१. माक्र्सवाद–लेनिनवाद–माओवाद भनेको आफैमा एउटा विज्ञान हो । यसले रहेक विषय वस्तुलाई मिहिन तवरबाट सत्य पत्ता लगाउछ । तथ्यहरुको खोजी गर्नु आफैमा कठीन कार्य भएका कारण आम मानिस त्यसलाई गहिरो गरी बुझ्न चाहदैनन् । अझ कतिपय अवस्थामा भन्नु पर्दा मालेमावादलाई मार्ग निर्देशक सिद्धान्त मानेर खोलिएका कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व गरी राखेका कम्युनिस्ट पार्टीका नेताहरु नै तथ्यबाट सत्य पत्ता लगाउने भन्दा आफ्नै मनोगत इच्छा र आकांक्षाका आधारमा त्यसैलाई सत्य मान्ने प्रक्रिया कारण सर्वहारा वर्गको क्रान्ति पुरा भएर पनि पुनः प्रति क्रान्तिमा बदलिने र कतिपय अवस्थामा क्रान्तिद्वारा सिस्टमलाई बदल्नुको सट्टा सुधारको सजिलो बाटो सोझ्याउन मालेमावादका आधारभूत सिद्धान्तलाई बदलेर विकृत तवरबाट व्याख्या विश्लेषण गर्नुले पुँजीवादी वर्गलाई बढी फाईदा हुँदै आएको दृष्टान्त हाम्रा अगाडि प्रशस्त मात्रामा छन् ।

कतिपय अवस्थामा अपुरो ज्ञानका कारण इमान्दार हुदाहुदै पनि कम्युनिस्ट आन्दोलनले सर्वहारा वर्गको आन्दोलनले चाहेर वा नचाहेर क्षति व्यहोर्नु परिराखेको छ । विश्व कम्युनिस्ट आन्दोलन वा नेपालको कम्युनिस्ट आन्दोलनमा मिहिन तबरबाट सर्वहारा वर्गको मुक्ति, समानताका खातिर छलफल चलाउन जरुरी छ । अरुले गरेका वर्ग हितका राम्रा कामको सम्मान र आफू भित्र रहेका खराब तत्वका विरुद्ध संघर्ष गर्नु पनि त्यत्तिकै जरुरी छ । मुलतः नेपालको कम्युनिस्ट आन्दोलन भित्र विगत देखि नै जरा गाडेर बसेको आग्रही, पूर्वाग्रही र निम्न मध्यम वर्गीय चिन्तन प्रणालीबाट पैदा भएको व्यक्तिवादी अहमता, अनावश्यक महत्वकांक्षा जस्ता प्रवृत्तिहरुले पनि क्षति पु¥याउने गरेको छ । पहिलो आफैले आफू भित्रका गलत प्रवृतिका विरुद्ध लड्ने सहास गर्नु पर्छ । दोस्रो सच्चा मित्रहरुबाट सहयोग लिन पर्दछ । यो यतिवेलाको आवश्यकता हो ।

२. हरेक वस्तु भित्र संघर्ष हुन्छ । किनकी कुनै पनि चिजको विकासको निमित्त संघर्ष अनिवार्य छ । यो विज्ञानको अनिवार्य नियम हो । त्यसैले समाजमा संघर्ष छ । पार्टी भित्र संघर्ष हुन्छ । एउटा परिवारमा संघर्ष हुन्छ । एउटा व्यक्ति आन्तरिक मन भित्र संघर्ष चलिरहेको हुन्छ । उक्त संघर्ष सत्य र असत्यका बिचमा, सहि र गलतका बिचमा, ठीक र बेठीकका बिचमा तथ्य र अतथ्यका बिचमा नै चलेको हुन्छ त्यहाँ एउटाले आर्कोलाई समाप्त गर्ने हो ।

एउटाले अर्को माथि विजय प्राप्त गर्ने हो । सर्वहारा वर्गले विजय प्राप्त ग¥यो भने सत्यको विजय हुन्छ भने पूँजीपति वर्गले विजय प्राप्त ग¥यो भने असत्यको विजय हुन्छ । त्यसैले जहाँ पनि सत्यको विजयको आवश्यकता छ । त्यसैले सर्वहारा वर्गको विजयका निमित्त सशक्त वर्ग संघर्षको आवश्यकता पर्दछ । किनकी पुँजीपति वर्गको हातमा सत्ता छ, स्रोत छ र साधन छ । वर्गको सत्ता वदल्न, विचार, राजनीति, संगठन, प्रविधि, सहास सवै चिजको आवश्यकता पर्दछ ।

व्यक्ति, परिवार वा पार्टी भित्र चल्ने संघर्ष र त्यसलाई बदल्नका निमित्त इच्छा शक्तिसहित सकारात्मक सोच चाहिन्छ । पहिलो रहेक व्यक्तिले आफंैभित्रका खराबीका विरुद्ध संघर्ष गर्ने आँट र हिम्मत गर्नु पर्छ । तब मात्र उसले आफ्ना परिवारलाई सकारात्मक दिशामा बदल्न सक्छ । पार्टीलाई बदल्न सक्छ र समाजलाई बदल्न सक्छ । पहिला अरु भित्र होइन आफै भित्रका खराबीको खोजी गर्नु सक्नु पर्दछ । त्यसलाई सतहमा ल्याउने कोशिस गर्नु पर्छ । यो सच्चा सर्वहारा वर्गको पहिलो दायित्व हो । सामन्तवादी, पुँजीवादी वा निम्न पुँजीवादी चिन्तन, सोच र विचारबाट प्रदुषित वा प्रभावित भएका हामीहरु त्यसो गर्न तयार छैनौं ।

किनकी अपूर्ण ज्ञान, क्षमता वा कैयौं आफू भित्रका अपुगतालाई हामी आफू पूर्ण ठान्दछौं । आफू भित्र अपुगता छन भनेर ठान्नु भनेको ठूलो कमजोरी हो भन्ने मानसिकता बनेको छ । तर त्यो सोच सर्वहारा वर्गीय सोच होइन । त्यो सोच मालेमावादी विचार सँग मेल खाने विचार पनि होइन । मालेमावादको विचारबाट प्रभावित, प्रशिक्षित सामान्य कार्यकर्ता मात्र होइन मध्यम तहका नेता देखि उपल्लो तहका नेताहरुमा समेत त्यही चिन्तन प्रकृति हावी छ । यदि साँच्चिकै सर्वहारा वर्गको पार्टी बनाउने, सर्वहारा वर्गको क्रान्ति सम्पन्न गर्ने र जनवादी गणतन्त्रको स्थापना गरेर समाजवाद हुँदै साम्यवादको लक्ष्यमा अगाडि बढ्ने हो भने त्यो आँट हामीले गर्न आवश्यक छ । नेपाली कम्युनिस्ट क्रान्तिकारीहरुका निमित्त यो एउटा अवसर पनि र भयङ्कर ठूलो चुनौति पनि छन् । पहिलो चुनौति आफैं भित्रका खराबीसँग लड्ने चुनौति हो ।

३.माक्र्सवादको गुदी कुरा भनेको नै वस्तु भित्रको अन्तर विरोध हो । अन्तरविरोधको सही ढङ्गबाट संचालन गर्न सिपालु हुन क्रान्तिकारीहरुको दायित्व हो । किनकी वर्गीय समाजमा हरेक व्यक्ति वा व्यक्ति–व्यक्ति मिलेर बनेको पार्टीमा समाजको सकारात्मक वा नकारात्मक चिजहरुको अथवा समाजमा रहेका सर्वहारा वा पुँजीवादी वर्गको प्रभाव परेकै हुन्छ । त्यसैले त्यहाँ संघर्ष अनिवार्य छ । सर्वहारा वर्गका महान गुरु लेनिनले ‘अन्तरसंघर्ष नभएको पार्टी मृत प्राय हुन्छ’ भन्नु भएको छ भने माओले ‘एक दुईमा विभाजित हुन्छ’ भन्नु भएको छ । त्यसैले एउटा जीवित अझ क्रान्तिकारी पार्टीमा संघर्ष अनिवार्य छ । हामीले कितावमा द्वन्द्ववाद पढ्दा–पढ्दै र माक्र्सवाद देखि माओवादसम्मको व्याख्या गर्दागर्दै पनि कतिपय व्यक्तिहरु अन्तर संघर्ष देखि डराउँछन वा भाग्छन ।

