
काठमाडौं, २० मंसिर । च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा बार्यन म्युनिखले पीएसजीलाई ३–१ ले हराएको छ । कोरेन्टिन टोलिसोको दुई गोलको मद्दतमा बार्यन म्युनिखनले पेरिस सेन्ट जर्मेनमाथि शानदार जित हात पारेको हो । तर, हेड टु हेडका आधारमा फ्रेन्च क्लब समूह विजेता बन्न सफल भएको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले आठौं मिनेटमा नै रोबर्ट लेभान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा टोलिसोले गोल गरेपछि पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।




५० औं मिनेटमा एमबापेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे । तर, ६९ औं मिनेटमा टोलिसोले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यन म्युनिखलाई ३–१ को जित दिलाएका छन् ।
समूह बीमा रहेका दुबै टिमको समान १५–१५ अंक भएको छ । तर, हेड टु हेडले पीएसजीलाई समूह बिजेता बनाएको छ भने बार्यन उपविजेता बनेको छ ।
बार्यनका प्रशिक्षक जेप हेनरिक्सले आफ्नो टिमको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् ।