काठमाडौं, १३ मंसिर । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिक चुम्लिङटारमा यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २१ पुगेको छ । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौँ र अन्यलाई भरतपुर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार अर्घाखाँचीको लागि छुटेको लु २ ख २९१ नंको उक्त बस काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।
बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले उद्धार जारी छ । बस सडकबाट एक सय मि तल नदीमा पुगेको छ । दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौं तर्फ पर्छ । सो बस काठमाडौँबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ ।
सो बसले बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर गएको थियो । त्रिशूलीमा खसेको बसको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।