निर्वाचन सम्पन्न, ६५ प्रतिशत मात्र मतदान

निर्वाचन सम्पन्न, ६५ प्रतिशत मात्र मतदान

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६५ प्रतिशत मत खसेको जनाएको छ । मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयोगले जनाएको छ भने प्राकृतिक कारणले स्थानीय तहको भन्दा कम मत खसेको हुनसक्ने आयोगको अनुमान छ ।

निर्वाचन आयोगले मतपत्रले भरिएका अधिकांश स्थानका मतपेटिका आइतबार नै जिल्ला सदरमुकाम ल्याइने बताएको छ । उच्च हिमाली र बिकट क्षेत्रका मतपेटिका सोमबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइने छ ।

पहिलो चरणमा निर्धारण गरिएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुई मतदान केन्द्रको मतदान सरेको छ । रूकुमको बाफीकोटको काडास्थित रत्न माविको ‘क’ केन्द्र र रूकुमकै आठवीसकोट ११ गत्तसैनास्थित नेपाल राष्ट्रिय माविको ‘ख’ केन्द्रको मतदान पुनः हुनेछ । रत्न मावि केन्द्रमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको र नेपाल राष्ट्रिय माविको केन्द्रमा समानुपातिकतर्फको मतदान पुनः हुने भएको हो ।
६ वटा प्रदेशका ३२ जिल्लाका ३७ प्रतिनिधि सभासदस्य र ७४ प्रदेशसभा गरी यो निर्वाचनबाट १११ जना जनप्रतिनिधि चुनिनेछन् । पहिलो चरणको यो निर्वाचनमा जम्मा ७०२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । आयोगले मतगणना भने दोस्रो चरणमा मंसिर २१ को निर्वाचन पछि मात्रै हुने जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाता मताधिकारका लागि नाम लेखाएका थिए । यस निर्वाचनका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमार्फत मतदान गर्ने व्यवस्था निर्वाचन आयोगले मिलाएको थियो ।