‘क.किरण : स्ट्रोङ कम्युनिष्ट फाइटर एण्ड लिडर’ : चिनियाँ बुद्धिजीवीहरु

प्रकाशित मिति : २०७४ पुस ३

एकाडेमी अफ माक्र्ससिज्म चाइनिज तथा चाइनिज एकाडेमी अफ सोसल साइन्सेजका भाइस प्रेसिडेन्ड प्रो.फाङ चियानसिङ, चाइनिज एकाडेमी अफ सोसल साइन्सेजका असिस्टेन्ट प्रोफेसर तथा इन्रनेश्नल क्रिटिकल थाउटका डेपुटी इडिटोरियल डाइरेक्टर डा. लि चिछुलगायतका चिनियाँ बुद्धिजीवीहरुको एउटा टोलीले केही समय अगाडि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’लाई भेट तथा अन्तक्र्रिया ग¥यो । नेपाल र दक्षिण एशियामा समाजवादी आन्दोलनको भविष्यका विषयमा चिनियाँ बुद्धिजीवीहरुसँग गम्भीर छलफल गरिएको थियो । चिनियाँ बुद्धिजीवीहरुले वाम गठबन्धन, क्रान्तिकारी माओवादीले गर्ने नयाँ जनवादी क्रान्ति, नेपालमा भारतीय विस्तारवादी हस्तक्षेप र राष्ट्रिय स्वाधीनताको आन्दोलन लगायतका विषयमा जिज्ञासा राखेका थिए । उक्त भेटघाट अन्तक्र्रियामा क्रान्तिकारी माओवादीका नेता इन्द्रमोहन सिंग्देलले भाषानुवादमा सघाउनु भएको थियो । चिनियाँ बुद्धिजीवीहरुले छलफलको अन्त्यमा ‘कमरेड किरण इज स्ट्रोङ कम्युनिष्ट फाइटर’ भन्दै नेपाली नयाँ जनवादी क्रान्ति र कमरेड किरणको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । चिनियाँ बुद्धिजीवीहरुसँगको उक्त अन्तक्र्रिया तथा छलफलमा क्रान्तिकारी माओवादीका महासचिव किरणले व्यक्त गर्नुभएको विचारमा आधारित रहेर तयार पारिएको सामग्रीलाई यहाँ प्रस्तुत गरिएको छ : 

नक्कली र सक्कली कम्युनिष्ट

नेपालमा कम्युनिष्ट नामधारी धेरै पार्टीहरु छन् । मूलतः संसदीय व्यवस्थाका पक्षधर र संसदीय व्यवस्थाका विरोधी । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरु संसदीय व्यवस्था मान्दछन् । उनीहरु संशोधनवादी कम्युनिष्ट पार्टी हुन् । सर्वहारावर्गको अधिनायकत्व, वलप्रयोगको सिद्धान्त, निरन्तर क्रान्तिलगायतका माक्र्सवादी प्रस्थापनाहरुलाई मान्दैनन् । कम्युनिष्टको साइनबोर्ड राखे पनि उनीहरु असली नभएर नक्कली कम्युनिष्ट हुन्, जसले नेपालमा दलाल पुँजीवादी तथा साम्राज्यवादी नीति नै लागू गरिरहेका छन् ।
कम्युनिष्ट आन्दोलनको वास्तविक तथा क्रान्तिकारी धाराको नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) अर्थात् हामीले गरिरहेका छौं । हामी संसदीय व्यवस्था मान्दैनौं । लामो समयदेखि यसको विरोध गर्दै आएका छौं । यो व्यवस्थालाई उखेलेर फाली यसको ठाउँमा नयाँ जनवादी व्यवस्था स्थापित गराउन चाहन्छौं । नेपालमा जनवादी तथा समाजवादी क्रान्तिको आवश्यकता र संभव दुवै छ । एमाले र माओवादीहरुले नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसक्यो भनेर भ्रम छरिरहेका छन् । त्यो भ्रमको हामीले तथ्यसहित खण्डन गरिरहेका छौं । हामीले नयाँ जनवादी क्रान्तिको तयारी अगाडि बढाएर लैजाँदै गर्दा ती सबै भ्रमहरु चिरिदै जानेछन् र जनताको सहयोग, समर्थन र आवद्धता क्रान्तिमा बढेर जानेछ ।

