
काठमाडाैं, ६ । इडिसन काभानीले थपिएको समयमा गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी)को हार टरेको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा मार्से विरुद्ध स्टार खेलाडी नेमारले रेडकार्ड पाएको खेलमा पिएसजी बराबरीमा रोकिएको हो । चार मिनेट थपिएको समयको तेस्रो मिनेटमा फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै काभानीले पिएसजीलाई बराबरीमा ल्याएका थिए ।
खेलको १६ औं मिनेटमा लुइज गोस्टाभोले गोल गर्दै मार्सेलाई सुरुवाती अग्रता दिलाएका थिए । नेमारले ३३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा टुंगिएको खेलको ७८ औं मिनेटमा थाउभिनले गोल गर्दै मार्सेलाई पुनः अग्रता दिलाएका थिए ।
८७ मिनेटमा दोहोरो पहेलो कार्डसहित रेडकार्ड पाएपछि नेमार बाहिरिएपछि हारको संघारमा पुगेको पिएसजीलाई काभानीले फ्रिकिक मार्फत जोगाएका हुन् । सिजनमा दोस्रो बराबरी खेलेको पिएसजी १० खेलबाट २६ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।