अनिताको प्रिय साथी मिना थिइन् । त्यो दिन हिजोझैं लाग्छ अनितालाई । भिडमा हराएको बालकले आमा भेट्दा जस्तो भएको देखेर कमान्डर अभिषेकले जिस्काएपछि बल्ल आँसु रोकिएको थियोे । त्यो क्षण सम्झेर आज पनि उनको आँखाबाट उसैगरी आँसु बगिरहेको थियो । आफ्नो प्रिय साथी र लामो समयपछि घर परिवारको सुचना लिएर आफुसँग आइपुगेको दिन अनितालाई उनको बालापन फिर्ता भएको झैं सबैभन्दा सुखद क्षण लाग्छ । स्मृतिको त्यो सुखद क्षणमा पुग्दा अनिताको अनुहार मिना आडैमा, सँगै छन् झैं प्रज्ववलित भएको थियो ।
पार्टीको नीति कार्यक्रम, पार्टीमा हिड्नुको उद्देश्य, सेना निर्माणको आवश्यकता, जनसम्बन्ध बिस्तार, हरेक सदस्यको भूमिका, गोपनियता, नियमित हुने छलफल अन्तरक्रिया, प्रशिक्षण रोलकाल स्कुलको पाठ्यक्रम जस्तो हुन्थ्यो । जनताको बिचमा जान र सङ्घर्षमा सहभागिता होमवर्कझैं दैनिक प्रयोगमा जाने र केही न केही पढलेख गर्नैपर्ने अनिवार्यताले हरेक कार्यकर्ताको चेतनास्तर छिटो विकास हुन्थ्यो । अनिता सैन्य फाँटमा थिइन्, मिनालाई जनसङ्गठनमा राख्ने छलफल चलेको थाहा पाएपछि उनले आफ्नो कमान्डर अभिषेकलाई केही समय आफुहरू दुवैलाई एउटै फर्मेसनमा रहेर लड्न दिनुहोस् भनेर अनुरोध गरिन् । त्यसपछि करिब एक डेढ महिना उनीहरू सँगै भए । चितवनका पहाडी बस्तीहरू हाम्रा आधारक्षेत्र जस्तै थिए । नेतृत्व र कार्यकर्ताको केन्द्रीकरण, जनमुक्ति सेनाको शारीरिक र प्राविधिक तालिम, भेला र प्रशिक्षण नियमित जस्तै चलिरहन्थे । सुरक्षा प्रबन्धको लागि सेन्ट्री बस्नु अनिवार्य थियो । दुई दुई घण्टाको पालो पर्दथ्यो, उनीहरू भने पुरै चार घण्टा दुवैजना बस्दथे । त्यो विषय पार्टीभित्र अनुशासनको विषय बन्दथ्यो, उनीहरू आलोचना सहन्थे र फेरि त्यही गरिरहन्थे । वर्गसङ्घर्ष तीब्र गतिमा अघि बढिरहेको थियोे । मात्राबाट गुणमा र ससाना फौजी कार्वाहीबाट जिल्ला सदरमुकाम कब्जासम्मको फौजी कार्वाहीले देशैभरि तरङ्गित गरिरहेको थियो । त्यही बेलामा चितवनबाट कमरेड शैलेषको कमाण्डमा एक प्लाटुन जनमुक्ति सेनाको टुकडी चितवनबाट अन्य जिल्लामा स्थानान्तरण हुने योजना बन्यो । अनिता पनि बाहिर जाने त्यो टोलिमा परेपछि मिनासँग छुट्टिनुपर्ने भयो ।
दैनिकजसो हुने सैन्य कार्वाही र भिडन्तको स्थितिले जीवन र मृत्युबिच कपालको रौंभन्दा पातलो सिमाना थियो । सरकारी सुरक्षा फौजले गिरफ्तार गरेर दोहोरो मुठभेडको नाममा हत्या गर्ने सम्भावना पनि उत्तिकै थियो । अझ महिलामाथि त वलात्कार वा उस्तै खालको शारीरिक यातनाको खतरा झन् धेरै हुन्थ्यो । जस्तोसुकै परिस्थितिमा पनि क्रान्तिप्रति गद्दारी नगर्ने कसम खाए । बलिदानको कोटा जसले चुकाउनु परे पनि बाँचेकोले क्रान्तिको झण्डा उठाइरहने प्रतिबद्धताका दह्रो हात मिलाएर उनीहरू छुट्टिए । छुट्ने बेलामा मिनाले अनितालाई ‘म जनसङ्गठनमा जनताको बिच हुन्छु, तिमी जनमुक्ति सेनामा छौ, तिमी पहिला सहिद हुन्छ्यौ होला’ भनेर बेस्सरी रोइन् । अनिता गण्डक ब्युरोमा गएपछि कैयौं सैन्य कार्वाहीमा सहभागी भइन् । बिचमा एकपटक घर आएको बेलामा मिनासँग पनि भेट भयो । मिनाको बुबाको निधन भइसकेको कुरा मिनालाई थाहै रहेनछ । अनिताले अकमकाउँदै त्यो खबर सुनाइन् । मिना रुने पो होकि भनेर उनलाई बेस्सरी डर लागिरहेको थियोे । ‘वर्गसङ्घर्षको यो उत्कर्षमा हजारौं साथीहरू ढलेका छन् । विवाह भएको केही दिनमै जीवनसाथी गुमाएका योद्धाहरू दृढतापूर्वक लडिरहेका छन् । मेरो बुबाको ढल्दो उमेर थियो, गरिबीको कारण समयमा उपचार नपाएर बित्नु भयो । म यो असमानता बदल्न लड्दै छु । तिमी घर पुग्यौ भने आमालाई नरुनु भन्नू है’ भनेर अनिताले सोचे भन्दा उल्टो जवाफ पाइन् । वर्गसङ्घर्षले मिनाको क्रान्तिकारी रूपान्तरण गरिरहेको थियो । मिनाको कुरा सुनेर अनिता अवाक भइन् । साथी कति परिपक्व र क्रान्तिप्रति प्रतिबद्ध भइसकेकी रहेछिन् भनेर गर्वले उनको छाती ढक्क फुल्यो । त्यो रात दुवैले अङ्गालोमै बिताए ।
मिनाको दाजु यमन चेपाङ पनि जनयुद्धमा सहभागी भए । उनी जनकलाकारको भूमिकामा सक्रिय थिए । उनको निधन भैसकेको कारण परिवारको वास्तविक तथ्याङ्क दिने मान्छे समेत पाउन सकिएन । मिना महिला सङ्गठनमा थिइन् । नचिनेको भूगोलमा उनको सङ्गत भयो जुना ढकालसँग । दुवैजना कोराकको त्यो डाँडामा नयाँ थिए । सिंहबहादुर गोलेले उनीहरूलाई त्यहाँका बस्ती र जनजीवन चिनाउन मदत गरे । तलबाट रासन, सैन्य सामग्री ओसार्नु, नेता र कार्यकर्ता वा जनमुक्ति सेनाको टुकडिको पथपदर्शन गर्नु, घाइते र बिरामीको व्यवस्थापन जस्ता काम पहाडी भूगोलका सङ्गठनको मुख्य काम हुन्थे । प्रायः सबैजसो राजनीतिक, प्राविधिक तयारीका काम पहाडमै हुने हुनाले व्यवस्थापन नै मुख्य काम हुन्थ्यो । जुना र मिना पनि जनताको बिचमा रहेर त्यही काम गरिरहेका थिए । एउटा बाहुन परिवार अनि शिक्षक पृष्ठभूमिको जुना ढकाल र अर्को जम्मा तीन कक्षा पढेकी सिमान्तकृत चेपाङ समुदायबाट आएकी मिना चेपाङ एउटै उद्देश्यले एउटै मोर्चामा लडिरहेका थिए, जनतालाई सङ्गठित गर्दै थिए । युद्धले सामाजिक रूपान्तरणको अनौठो अभ्यास गरिरहेको थियो ।
चितवन भौगोलिक बनावटले पहाड र मैदानी क्षेत्र मात्रै हैन जनजीवनका थुप्रै पाटाहरूमा फरक विविधता भएको जिल्ला हो । युद्धको समयमा क्यमोफ्लाइज हुनै गाह्रो भन्नुहुन्थ्यो समर दाइ । हाइवेको वरपर एकखाले गेटअप चाहिने, अलिक तल दक्षिण झर्दा अर्कै चाहिने, उत्तरतर्फ अलिकति पहाड उक्लेर जाँदा अर्कै ठाउँमा पुगेजस्तै हुने फरकफरक विशेषता र मनोविज्ञान बोकेका ठाउँ छन् । आफ्नो उब्जनीले तीन महिना पनि खान नपुगेर जङ्गलबाट गिठा भ्याकुर खोजेर खाने तर काम खोज्न मैदानी इलाकामा नझर्ने चेपाङ जाति र औलो, बाढीले उठिबास लगाउँदा पनि सुरक्षित ठाउँ खोज्दै पहाड नउक्लिने थारु जातिको सांस्कृतिक चिन्तन अचम्मैलाग्दो छ । चितवनको पहाडी भूगोल राज्यको आँखाबाट ओझेल परेको थियो । जुगेडी जुटपानी सङ्घर्षमा मुख्य भूमिका खेलेर बलिदानको समेत नेतृत्व गर्ने जाति चेपाङ, पार्टीको केन्द्रीय समितिमा सुन्दर चेपाङहरूले प्रतिनिधित्व गर्दा समेत यो जातिको मैदानी भागसँग कायमै रहेको दुरी जनयुद्धले साँघु¥याउँदै थियो । जनयुद्धका पछिल्ला दिनहरूमा सेना पुलिस युनिफाइड कमान्ड बिना पहाड चढ्ने आँट गर्दैनथे । संयुक्त सुरक्षा फौज चितवन, धादिङ र मकवानपुरको एउटै टोलि बनाएर पहाडी भूगोलमा क्रान्तिकारीहरूलाई कुचो लाएझैं बढार्न भनेर स्विप अभियान चलायो । जुना ढकाल र मिना चेपाङ कोराकको रातमाटेबाट २०५९ जेठ ७ गते युनिफाइड कमान्डको गिरफ्तारीमा परे । गिरफ्तार गरेर उनीहरूलाई चरम यातना सहित नाङ्गै पारेर गाउँ घुमाँउदै पछि भरतपुर ब्यारेक पु¥याएछ । भोलिपल्ट जेठ ८ गते त्यही टोलिले लोथर खोलामा गमबहादुर मोक्तानलाई समाएर ढुंगाले हानिहानी डिहिटार पु¥याएर बिभत्स हत्या गरी एक जोदाहा योद्धालाई हामीबाट खोसेको छ । वनमा लागेको डढेलोझैं यो खबर फैलियो । म पिप्लेतिर थिएँ । म सुरक्षित स्थान खोज्दै त्यहाँबाट अन्यत्र लागेँ । दमन र हत्याको शृङ्खला कहालीलाग्दो लाग्दो थियोे । गण्डक ब्युरोका कतिपय महत्वपूर्ण सामग्री सहित हाम्रो जिल्लाको मुख्यालय नै पहाडी इलाकामा भएको कारण ठुलो क्षतिको डर मनमा थियो । श्याम दाइ सहित अरू साथीहरूको चिन्ता लागिरहेको थियो । माथिबाट तल झर्दै आएको त्यो कमाण्डो टोलीले जेठको ९ गते पिप्लेबाट राजन कँडेल, जलकुमार श्रेष्ठ र शान्तबहादुर गुरुङलाई गिरफ्तार गरी अज्ञात स्थलमा लागि हत्या गरी लास समेत बेपत्ता बनायो । उनीहरू तिनैजना पार्टीका सदस्य समेत थिएनन् । पिडा र आक्रोश दुवै सँगसँगै र उत्कर्षमा थिए । जेठ १० गते ‘मुठभेडमा दुई जना आतङ्ककारी जुना ढकाल र मिना चेपाङको मृत्युु’ भएको झुठो समाचार सञ्चार माध्यमबाट फुक्यो । आफुले गिरफ्तार गरेर तीन दिनसम्म अमानवीय यातना र सामुहिक वलात्कार गर्दासम्म आस्था गलाउन नसकेपछि सेनाले कथित मुठभेडको नाममा क्रान्तिकारीहरूको हत्या गरेर कायरता प्रदर्शन ग¥यो ।
भरतपुर ब्यारेकका ती त्राषदीपूर्ण दिनहरू स्मृति फलकमा बिजुलीको करेन्ट जस्तै दिमागमा अहिलेसम्म पनि तरङ्गित भइरहन्छन् । २०५९ मङ्सिर १ गते दोश्रो पटक गिरफ्तार भएर म भरतपुर ब्यारेक पु¥याइएँ । शाही जल्लादहरूको पाशविक यातनाको प्रकृति र गोपनियता भङ्ग गर्न अप्नाउने हत्कण्डाको एक साक्षी समेत हुँ । बाहिर वर्गसङ्घर्षका आँधिमय दिनहरू र दुश्मनका क्याम्पमा दिइने यातना र अपमान ब्योहोरेर मृत्युलाई नजिकबाट चुमेर फर्किएको छु । शोभा दिदी, अस्मिता, शारदा दिदीहरू पनि गिरफ्तार भइसक्नु भएको थियो । मरे बाँचेको कुनै पत्तो थिएन । आँखामा दशपत्रे कालो पट्टि बाँध्ने, पानी भरिएको ड्रममा उँधो मुन्टो पारेर डुबाउने, नाक र मुखमा पानीको मोटर चलाएर फोहोरा