बर्दियामा यसरी बन्दैछ “मुठ्ठी” चिन्हको पक्षमा चुनावी माहौल

बर्दियामा यसरी बन्दैछ “मुठ्ठी” चिन्हको पक्षमा चुनावी माहौल

आयुष न्यौपाने/बर्दिया
निर्वाचनको क्रान्तिकारी उपयोगको नीति अनुसार चुनावी मैदानमा उत्रिएको नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बर्दियाले आक्रामक रुपमा चुनावी प्रचार प्रसारका साथै संसदीय व्यवस्थाका विरूद्धमा जिल्लाभर व्यापक भण्डाफोरका कार्यक्रमहरु गर्दै आफ्नो चुनाव चिन्ह “मुठ्ठी”को पक्षमा चुनावी माहौल बनाएको छ ।

देजमो बर्दियाका अनुसार क्षेत्र नम्बर एकमा पहिलो चरणमा चुनावी पोष्टर पम्प्लेट र प्रतिबद्धता टास्ने काम र दोश्रो चरणमा संसदीय व्यवस्थाको व्यापक भण्डाफोर र ठाउँ ठाउँमा कोणसभाहरु सम्पन्न भएका छन् ।

देजमोबाट बर्दिया क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्यका उम्मेदवार लोकराज जैसीले राज्य श्रोतको चरम लुट गरेर गाडीहरूका लावा लस्कर, खोक्रो तामझाम देखाउने संसदीय पार्टीहरूको वास्तविकता जनतामाझ छर्लङ्ग भएको र जनतालाई संसदीय व्यवस्था झुट र भ्रमको खाडल जस्तो लागेको तर्क गरेका गर्छन् । उनी भन्छन्, “संसदीय व्यवस्था दलाल, भ्रष्टहरू र मुठ्ठीभरका सामन्तहरूको भकारी जस्तो भएकाले जनताहरूले यो निर्वाचनको विधि मार्फत मुठ्ठी चिन्हमा मतदान गरेरे अवश्य भत्काउने छन् ।”

बर्दियाको सदरमुकाम गुलरियाका साथै मुख्य बजार बाँसगढी, बैदी, जयनगर, धधवार, बढैयाताल, मैनापोखर, भोलागौडी, सितलाबजार, गणेशपुर, खैरापुर लगायतका स्थानमा देजमोका उम्मेदवारको फोटो सहितका पर्चा पम्प्लेटहरू ठाउँ ठाउँमा टासिएका छन् । देजमोका नेता कार्यकर्ताहरु गाउँ गाउँमा पुगेर जनयुद्धका सहिद, बेपत्ता परिवार, अपाङ्ग र गरीव गाउँहरूमा पुगेर दशवर्षे महान जनयुद्ध र महाद बलिदानको सम्मानका लागि पनि मुठ्ठी चिन्हमा मतदान गर्नु पर्ने तर्क गर्र्दै आएका छन् । क्रान्तिकारी माओवादी र देजमोले मात्रै दशवर्षे जनयुद्धका एजेण्डाहरु बोकेर हिडिरहेको र नयाँ जनवादी क्रान्तिको तयारी गरिरहेको दावी गरेका छन् ।

यसैबीच, मंगलबार देजमोले ठाउँ ठाउँमा भण्डाफोर कोण सभाहरू समेत सम्पन्न गरेको छ । ती कोणसभाहरुलाई क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य भुपेन्द्र न्यौपाने, सेक्रेटरी दुर्गा खत्री, जिल्ला नेताहरू रामलौटन थारू, लोकेन्द्र आचार्य र उम्मेदवार जैसीले सम्बोधन गरेका थिए । ती कोणसभाहरुको सञ्चालन क्रान्तिकारी युवा लिंगका केन्द्रीय सचिवालय सदस्य दिल बहादुर कठायत ‘भुकम्प’ले गरेका थिए ।