क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन सम्पन्न हुँदै

क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन सम्पन्न हुँदै

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को पाँच दिनदेखि जारी राष्ट्रिय सम्मेलन बिहीबार सम्पन्न हुने भएको छ । सम्मेलनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान, नेपाली समाजको स्वरुप र पार्टीको आम कार्यदिशा, फरक मतलगायतका दस्तावेजमाथि नौं वटा समूह बनाएर छलफल, बहस चलाइएको छ । समूहमा उठेका दस्तावेज माथिका मत, सुझावहरु समूह नेताहरुले हलमा प्रस्तुत गरेका छन् भने पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’ र कार्यालय सदस्य रामसिंह श्रीसबाट हलले उठाएका विविध विषयहरुमाथि स्पष्टीकरण दिने काम पनि बुधबार साँझसम्म सम्पन्न भइसकेको छ । बिहीबार विहान उक्त दस्तावेजहरु पारित हुने र वन्दसत्रका अध्यक्ष मण्डलबाट नयाँ कार्यसमितिको प्रस्ताव गरिने स्रोतले जनाएको छ । नयाँ कार्यसमितिलाई हलले पारित गरेपछि बिहीबारै सम्मेलन सम्पन्न हुने पार्टी कार्यालय स्रोतले जनायो ।

नयाँ जनवादी क्रान्तिको तयारीको खाका निर्माण गर्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर आयोजना गरिएको राष्ट्रिय सम्मेलनले त्यस दिशामा महत्वपूर्ण प्रस्तावहरु पारित गरेर जान लागेको सहभागीहरुले बताएका छन् ।

नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो, पुँजीवाद आइसक्यो, अब समाजवादी क्रान्ति गर्ने भन्दै प्रतिक्रियावादी राज्यव्यवस्थाको मतियार बन्दै आएका एमाले र माकेहरुले छरेका भ्रमहरु चिर्न सम्मेलन सफल रहेको सहभागीहरुले दावी गरेका छन् । अब अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनका आफ्नै अनुभवबाट शिक्षा लिदै कार्यदिशालाई समृद्ध पार्ने दिशामा सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको एक नेताले बताए ।