म्यानमारलाई १३ रनमै अलराउट गर्दै नेपाल बन्यो समूह विजेता

म्यानमारलाई १३ रनमै अलराउट गर्दै नेपाल बन्यो समूह विजेता

काठमाडौं, २८ मंसिर । थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ ।

समूह ‘ए’ मा रहेको नेपाल समूह चरणका तीनवटै खेलमा जित हात पार्दै समूह विजेता बनेको हो । यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपालले बिहीबार म्यानमारलाई स्तब्ध पार्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यलाई मजबुद पारेको छ ।

नेपालले दिएको ३ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा म्यानमारले ११.३ ओभरमा सवै विकेट गुमाएर १३ रन मात्रै बनाउन सक्यो ।

म्यानमारका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका नारायण जोशी र मेखबहादुर थापाले समान ४–४ विकेट लिए । ३ ओभर बलिङ गरेका नारायणले २ ओभर मेडन राख्दै १ रन मात्रै खर्चिए । त्यस्तै, २ ओभर बलिङ गरेका मेखबहादुरले ३ रन खर्चिए ।

त्यसअघि कप्तान रित गौतमको शतकीय पारीको मदतले नेपालले ३५ ओभरमा ६ विकेट गुमाइ ३५० रन बनाएको थियो । रितसँगै नेपालका तृत राज दास र प्रतिश जिसीले अर्धशतकीय पारी खेलेका थिए ।

रितले ७८ बलमा अविजित १०६ रनको पारी खेल्दा १२ चौका प्रहार गरे । यस्तै, तृतराज दासले २९ बलमा ७ चौका र ३ छक्काको मदतमा ६४ रन जोडे भने प्रतिशले ३१ बलमा ६३ रन बनाए । सो क्रममा उनले १० चौका र १ छक्का प्रहार गरे ।

नेपालको स्कोर फराकिलो बनाउन अन्य ब्याट्सम्यानहरु विशाल बिक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास(सुबोध) ऐरले १७ रन जोडे । म्यानमारका हेइन हेट एङले ३ विकेट लिए ।

समूह ए मा लगातार तीन खेल जित्दै समूह विजेता बनेको नेपाल ६ अंक सहित समूह विजेता बनेको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले र दोस्रो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो ।