टोपी लाउने राजाहरु फाल्न बाँकी छ : गजुरेल

टोपी लाउने राजाहरु फाल्न बाँकी छ : गजुरेल

बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले श्रीपेच लगाउने राजा हटेपनि टोपी लगाउने राजा फाल्न बाँकी रहेको बताउनु भएको छ । उहाँले अहिले राजा हटाएर गणतन्त्र आएकाले सबै अधिकार आयो भनेर प्रचार गर्ने गरिएको भन्दै यो सत्य नभएको बताउनु भयो । उहाँले माओवादीका केहि नेताहरुलाई गणतन्त्र आएको भएपनि अहिले लोकतन्त्रको आवरणमा टोपी लगाउने राजा स्थापित भएको बताउनु भयो ।

क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले वर्तमान संविधानबाट जनताको मुक्ति नहुने दावी गर्नुभयो । उहाँले अहिले लोकतान्त्रिक र वाम गठबन्धनका नाममा मूलूकमा दुई दलीय तानाशाह निम्त्याउने खेल भइरहेको भन्दै यसले राजनितिलाई झन संकटमा पारेको बताउनु भयो । नेता गजुरेलले भन्नुभयो, ‘गठबन्धनका नाममा दुई दलीय तानाशाह ल्याउन खोजिएको छ, यसको भण्डाफोरमा हाम्रो पार्टी लागेको छ ।’ उहाँले काँग्रेस, एमाले र माओवादीले ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरेर बहुदलीय र लोकतान्त्रिक मान्यतालाई नै समाप्त पार्न खोजिएको बताउनु भयो । उहाँले आफ्नो पार्टीले मोर्चा मार्फत चुनावलाई उपयोग गरेको बताउँदै बर्तमान संविधानको खारेजी र संसदीय व्यवस्थाकै विरोधका लागि चुनावमा भाग लिएको उहाँको तर्क छ । पत्रकार सम्मेलन क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष टेक मास्की रानाको अध्यक्षता तथा सचिव मानबहादुर कुंवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस्तैं आइतबारै अध्यक्ष गजुरेलले रुपन्देहीको क्षेत्र नं १ धकधई र कपिलबस्तुको चार नम्बरमा भएको सभालाई सम्बोधन गर्नुभएको छ । दुबै ठाउँंमा भएको सभामा बोल्दैं गजुरेलले मुलुकमा दुई दलीय तानाशाह लाद् खोजिएको दावी आरोप लगाउनु भएको छ । यसैबीच, देजमो रुपन्देहीले आइतबार चुनाबी प्रचार अभियान अन्तर्गत क्षेत्र नं २ का सैनामैनाको बनकट्टा,रानिबगिया,मुर्गिया लगायतका ठाउंमा घरदैलो गरेको छ । र, ठाउँ ठाउँमा कोणसभा गरिएको छ ।