काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले निर्वाचनको उपयोगबाट पार्टी तथा मोर्चाको राम्रो जनाधार तयार भएको बताउनु भएको छ । वर्गदृष्टि साप्ताहिकसँग कुरा गर्दै अध्यक्ष गजुरेलले जनता भ्रममा परेकाले वाम गठबन्धनको पक्षमा निर्वाचन परिणाम देखिएको पनि उहाँले बताउनु भएको छ । उहाँले भन्नुभयो, “कथित वाम गठबन्धनको भ्रमको हुरीबतास जुन आयो त्यसले गर्दा सच्चा वाम र क्रान्तिकारीहरुको पक्षमा वातावरण देखिएन । सँगसँगै त्यो कथित बाम गठबन्धनको भ्रम भुमरीमा जनतालाई फँसाइएको हुनाले वाम र क्रान्तिकारीहरुको पक्षमा मतदान हुन सकेन, भ्रमको भुमरीका विचमा त्यो सम्भव पनि थिएन ।”
“क्रान्ति हावी भइदिएको भए वाम र क्रान्तिकारीहरुको पक्षमा परिणाम आउँथ्यो तर अहिले प्रतिक्रान्तिकारी, प्रतिक्रियावादी, अवसरवादी, दक्षिणपन्थीहरुको पक्षमा देखिएको मत परिणामले प्रतिक्रान्तिको अवस्था रहेको पुष्टि गर्दछ ।” अध्यक्ष गजुरेलले भन्नुभयो, “कथित वाम गठबन्धनले कांग्रेस, राप्रपालाई पनि माथ गर्ने गरी पैसा बाँडेर, भोज भतेर लगाएर गलत ढंगले जनतालाई प्रभावित बनाउने, बनाएको रिपोर्ट जनताबाटै आइरहेको छ ।”

अध्यक्ष गजुरेलले निर्वाचनका क्रममा पार्टी तथा मोर्चाको संगठनको पहुँच तल जनस्तरसम्म नपुगेको अवस्था पाइएको भन्दै अब संगठनलाई सुदृढ र विस्तार, निर्माण गर्नु पर्ने पहिलो आवश्यकता देखिएको बताउनु भयो । प्रतिक्रियावादी सत्ताबाट हुने जनविरोधी, राष्ट्र विरोधी काम, हर्कतका विरुद्ध जनतालाई सचेत बनाउने, संगठित गर्ने र सघर्ष, आन्दोलन एवं प्रतिरोधको तयारी लाग्नु पर्ने देखिएको पनि अध्यक्ष गजुरेलको विश्लेषण छ ।

उहाँले निर्वाचन सम्पन्न भए पछि प्रतिक्रियावादी, सत्ताधारीहरुले आफ्नो संसदीय व्यवस्थालाई सुदृढ गर्ने प्राविधिक कोणबाट एउटा मौका प्राप्त भएपनि देशमा जारी संक्रमणकाल अन्त्य नभएको बताउनु भयो । राजनैतिक समस्या हल नभइकन र जनताको राज्य व्यवस्था सुदृढ नभएसम्म संक्रमणकालको अन्त्य नहुने पनि उहाँको दावी छ ।

वर्गदृष्टिसँग गरिएको कुराकानीमा उहाँले देजमोका उम्मेदवारहरुलाई आफ्नो अमूल्य मतदान गर्नु हुने सम्पूर्ण आमजनसमुदायमा मोर्चाका तर्फबाट हार्दिक आभार एवं धन्यवाद दिनुभएको छ । र, देजको उम्मेदवारहरुलाई क्रान्ति र आन्दोलनका सशक्त सारथी भन्दै उहाँहरुप्रति लालसलाम तथा अभिवादन गर्नुभएको छ । उहाँले भन्नुभयो, “चौतर्फी घेराबन्दी, प्रतिकूलताकै बीचमा पनि आन्दोलन, क्रान्तिको आवश्यकता र पार्टी, मोर्चाको कासनलाई चुनावको क्रान्तिकारी उपयोगको मोर्चामा डटेर लाग्नु भएका सम्पूर्ण उम्मेदवारहरुलाई सलाम, अभिवादन छ । उहाँहरुको पूर्ण सक्रियताले नै प्रतिक्रियावादी राज्यसत्ताको भण्डाफोर जनतामा ब्यापक भएको छ । यसले संगठन निर्माणको लागि अत्यन्त राम्रो जनाआधार तयार भएको छ । क्रान्तिको तयारीमा निर्वाचन उपयोगले विशिष्ट योगदान पु¥याएको छ ।”

उहाँले मोर्चाका तर्फबाट घोषणापत्र मार्फत सार्वजनिक भएका प्रतिबद्धताहरुप्रति इमान्दार र प्रतिबद्ध रहेको, रहीरहने प्रतिवद्धता जाहेर समेत गर्नुभयो र भन्नुभयो, “हिजो आम जनतासँगै थियौं, आज छौं र भोलि पनि जनताकै बीचमा रही अग्रगामी परिवर्तनको लागि संगठित भएर निरन्तर संघर्ष, आन्दोलनमा साथ रहन, दिन जनसमुदायमा आव्हान पनि गर्न चाहान्छु ।”

प्रतिक्रिया

सम्बन्धित खवर