काठमाडौं । बेलायतमा संचालित विश्वस्तरीय युद्धकालिन सैन्य अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको वेल्स, ब्रेकनमा असोज २७ देखि संचालित ‘एक्सरसाइज क्यामब्रीन पेट्रोल –२०१७’ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको हो ।
उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको सैनिक अधिकृतको टोली सहभागि थिए । युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सञ्चालन गरिने यस सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन हुने गर्छ ।
अत्यन्त कठिन भौगोलिक ईलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले २ दिनभित्रमा हतियार तथा करिब ५० पाउण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित लगभग ५० किलोमीटर दूरी पार गर्नेुपर्ने हुन्छ । सहभागी टोलीको लडाईको तयारी, नक्सा र कम्पासको भरमा दिन र रातमा गर्ने निर्धारित स्थानहरूसम्मको यात्रा तय हुन्छ ।
खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाईते–बिरामीको ब्यबस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका परीक्षणहरु पार गर्दै त्यो दूरी पार गर्नुपर्ने हुन्छ ।
उक्त अभ्यासमा विश्वका प्रतिष्ठित २९ मुलुकका सेनाहरुको सहभागिता रहेको थियो । बेलायती फौजका १ सय ११ र नेपाल समेत अन्य २८ देशका १ सय ३९ सेनाको सहभागिता रहेको थियो । नेपाली सेनाको प्रतिनिधित्व गोरखबक्स गण तथा विशेष फौज बाहिनीको टोलीले गरेको थियो । सो प्रतिस्पर्धात्मको अभ्यासमा सहभागी मध्ये ९ मुलुकले अभ्यास नै पूरा गर्न सकेनन् । पाँच दशकदेखि हरेक बर्ष संचालन हुदै आएको एक निकै कठिन अभ्यास हो ।
विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट नतिजा हासिल गर्दै आएको नेपाली सेनाले यस्तो युद्ध कलामा पनि उत्कृष्ठता हासिल गरेको हो । यस प्रकारको व्यावसायिक, समर्पित, साहसी र संयमित फौजले मात्र पूरा गर्न सक्ने अभ्यासमा सहभागी हुन शुरू गरेको केहि छोटो समयमा नै नेपाली सेनाले यस्तो पदक पाएको हो ।
अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको प्रतिष्ठामा इट्टा थप्ने काम यो अभ्यासमा स्वर्ण पदक ल्याएर टोलीले गरेको सैनिका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकोछ ।






























