काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका मूलपानी ८ निवासी चन्द्रकला सुवेदीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । निजको शनिबार दिउसो ३ बजे ९९ वर्षको उमेरमा दुःखद निधन भएको थियो । उहाँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय समिति सदस्य बाबुराम सुवेदीकी आमा र तनहुँ जिल्ला समितिका सचिव नारायण लम्सालकी हजुरआमा हुनुहुन्थ्यो । उहाँका दुई छोरा, चार छोरी, बुहारी तथा नाति–नातिना हुनुहुन्छ ।
पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको प्रेस वक्तव्यमा उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘दुःखको यस घडीमा हाम्रो पार्टी चन्द्रकला सुवेदीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, कमरेड बाबुराम सुवेदी लगायत सम्पूर्ण शोकाकूल परिवार, उहाँका साथीभाइ तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’