हान्ने, नांगो शरीरमा चिनी दलेर चौरमा सुताएर कमिलाले टोकाउने, पुस (माघको जाडोमा पानीमा चोबलेर पंखा चलाएर चिसो भुइँमा सुताउने, अन्धाधुन्ध लाठी र कोर्रा बर्साउने, खुर्सानी डढाएर झ्याल ढोका बन्द गरेर कोठामा थुन्ने, शरीरका संवेदनशील अङ्ग चलाइदिने, अपशब्द बोल्ने लगायत ब्यारेकभित्र माओवादीका नाममा समातिएका बन्दीहरूले भोग्ने यातनाका सामान्य रूपहरू थिए । एकदिन नाम थाहा नभएको निरौला थरको मेजरले ‘तँलाई जुना र मिना बनाइदिउँ कि सहयोग गर्छेस्’ भनेर एउटा कोठामा लग्यो । उसले मलाई ‘यो कस्तो कोठा हो तँलाई थाहा छ ? जसले सहयोग गर्दैन ऊ यही कोठाबाट अन्त्य हुन्छ’ भन्दै भुइँमा पछा¥यो । ठुलै अनिष्टको डरले मुटु काँप्यो । यही कोठामा जुना दिदी र मिनाको रगत बगेको रहेछ भनेर मनमनै सोचेँ । शरीर नचले पनी हातले बिस्तारै भुइँ सुम्सुमाएँ । ‘प्रिय कमरेडहरू मेरो शरीरमा एक थोपा रगत रहुञ्जेल दृढतापूर्वक लडिरहने छु’ मनमनै कसम खाएँ । मुट्ठी उठाएर लाल सलाम गर्न खोजें, कतिखेर बेहोस भएछु थाहै भएन । होसमा आउँदा एकजना सिपाही मेरो अगाडि थिए । उनले मलाई खाना खान भने । मैले खान नमानेपछि ‘तिमीलाई जस्तै कुटेर लास पारेको शारदा त बाँच्यो, तिमी पनि भात खाउ बैनी’ भन्दा शारदा दिदी जिवितै रहेको खबरले नचलेको शरीरभरि प्राण भरिएको जस्तो भयो । त्यो अँध्यारो कालो रातको सम्झनाले मन उद्वेलित भइरहन्छ । उनै सिपाहीले एकदिन जुना दिदी र मिनाको प्रसँग सुनाए । ‘पहाडतिरबाट ल्याएको दुइजना बैनीहरू साह्रै सोझा थिए । तिमेरु भन्दा जुनियर होलान् । तर साह्रै प्रतिबद्ध थिए । जति नै यातना दिए पनि हामी केही भन्दैनौं मात्रै भन्थे । कमाण्डो टोली यो ब्यारेकको मात्रै हुँदैन । गिरफ्तार गरेकै बेलामा पहाडमा यिनीहरूले मुख खोलेको भए अरू धेरै समातिने थिए । तर साह्रै ज्याद्रा रहेछन् ।’ उनी अगाडि भन्दै थिए ‘उनीहरूले मुख नखोलेपछि बलात्कार गरेर मारे । के गर्नु हामी पनि एक हिसाबले बन्दी नै हौँ । घरपरिवार भेट्न पाइँदैन । आदेस नमाने आफैंले बन्दुकको गोलि खान पनि बेर लाग्दैन ।’ उनले मलाई शोभा र शारदा जस्तै तर्क गर्नु है नत्र मार्छन् भन्दा उनको वर्गप्रेम छचल्किन्थ्यो । दुश्मनको क्याम्पभित्र पनि वर्ग थियो ।
क्रान्ति र मुक्तिको आकाङ्क्षा बोकेर लड्न निस्किएका क्रान्तिकारीहरूको आस्था गलाउन नसकेर जल्लादहरूले चरम यातना र बलात्कार जस्तो जघन्य अपराधको सहारा लिए । गरिबी अशिक्षाले गाँजेको सीमान्तकृत चेपाङ जातिबाट आन्दोलनमा लागेर आत्मसमर्पण गर्नुभन्दा मृत्यु रोज्ने मिना चेपाङहरूको सपना अधुरै छ । कमरेड जुना र मिना, तपाइँहरूको हातबाट खसेको त्यो रातो झण्डा फेरि उठ्नेछ । तानाशाही शासक र दलाल संसदीय व्यवस्था विरुद्ध लडेर जनताको सुन्दर बिहान ल्याउन निरन्तर लडिरहने छौं । तपाईंको रक्तबिजबाट क्रान्तिको नयाँ आभा फेरि उठ्नेछ ।





























