विप्लवका युवा नेता ‘रघुवीर’ वैद्य माओवादीमा प्रवेश

प्रकाशित मिति : २०७४ मंसिर ८

चितवन । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी पार्टीका चितवन जिल्ला सदस्य तथा राष्ट्रिय युवा जनस्वयम्सेवकका केन्द्रीय समितिका सचिवालय सदस्य सुरश शर्मा‘रघुवीर’ मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् ।

विप्लव पार्टीका युवा नेता रघुवीरले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै नेपालमा नयाँ जनवादी राज्यव्यवस्था स्थापित गर्नका निम्ति नेकपा (क्रान्तिकारी माओवादी)ले अगाडि सारेका नीति तथा कार्यक्रमप्रति सहमत हुँदै नयाँ जनवादी क्रान्तिको अभियानलाई सफल पार्न सच्चा कम्युनिष्टहरुबीचको एकता र ध्रुवीकरणको आवश्यकतालाई आत्मसात गर्दै क्रान्तिकारी माओवादीको झण्डामुनि गोलबद्ध भएको बताएका छन् ।
शुक्रबार जारी गरेको वक्तव्यमा उनले सबै सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को झण्डामुनि गोलबद्ध हुन आव्हान गर्दै भनेका छन्, “देश आज गम्भीर संकटबाट गुज्रीरहेको छ । राष्ट्रियता, जनजीवीकाका समस्या विकराल बन्दै गइरहेको छ । संसदीय दलहरु निर्वाचन जित्ने, आफ्नो स्वार्थको सत्ता कसरी टिकाउने भन्ने ध्याउन्नमा मात्र छन् । परम्परावादी र पुनरुत्थानवादी दलहरु जनताको हक अधिकारहरुलाई कुण्ठित पार्दै प्रतिक्रियावादी संसदीय व्यवस्थालाई अझ बलियो बनाउन तर्फ लागिरहेका छन् ।
वामपन्थी गठबन्धनको नाममा महान जनयुद्धले हासिल गरेका उपलब्धि र मूल्य मान्यताहरुलाई एमाले नेतृत्वको संशोधनवादमा विलिन गराई जनयुद्धको आदर्श र मानकलाई ध्वस्त बनाउने षड्यन्त्र भइरहेको छ भने अर्कोतर्फ एकीकृत जनक्रान्तिको नाममा माक्र्सवादका आधारभूत प्रस्थापनाका विपरीत कम्युनिष्ट आन्दोलनलाई गलत दिशामा लैजाने कार्य भइरहेको छ ।

देश र पार्टीका अगाडि आएको यो संकटको समाधान नयाँ जनवादी व्यवस्थाका लागि एउटा दह«ो कम्युनिष्ट केन्द्र र क्रान्ति नै हो । यस महान अभियानलाई सच्चा कम्युनिष्टहरुको एकता र ध्रुवीकरणका माध्यमबाट मात्र पुरा गर्न सकिन्छ र हामी सबैले यसतर्फ गम्भीरताका साथ पहल गर्न जरुरी छ । यस मर्मलाई आत्मसाथ गर्दै हालसम्म क्रियाशिल रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टीको सबै जिम्मेवारी छाड्दै नेकपा (क्रान्तिकारी माओवादी) को नीति तथा कार्यक्रमप्रति सहमत हुँदै ध्रुवीकरणको प्रक्रियामा सहभागी भएको छु । सबै सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु अब क. मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को झण्डामुनि गोलबद्ध भई क्रान्तिको निशर्त सेवामा लाग्न अपील गर्दछु ।”