त्यो वास्तवमा मालेमावादी दृष्टिकोण होइन अथवा मेल खाँदैन । समाजमा अर्को थरी मानिस पनि छन मिल्ने मिल्ने बसेर पार्टी बनाउने हो, मिल्ने मिल्नेले क्रान्ति गर्ने हो । यो अधिभूतवादी वा एकमनावादी चिन्तन हो । यो सुन्दा जति प्रिय छ व्यवहारमा त्यो घातक छ । अझ भनौं मालेमावादसँग यसको साइनो छैन । त्यसैले यसले क्रान्ति गर्ने होइन बरु मन मिल्ने भनेको व्यक्तिगत स्वार्थ पूरा गर्न स्वार्थ मिल्नेहरुको एउटा झुण्ड हो । अन्तमा त्यो झुण्ड पनि स्वार्थहरु टकराएर अन्तमा आफैं समाप्त हुन्छ । मालेमावादको मार्गदर्शक सिद्धान्त मान्ने, सर्वहारा वर्गको मुक्ति चाहाने क्रान्तिकारीहरु अन्तरसंघर्ष, वैचारिक वहस र वर्गसंघर्षबाट डराउने, भाग्ने र तर्सने होइन दरो आँट हिम्मतका साथ वैचारिक बहसमा खरो उत्रेर गलतका विरुद्ध संघर्ष गर्ने, रुपान्तरण गर्ने र नयाँ आधारमा पार्टीलाई एकताबद्ध बनाएर क्रान्तिका कार्यभार पूरा गर्ने हो । मैत्रिपूर्ण तबरबाट ।

०६४ साल देखि आज ०७४ सालसम्म आईपुग्दा नेपालका कम्युनिस्टहरु टुटफुट विभाजन भएको देख्दा कैयौं व्यक्तिहरुमा संघर्ष भए फुट्छ र फुटेपछि पार्टी कमजोर बन्छ भन्ने एउटा मनोभावना पनि छ । त्यो मनोविज्ञान नकरात्मक त होइन तर त्यो पनि विषय वस्तुको गहिराई सम्म पुगेको सोच होइन । साम्राज्यवाद, पुँजीवाद र सामन्तवादको दबदबा रहेको हाम्रो जस्तो समाजमा या त प्रतिक्रियावादी वर्गको योजनामा पार्टी भित्र फुट हुन्छ या त कम्युनिस्ट पार्टीका नाममा बुर्जुवा सोचको विकास गरेका नेताहरुका कारण पार्टीमा फुट हुन्छ । त्यसैले क्रान्तिकारी किन डराउन प¥यो कि फूट हुन्छ भनेर ? त्यस्ता गलत व्यक्तिहरु पार्टीमा बसेर न त क्रान्ति हुन्छ न त भएको क्रान्तिको उपलब्धिको रक्षा नै । जो क्रान्तिकारी छ त्यसले त मालेमावादका आधारभूत सिद्धान्तलाई पकड छ सर्वहारा वर्गलाई केन्द्र विन्दुमा राखेर सोच्छ र एकता संघर्ष फुट होइन रुपान्तरणको बाटो पकड्छ । नयाँ आधारमा नयाँ एकताको सिद्धान्त अनुरुप अगाडि बढ्छ । यो नै मालेमावादप्रतिको सच्चा बुझाई हो र त्यो अनुरुपको बुझाई बनाउन आवश्यक छ ।

४. प्रतिक्रियावादी वर्ग तथा संशोधनवादीहरुले क्रान्तिहरुलाई लगाउने आरोप भनेको संकीर्णता, जडता र यान्त्रिकता हो । वास्तवमा मालेमावादको सिद्धान्त अगाल्ने जो कोहीले पनि उनीहरु किन त्यो भन्छन त भन्दा मालेमावादका सार्वभौम सिद्धान्तलाई संशोधन गर्न खण्डित गर्न र कमजोर बनाउनका निमित्त यसो भन्ने गर्दछन । त्यसको क्रान्तिकारीहरुले जमेर खण्डन गर्नु पर्दछ । साथै मालेमावादको खण्डित गर्ने, त्यसले विकास गरेको विषय वस्तुलाई त्यो उचाईबाट व्याख्या विश्लेषण र संश्लेषण गर्नमा हिचकिचाउने जस्ता कमजोर बुझाईलाई पनि हामीले जमेर खण्डन गर्नु सक्नु पर्दछ । कतिपय मानिसहरु इमान्दार हुन् तर मालेमावादका सार्वभौम सिद्धान्तलाई वुझ्ने प्रश्नमा कमजोर छन भने व्यापक छलफलका बिचबाट स्तरको विकास गर्ने कुरामा जोड दिनुपर्छ । अन्यथा कमजोर मानसिकता वा वैचारिक स्तर भएकाहरुबाट सर्वहारा वर्गलाई फाइदा होइन बेफाइदा नै हुन्छ । यसबाट जोगाउन एकता, संघर्ष रुपान्तरणको प्रक्रियालाई दरोसँग पकड्दै व्यापक बहसका बिचबाट नयाँ निस्कर्ष निकालौं ।

 

प्रतिक्रिया

सम्बन्धित खवर