(नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल निर्वाचनको क्रान्तिकारी उपयोगको कार्यनीति कार्यान्वयनको चरणमा छ । प्रतिक्रियावादी र दक्षिणपन्थी अवसरवादी तत्वहरुको भण्डाफोर गर्दै नयाँ जनवादी क्रान्तिको पक्षमा जनमत निर्माण गर्ने, त्यो जनमतलाई संगठित गर्ने र क्रान्तिको आधार तयार पार्ने उद्देश्यसहित देशैभर आफ्नो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएको छ । वाम र लोकतान्त्रिक धारमा विभाजित नेपाली राजनीतिमा देशभक्त जनगणतान्त्रिक धार अर्थात् राजनीतिक रुपले तेस्रोधारको नेतृत्व गर्दै वैकल्पिक (क्रान्तिकारी) राजनीतिक शक्तिको रुपमा उदयीमान क्रान्तिकारी माओवादी तथा देजमोको तर्फबाट केन्द्रीय सदस्यदेखि सचिवालय सदस्यसम्मले यस निर्वाचनमा उम्मेदवारी दिनुभएको छ । पार्टीका पूर्व केन्द्रीय सचिवालय सदस्य तथा मोर्चाका कार्यालय सदस्य केशरबहादुर गुरुङसँग कुराकानीका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको हो ।)
‘जनतामा प्रतिक्रियावादी र अवसरवादीहरुले पारेको भ्रमलाई चिरफार गर्दै जनतालाई क्रान्तिकारी आन्दोलनमा गोलबन्द गर्नु आजको मुख्य चुनौती हो । यो निर्वाचनले जनताको घर घरमा पुगेर उनीहरुको गुनासो सुनेर र सुझाव लिएर जनताको परिवर्तन र क्रान्तिको पक्षमा सचेत र जागरुक बनाउने अवसर मिलेको छ ।’
हाम्रो उम्मेदवारी चुनावी प्रतिस्पर्धाका लागि भन्दापनि शोषित, उत्पीडित वर्ग र जनसमुदायको पक्षमा र प्रतिक्रियावादी र दक्षिणपन्थी अवसरवादीका विरुद्धमा हो । जहाँसम्म चुनौती र सम्भावनाको प्रश्न छ । जनतामा प्रतिक्रियावादी र अवसरवादीहरुले पारेको भ्रमलाई चिरफार गर्दै जनतालाई क्रान्तिकारी आन्दोलनमा गोलबन्द गर्नु आजको मुख्य चुनौती हो । यो निर्वाचनले जनताको घर घरमा पुगेर उनीहरुको गुनासो सुनेर र सुझाव लिएर जनताको परिवर्तन र क्रान्तिको पक्षमा सचेत र जागरुक बनाउने अवसर मिलेको छ ।
निर्वाचन कार्यक्रमको क्रममा २०७४ कात्र्तिक २५ गतेदेखि लगातार जनताको माझमा जाने काम भइरहेको छ । त्यस क्रममा दर्जनौं कोणसभा र हजारौं जनताको घर आगनमा पुगेर जनभेटघाट गर्ने काम भए र भइरहेको छन् । त्यसले हाम्रो पार्टी र मोर्चाको जनतासँगको सम्बन्धलाई जीवन्त बनाएको छ । यो कार्यक्रमलाई अझ घनिभूत गराउदै लाने क्रममा तीनजना उम्मेदवारको नेतृत्वमा ३ टोली र अन्य गाउँमा बनेका प्रचार टोली व्यवस्थित रुपमा परिचालन गरि अझ प्रभावशाली बनाउदै लाने योजना छ ।
‘जनताको न्यूनतम समस्या समाधानका लागि पनि शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा राज्यको दायित्व र जनताको अधिकारको रुपमा सुनिश्चित हुनु पर्छ । अहिलेको चुनावी व्यवस्थाबाट जनताप्रति उत्तरदायी बन्दैन भन्ने कुरालाई पनि काफी हदसम्म जनता समक्ष प्रस्तुत गरेका छौं ।’
हाम्रो पार्टी र मोर्चाका बारेमा जनताले निकै चासो लिएका छन् । किन कि हामीले जनतालाई यो कुरा प्रस्ट गरेका छौं कि चुनावको बेला प्रतिक्रियावादी र अवसरवादी दल र त्यसका नेता तथा कार्यकर्ताहरुले दिने झुट्टा र गुलिया आश्वासनले जनताको आधारभूत आवश्यकता पुरा भएन र हुँदैन । जनताको न्यूनतम समस्या समाधानका लागि पनि शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा राज्यको दायित्व र जनताको अधिकारको रुपमा सुनिश्चित हुनु पर्छ । अहिलेको चुनावी व्यवस्थाबाट जनताप्रति उत्तरदायी बन्दैन भन्ने कुरालाई पनि काफी हदसम्म जनता समक्ष प्रस्तुत गरेका छौं । तसर्थ, जनताले हाम्रो पार्टी र मोर्चालाई चासोका साथ हेरेका छन् र आशा लिएका छन् ।