झर्रोटर्रो : … त्यो त इतिहास भयो

झर्रोटर्रो : … त्यो त इतिहास भयो

यसपालाको चुनाउलाई मध्यनजर गरेर बनेको खाम र हाम गठबन्धन, पार्टी एकता, आगामि सरकार, पार्टी नेतृत्व, कार्यदिशा आदिका सन्दर्भमा चुनावी मैदानमै गएर भर्रोटर्रोका विशेष प्रतिनिधि कैलुब्राहले माकेका प्रमुख मिस्टर सुप्रिमोसँग गरेको विशेष कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।

कैलु : यहाँलाई झर्रोटर्रोमा विशेष स्वागत छ । तपाइँको दल र सूर्यछाप दलका बिचमा एकाएक पार्टी एकता गर्ने गरि गठबन्धन गर्न कसरी तयार हुनुभयो ?

सुप्रिमो : धन्यवाद । मने यो वर्तमानको आवश्यकता हो । यो एकाएक भएको होइन । यसका लागि हामीले चुनवाङको कार्यदिशाबाटै बाटो सोभ्mयाएका थियौँ । जनयुद्ध समाप्त पार्नु, जनसत्ता भत्काउनु, लालसेना विघटन गर्नु, पार्टी छिन्नभिन्न पार्ने योजना यही गठबन्धनका लागि थियो । जनयुद्ध नछोडेको भए यो सम्भव थिएन । जनयुद्धकै बेला मेरो योजना त यसलाई दस वर्ष भन्दा अगाडि लैजानु हुँदैन भन्ने थियो । आर्को कुरा यतिखेर सूर्यछापसँग हामीले गठबन्धन नगरेको भए मेरो चुनाव क्षेत्र नै धरापमा परिसकेको थियो । हामी हार्दै गएका थियौँ । सत्तरीको चुनाउमा हामी तेस्रोमा झ¥यौँ । स्थानीयमा पनि तेस्रो त भयौँ तर असाध्य कमजोर अवस्था भयो । चारतारेसँग मिल्दा हामीलाई खासै फाइदा भएन । विगतका चुनाउमा चाणक्यवाद र सुप्रिमोपथले काम गरेको थियो यतिखेर त त्यो पनि काम लाग्ने स्थिति रहेन । सुप्रिमो तत्कालको परिस्थिति हेरेर निकै चुनौति मोलेर निर्णय गर्ने नेता हो । आफ्नो स्वार्थ पूरा हुने भएपछि सुप्रिमोले जता पनि जान र जे पनि गर्न तयार हुन्च ।

कैलु :  तपाइँलाई धोकेवाज नेता भन्छन् नि । पैला आफ्नै गुरुलाई धोका दिनुभयो र उहाँ बाहिरिनुभयो, अहिले प्रम डेउडापतिलाई धोका दिनुभयो, अघिल्लो पटक उखानप्रसादलाई पनि धोका दिनु भएको थियो । के भन्नुहुन्छ ?

सुप्रिमो :  धोकाधडी, छलछाम, तिगडम, ग्रेट छलाङ, खुराफात, इधरका उधर उधरका इधर यहि त हो सिर्जनात्मक माक्र्सवाद । यो हो सुप्रिमोपथको करामत । गुरुको सिद्धान्तमा लागेको भए यो गठबन्धन र एकता सम्भव नै थिएन । आर्को कुरा प्रमलाई मैले भनेरै यता आएको हो । प्रम ज्यू तपाइँसँग मिलेर चुनाउमा जाँदा मेरो चुनाउ धरापमा पर्ने देखियो, मेरो दल पत्तासाफ हुने भयो, अब म सूर्यछापसँग मिल्चु तपाइँले अप्ठ्यारो नमान्नु होला । अलिअलि भएपनि चुनाउ खर्चपर्च आउने भएकाले सरकार पनि हामी छोड्दैनौँ, तपाइँसँग मेरो जात, धर्म रङरोगन पनि मिलेन भनेर मैले भनेकै हुँ । कसरी भयो धोका ? मेरो दर्शन भनेको अनुकूलता हेरेर छलाङ मार्ने हो ।

कैलु : तपाइँको दल जनयुद्ध लडेर आएको, सूर्यछाप दल जनयुद्धलाई आतङककारी भनेर दमन गर्न सङ्कटकाल लाउन समर्थन गरेको, कसरी एकता हुन्छ ?

सुप्रिमो : मने जनयुद्ध सनयुद्ध अब इतिहास भइसक्यो । इतिहास कोट्याएर बस्नु भनेको जडशूत्रवाद हुन्च । हामी अब नयाँ भयौँ । सानो दल बनाएर, ढुकुरे छाती बनाएर बस्ने मेरो बानी नै छैन ।

कैलु : के तपाइँले जबज मान्नु भएको हो त ?

सुप्रिमो : हो । अब जबज नमानेपछि एकता हुन्च त ? मैले छाती चौडा बनाएर बरू आफ्नो नीति त्याग्छु अरूको मान्चु भनेरै त एकता र गठबन्धन सम्भव भएको हो । जहाँसम्म जनयुद्धको कुरा छ, जनयुद्धले गणतन्त्र ल्यायो, मलाई दुईपटक प्रम बनायो, गोर्खाली डाक्टरसावलाई पनि प्रम बनायो, सूर्यछापका तीनजना नेतालाई प्रम बनायो, हाम्रा थुप्रै साथीहरू मन्त्री, सांसद भए । यो भन्दा ठूलो उपलब्धी अरू के हुन्च । अब त्यो यतिहास भइसक्यो । त्यता फर्केर अगाडि बढ्न सकिँदैन ।

कैलु : एकतापछि पार्टी अध्यक्ष को हुन्छ त ? तपाइँ की उखानप्रसाद ?

सुप्रिमो : मने यो त प्रस्टै छ । हामीले गठबन्धन र एकताको तयारी गर्न बसेको कोर कमिटीमा भएको समभ्mदारी भनेको प्रम र अध्यक्ष आलोपाले गर्ने हो । पैला उखानप्रसादजी प्रम र म अध्यक्ष हुन्चौँ, पछि साटफेर हुन्च । मेरो चालिसे गुटतिर यसले समस्या पार्दैन । उहाँको साठीभागेतिर अलिकता समस्या माकुनेजीले पार्न सक्नु हुन्च भन्ने मलाई लाग्च, त्यसको समाधान उहाँलाई राष्ट्रपतिमा लगेर थन्क्याउने कुरा छ । त्यसो भएपछि नरहे बाँस न बजे बाँसुरी ।

कैलु : तपाइँले एकठाउँको भाषणमा अबको दस वर्षमा साम्यवाद आउँछ भन्नुभाथ्यो, के त्यो सम्भव छ ? एउटै देशमा साम्यवाद आउने हो र ?

सुप्रिमो : हो मैले भनेकै हो । जनयुद्ध छोडेर आएको दस वर्षमा जनवाद आइसक्यो । सूर्यछाप र हामी एउटै पार्टी भएपछि र हामपन्थी गठबन्धनको सरकार आउनु भनेको समाजवाद हो । त्यसपछि त साम्यवादको पालो भइहाल्यो नि । समाजवाद पछि आउने साम्यवादै त हो । जहाँसम्म एउटै देशको कुरा छ, त्यो माक्र्सले संसारभरी साम्यवाद ल्याउने कुरा गर्नुभाथ्यो । त्यो इतिहास भइसक्यो । अहिलेको विकास, विज्ञानप्रविधिको युगमा संसारभरी साम्यवादको कल्पना हैन एउटै देशमा, अझ एउटै पार्टी र त्यसको पनि निश्चित नेताहरूको घरघरमा पनि साम्यवाद ल्याउन सकिन्च । यो हो सिर्जनात्मक माक्र्सवाद, विकसित माक्र्सवाद । मैले त्यो देखिसकेको छु ।

कैलु : तपाइँले अबको हाम सरकार बीस वर्षसम्म चल्छ र समृद्ध नेपाल बनाइन्छ भन्नु भयो त्यो कसरी होला ?

सुप्रिमो : हामी पहिलो पुस्ताका नेताको आयु नै अब बीस वर्ष भन्दा बढि छैन । बीस वर्षसम्म हामीले नै सत्ता चलाउने हो । जहाँसम्म समृद्ध नेपालको कुरा छ, त्यो कसरी भने बीस वर्षसम्म त हामीले युवाजति सबैलाई बैदेशिक रोजगारमा पठाइसकेका हुन्चौँ, बुढाखाडा पनि मरिसकेका हुन्चन् । नेपाली मनुखे नै हुँदैनन् । यहाँ बहुराष्ट्रिय कम्पनीका उद्योगहरु हुन््चन् । प्राकृतिक श्रोत साधन उपभोग गर्न विदेशीहरु आउँचन् । नदीनाला, पाहाड पर्वत, ढुङ्गा, गिट्टी बालुवा, बनजङ्गल सबैका सबै बेचेर हामीले देशलाई आर्थिक रुपले उन्नत बनाउँचम् । नेपाली विदेश बस्ने र विदेशी नेपाल बस्ने भयो भने त यो मुलुक नै विकशित मुलुक बन्च । अनि भएन त समृद्ध नेपाल ।
२ मङ्सिर २०७४

kailubraha73@gmail.com