नयाँ भाष्यको दुस्सहास खाता

नयाँ भाष्यको दुस्सहास खाता

कविता

यतिबेला मेरो गाउँ
चोक चौतारो र भट्टिहरू
बजारमा, सेमिनारमा
सहरमा सडकमा
जन्मिएको छ नवीन भाष्य
सुर न तालको स्याल भाकाको
जय गानको स्वर
आफ्नै जननिको नाभि
विचारको मूल जराहरूलाई
निर्वासित गराएर
चोर हँगामा कलमी गर्न
सिँहदरवारले ठोकेको घोषणाको राग
अब आस्थाको जन्म निषेध गरियो ।

विचार चेतनाको वर्णशङ्कर झाडिबाट
एकाएक दृश्यवान कठपुतलीहरूको भिड
सुनका खाष्टोले अनुहार पखालेका
नयाँ जिम्मली भुक्तमानको खटन
फेरि पनि इतिहासलाई थेग्नुपरेको स्मृति
कटबाँसको चोट थाप्नुपर्ने छ
फेरि पनि छातिले गलिलको चोट खप्नुपर्ने छ
हातहरू हत्कडिमा जेलिनुपर्ने छ
मुठ्ठी उरालेर सडकमा हेलिनुपर्ने छ ।

मरिसकेको परम्परित ऐँठन
फेरि जन्मन खोज्दै छ
बर्षौँअघि मिल्किएका काँढाहरू
बयरका मुनाझैँ
जबरजस्त टुसाउन थालेको छ
फेरि जन्माउनु पर्नेछ
चिनियाकाजी र दिलबहादुर रम्तेलहरू ।

उज्यालो बाल्छौँ भनेर सिँहदरबार उक्लिएका
छाया परिधानका खेतालाहरूको चित्त
फेरि बासी अँध्यारोको खोपिभित्र पसेको छ
याङ्किको इशारामा नाचेका मदारीहरूले
उर्वर माटोमा भाँगो छरेर
लठ्ट्याउने यत्नमा
खोकी रहेछन् गोयबल्सको भद्दा ख्याक
आस्थाको मुहानमा पर्खाल उभिन्छ यदि भने
अर्को महाभारतको निम्तो दिनुपर्ने छ
इतिहासको पानालाई च्यात्न खोजियो भने
अर्को चिहान जन्मने छ
च्यातिनेछ नयाँ भाष्यको दुस्सहास खाता ।