फरक

दार्शनिक रुपमा एमाले–कांग्रेस–माके बहुलवाद मान्दछन् । हामी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद मान्दछौं । राष्ट्रियताको हिसाबले भन्ने हो भने हामी देशको राष्ट्रिय स्वाधीनता चाहन्छौं । एमाले–कांग्रेस र माकेले राष्ट्रियतामाथि गम्भीर खेलवाड गरेका छन् र गर्दै आएका छन् । हामीले नेपाल अर्धसामन्ती, अर्ध औपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहँदै आएको विश्लेषण गरेका छौं तर कांग्रेस, माके र एमालेले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादसँग साँठगाँठ गर्दै आइरहेको छन् । जसले नेपालको राष्ट्रिय स्वाधीनतामा गम्भीर असर पु¥याइरहेको छ ।

टुट, फुट र विभाजन

नेपाली कम्युनिष्ट आन्दोलनमा पटक पटक टुट, फुट र विभाजन भएको छ । कतिपय फुटहरु क्रान्तिका लागि भएका छन् भने कतिपय गुटगत स्वार्थका कारण पनि हुन पुगेका छन् । तत्कालीन माओवादीमा आएको विभाजन क्रान्तिका लागि भएको हो । पार्टीको नेतृत्वमा रहेका प्रचण्ड र बाबुरामले दशवर्षे जनयुद्धलाई गम्भीर धोका र गद्दारी गर्दै नयाँ जनवादी व्यवस्थाको पार्टी रणनीतिलाई परित्याग गर्दै संसदीय व्यवस्थालाई पार्टीको रणनीति बनाउन थालेपछि पार्टीमा विभाजन आएको हो र हामी दशवर्षे जनयुद्धले लिएको नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने क्रान्तिको अहिले तयारी गरिरहेका छौं । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास टुटफुट विभाजन हुँदै, सानोबाट ठूलो हुँदै र ठूलोबाट सानो हुँदै अगाडि बढ्दै आइरहेको छ । हामी संख्यामा अहिले सानो भएपनि गुणका हिसाबले साना छैनौं । जनयुद्ध सुरु गर्दा पनि हाम्रो शक्ति सानो थियो । त्यतिखेरको पार्टीको स्थितिबाट हेर्दा त अहिले हामी मात्रा र गुण दुवै हिसाबले ठूला छौं ।

संघर्षका सबै रुपको प्रयोग

कम्युनिष्टहरु सबैभन्दा बढी शान्तिप्रिय हुन्छन् र वास्तविक शान्ति चाहन्छन् । शोषण, विभेद र उत्पीडन समाजमा रहुन्जेल वास्तविक शान्ति स्थापित हुन सक्दैन । नेपाली समाजमा अहिले पनि वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक अन्तर्विरोध चरम अवस्थामा छ । अर्थात् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल अवस्थामा छन् । यी समस्याको वास्तविक समाधान नयाँ जनवादी व्यवस्थाले मात्र गर्न सक्छ । त्यसका लागि हामीले गर्ने नयाँ जनवादी क्रान्तिको स्वरुप आवश्यक परेमा सशस्त्र पनि हुनेछ । क्रान्तिमा वलप्रयोग अनिवार्य हुन्छ । त्यसका लागि क्रान्तिका तीन जादुगरी हतियार क्रान्तिकारी पार्टी, क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणलाई हामीले गम्भीरतापूर्वक लिएका छौं । हामी संघर्षका सबैरुपको उपयोग गछौं । त्यसो गर्दा हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट पनि आवश्यक शिक्षा लिनेछौं ।

राष्ट्रिय स्वाधीनताको मुद्दा

राष्ट्रियता, जनतन्त्र र जनजीविका मुद्दाहरु मध्ये राष्ट्रियताको मुद्दालाई प्राथामिकता दिंदा जनताको ठूलो हिस्सालाई समेटेर अगाडि बढ्न सकिन्छ भन्ने सुझावमा हामी सकारात्मक छौं । राष्ट्रिय स्वाधीनताको मुद्दा मूलतः भारतीय हस्तक्षेपसँग जोडिएको छ । भारतीय शासक वर्गले नेपालको सीमा अतिक्रमण गर्ने, नेपालको जलसम्पदा तथा प्राकृतिक सम्पदामा एकछत्र राज गर्ने, सीमामा अन्तर्राष्ट्रिय कानुन विपरीत पक्की सडक तथा बाँध निर्माण गर्ने र नेपाली भू–भाग डुवानमा पार्ने, नेपालको प्रशासनिक तथा राजनीतिक क्षेत्रको माइक्रो लेवलमा समेत हस्तक्षेप गर्ने तथा नेपाल सरकारको भन्दा ठूलो बजेट नेपाल सरकारको समेत अनुमति नलिई संचालन गर्ने लगायतका नेपाली स्वाधीनतामाथि गम्भीर अघात पुग्ने कार्य गर्दै आएको छ ।

भारतको विस्तारवादी हस्तक्षेप चौतर्फी रुपमा नेपालमा हावी छ । चीनले नेपालको राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएको छ भने भारतले पटक–पटक हस्तक्षेप गर्दै आएको छ तर भारतीय जनता नेपालको राष्ट्रिय स्वाधीनताको सम्मान गर्छन् र परिवर्तनको आन्दोलनमा सहयोग पनि पु¥याउँदै आएका छन् । नेपालको राष्ट्रियताको रक्षाको हिसाबले हेर्दा चीनले यसको संरक्षकको भूमिका खेल्दै आएको छ । चीन र भारतका जनपक्षीय तथा प्रगतिशील शक्तिको साथ सहयोगबाट नै नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा सम्भव छ । त्यसमा नेपाली जनताको आन्दोलन नै निर्णायक रुपमा आवश्यक बन्न जान्छ ।

वामहरुको भ्रम

अहिले वाम गठबन्धन तथा संघीय व्यवस्थाका पक्षधर पार्टीहरुले आर्थिक समृद्धि र विकासको जनतामा भ्रम दिइरहेको छन् । नेपालको प्राकृतिक स्रोत साधन तथा मानवीय श्रम शक्ति विदेशीलाई सुम्पेर कसरी मुलुकको समृद्धि हुन सक्छ ? सप्तकोशी, गण्डकी, महाकाली, अप्पर कर्णाली, अरुण तेस्रो जस्ता जलविद्युत आयोजना विदेशीलाई बुझाएर नेपालको आर्थिक समृद्धि हुदैन । दैनिक १५ सयको संख्यामा नेपालको दक्ष तथा अदक्ष श्रमशक्ति विदेशिएको छ । झण्डै ७० लाख युवा रोजगारीको खोजीमा विदेशी भूमिमा आफ्नो श्रम बेचिरहेका छन् । त्यही श्रमबाट प्राप्त रेमिटेन्सबाट नेपालको अर्थतन्त्र धानिएको छ । खाडी मुलुक लगायतको विदेशी भूमिमा नेपाली श्रमिकहरुको अवस्था निकै दयनीय छ । त्यसप्रति सत्ता र शक्तिमा बसेका पार्टी तथा शासकहरु पूरै उदासिन छन् ।

नेपाल एक कृषि प्रधान मुलुक पनि हो । तर कृषकलाई राज्यले पर्याप्त सेवा सुविधा नदिंदा कृषि उत्पादन दिनदिनै ह्रासोन्मुख छ र दैनिक उपभोग्य कृषि वस्तुको आयात ह्वात्तै बढेर गएको छ । विदेशी अनुदान र सहयोगमा पनि भ्रष्टचार हुने गरेको छ । व्यापार घाटा खर्बौ खर्ब पुगेको छ । मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रको दिशामा अगाडि नबढाई आर्थिक समृद्धि जनता ढाँट्ने खेल मात्रै हो । स्वाधीन अर्थतन्त्रको विकासको लागि मुलुकमा राजनीतिक क्रान्ति पूरा हुनुपर्दछ । त्यो भनेको नयाँ जनवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्ति सम्पन्न नगरी नेपालको आर्थिक समृद्धि संभव छैन ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको क्षेत्रमा रहेका विकराल समस्याहरुको समाधानका लागि नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको छ । यस क्रान्तिलाई गन्तव्यसम्म पु¥याउनका लागि भारत लगायत दक्षिण एशियाका जनता जनपक्षीय तथा प्रगतिशील शक्ति, चीनको कम्युनिष्ट पार्टी लगायतको सहयोग र समर्थनको पनि आवश्यकता पर्दछ ।