नुवाकोट–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार नेतृ मुड्भरी अस्वस्थ

गंगालाल अस्पतालमा उपचार जारी, आफ्नो भोट आफैलाई हाल्न असमर्थ

प्रकाशित मिति : २०७४ मंसिर १०

काठमाडौं । चुनावी प्रचार प्रसारमा व्यस्त रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि नेकपा (क्रान्तिकारी माओवादी) को देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट नुवाकोट–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएकी क्रान्तिकारी महिला नेतृ लक्ष्मी मुड्भरी उपचारका लागि अस्पताल भर्ना हुनुभएको छ ।

प्राप्त जानकारी अनुसार चुनावी क्षेत्रमा मतदातासँग भोट माग्दै गरेको अवस्थामा शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि नेतृ मुड्भरी तत्कालै गंगालाल हृदयरोग केन्द्र बासबारीमा इमर्जेन्सी भर्ना भइ उपचार गराइरहनु भएको छ । चेकजाँच भइरहेको भए पनि रोगको पहिचान नभइसकेको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ ।
यसैबीच, स्वास्थ्य समस्या उत्पन्न भएपछि नेतृ मुडभरीले आफ्नो मताधिकारको प्रयोग आफ्नै उम्मेदवारीको लागि समेत प्रयोग गर्न पाउनु भएन । नुवाकोट जिल्लाकी चर्चित महिला उम्मेदवार मुड्भरी आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय उम्मेदवार हुनुहुन्छ ।

कांग्रेसका अर्जुन नरसिंह केसीसँग चुनावी मैदानमा उत्रिनु भएकी नेतृ मुड्भरीले करिब १ महिनादेखि निरन्तर मतदाताको घरघरमा गएर आफ्नो निर्वाचन चिन्ह “मुठ्ठी” र पार्टी तथा मोर्चाका विचारहरुलाई प्रभावकारी रुपमा स्थापित गर्दै आफ्नो पक्षमा चुनावी माहौल बनाइरहुन भएको थियो । संसदीय व्यवस्था र अनैतिक तथा जनविरोधी राजनीतिको विकल्पमा आफूले उम्मेदवारी दिंदै आएकी नेतृ मुडभरी सिंगो माओवादी आन्दोलनकै एक जुझारु क्रान्तिकारी महिला नेतृ हुनुुहुन्छ । उहाँ नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय सदस्य र अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।