३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाततर्फ ७४ सिटमा आज मतदान

चुनावी प्रतिस्पर्धामा ७०२ जना उम्मेदवार, मतदाताको संख्या ३१ लाख ९१ हजार ९४५

प्रकाशित मिति : २०७४ मंसिर १०

काठमाडौ। प्रदेश सभा तथा प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन अन्तर्गत मंसिर १० अर्थात् आज (आइतबार) ३२ जिल्लामा हुँदैछ । प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन विहान ७ बजेबाट मतदान हुने गरी तयारी गरेको निर्वाचन आयोगले जनाएको छ ।
अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई निर्देशन दिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदातासँग मताधिकार रहेको छ । निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था गरिएको छ ।
पहिलो चरणको निर्वाचनमा संसदीय व्यवस्थाको, सत्ता र संविधानको विरोध तथा भण्डाफोर गर्दै आएको नेकपा (क्रान्तिकारी माओवादी)को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले पनि निर्वाचनको क्रान्तिकारी उपायोग गर्ने नीति अनुसार प्रतिनिधिसभातर्फ १४ जना र प्रदेशसभातर्फ १९ जनालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

मतदाताले मतदान गर्दा ख्याल गर्नुपर्ने कुरा

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नहरूमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ । समानुपातिकतर्फ मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागमा मतपत्र–१ रहेको छ र त्यो मतपत्र प्रतिनिधिसभा सदस्यका लागि भएको हुँदा त्यसमा रहेका दलहरूका निर्वाचन चिह्नमध्ये मतदाताले कुनै एक राजनीतिक दलको चिह्नमा मत संकेत गर्नुपर्ने छ ।
यसैगरी, त्यही मतपत्रको तल्लो भागमा रहेको मतपत्र–२ प्रदेशसभाका लागि भएको र त्यसमा रहेका चिह्नहरूमध्ये आफूलाई मनपरेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्नेछ ।