उरुग्वे र कोलम्बिया विश्वकपका लागि छनौट, चिलीको सपना चकनाचुर

उरुग्वे र कोलम्बिया विश्वकपका लागि छनौट, चिलीको सपना चकनाचुर

काठमाडौं । उरुग्वे र कोलम्बिया आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् ।

दक्षिण अमेरिकी छनौट अन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा उरुग्वेले बोलिभियालाई ४–२ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा उरुग्वेले २ आत्मघाती गोल पनि गरेको थियो ।

उरुग्वेका लागि लुइस स्वारेजले २ गोल गरे भने मार्टिन कासेरेस र इडिसन काभानीले एक एक गोल गर्दा उरुग्वेका गास्तोन सिल्भा र डिएगो गोडिनले एक एक आत्मघाती गोल समेत गरेका थिए ।
यसैगरी बुधबार बिहान नै भएको अर्को खेलमा पेरुसँग १–१ गोलको बराबरी खेलेको कोलम्बिया पनि विश्वकपका लागि छनौट भएको छ ।

कोलम्बियाका लागि जेम्स रोड्रिग्वेजले ५६ औं मिनेटमा गोल गरे । यस्तै पेरुका लागि ७४ औं मिनेटमा गुएरिरोले बराबरी गोल फर्काए ।

बराबरीमा रोकिए पनि दक्षिण अमेरिकी क्षेत्रका १० देशमध्ये चौथो स्थानमा रहँदै कोलम्बियाले रुस यात्रा तय गरेको हो भने समूहको पाँचौ स्थानमा रहेको पेरुले विश्वकपमा छनौट हुनका लागि प्लेअफमा न्युजिल्याण्डसँग खेल्नेछ ।

यसैबीच, विश्वकपका छनोट हुने आश गरिएको चिलीको भने विश्वकप खेल्ने सपना चकनाचुर भएको छ ।

दक्षिण अमेरिकी च्याम्पियन चिली बुधबार बिहान भएको खेलमा ब्राजिलसँग ३–० ले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । ब्राजिलकोे जितमा गाब्रियल जिससले २ गोल गरे भने पौलिन्होले १ गोल गरे ।