खोटाङ, ८ मंसिर । खोटाङ जिल्लाको बिकास र समृद्घिको मुख्य ढोका मानिएको जयरामघाटस्थित दुधकोसी नदीको पक्की पुल सञ्चालनमा आएको छ । निर्माण सुरु गरिएको ८ वर्षपछि करिब ११ करोडको लागतमा सम्पन्न भएको मोटर गुड्ने पक्की पुल शुक्रबारबाट सञ्चालनमा आएको हो ।

ओखलढुंगाको सिमानामा पर्ने दुधकोसीस्थित करिब १ सय ५० मिटर लामो मोटरेवल पुल जिल्लाबासीको लामो पर्खाई, सरोकारवालाको निरन्तरको खबरदारी र दबावपछि निर्माण सम्पन्नपछि सञ्चालनमा आएको हो । आरसीसी ससपेन्सन मोटरेबल पुल हर्कपुर सडक डिभिजन प्रमुख इश्वरबहादुर रिजालले डिभिजनकै गाडी पार गराएपछि सर्वसाधारणका लागि खुला गरिएको थियो । म्याद नाघेको ५ बर्षपछि भएपनि मोटरेबल पुल सञ्चालन हुँदा खोटाङ स्थायी रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
नवनिर्मित पुल खुला गरिएसँगै अहिले राजधानी, पुर्वी तराई जाने र जिल्ला भित्रिने सवारीसाधन सिधै वारपार गर्ने बाटो खुलेको छ । दुधकोसीको ससपेन्सन ब्रिजलाई नेपालकै नमुनाको रुपमा लिईएको कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताए ।

यस्तै, तराईबाट जिल्ला भित्रिने उपभोग्य सामान दुधकोसीमा भरियामार्फत झार्नु, नदी तार्नु र पुनः गाडीमा चढाइरहनुपर्ने बाध्यता हटेको यातायात व्यवसायीको भनाई छ । पुल सञ्चालनमा आएपछि जिल्लाबासीले बर्षौंदेखि खेप्दै आएको सस्तीमा कमी आउने जिल्लाबासीको भनाई छ । कालिका कन्ट्रक्सन र हुलास कम्पनीले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । तर ठेकेदार कम्पनिले विभिन्न बहाना बनाउदै पुल निर्माणमा ढिलाइ गरेका थिए ।

२०६४ सालदेखि यातायात सञ्चालन भएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको थियो । जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाखभन्दा बढी राज्यकोषको रकम समेत खर्च हुँदै आएको थियो ।

प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचनलाई केन्द्रीत गर्दै सञ्चालनमा ल्याईएको पुललाई अनौपचारिक रुपमै सञ्चाालनमा ल्याईएको हो । जिल्लाको समग्र बिकासमा बाधक बनेको दुधकोसीस्थित यो पुलको औपचाकिर उद्घाटन भने पछि गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर