बम विस्फोटमा परी उदयपुरमा कांगे्रस उम्मेदवार कार्कीसहित ४ जना गम्भीर घाइते

बम विस्फोटमा परी उदयपुरमा कांगे्रस उम्मेदवार कार्कीसहित ४ जना गम्भीर घाइते

काठमाडौं, १३ मंसिर । उदयपुरमा बुधबार बम विस्फोट हुँदा उम्मेदवारसहित चार घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठका अनुसार उदयपुरको प्रतिनधिसभा निर्वाचन क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित बुधबार विस्फोटनमा परी ४ जना गम्भीर घाइते भएका छन् ।

प्रजिअ श्रेष्ठका अनुसार उदयपुरगढी गाउँपालिका–६ मा पर्ने दनुवारवेसीमा भएको आक्रमणमा परी उम्मेदवार नारायणबहादुर कार्की, कांग्रेस कार्यकर्ता मीरा कटुवाल, धनमाया धौलाकोटी र उम्मेदवारका गाडी चालक राजन कार्की गम्भीर घाइते भएका छन् ।

‘एम्बुस थापी आक्रमण भएको जानकारी आएको छ,’ प्रजिअ श्रेष्ठले भने, ‘चारै जना गम्भीर घाइते भएकाले उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर मगाइएको छ ।’ जिल्लाको सुरक्षा समितिको बैठकसमेत बस्दै छ । जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी प्रजिअ श्रेष्ठले जानकारी दिए ।

स्थानीयवासीका अनुसार गाडी पूर्णरुपमा क्षति भएको छ । प्रहरीले अनुसन्धान थालेको प्रजिअ श्रेष्ठले जनाएका छन् । चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही खुलेको छैन । प्रहरीले भने यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।