भुटानमाथि नेपालको विजय, दीपेन्द्रले लिए ५ विकेट

भुटानमाथि नेपालको विजय, दीपेन्द्रले लिए ५ विकेट

काठमाडौं, भदौ २८ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा सहज जित हासिल गरेको छ । बुधबार विहान मलेशियामा भएको खेलमा नेपालले कप्तान दीपेन्द्रिसंह ऐरीको ५ विकेटको सहयोगमा भुटानलाई ५० रनमै समेट्दै जित निकालेको हो । भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा एक विकेट जाँदा पूरा गरेको हो ।
नेपालका सन्दिप सुनारले २६ बलमा २१ रन, आशिफ शेखले २१ बलमा अविजित २३ रन साथै अनिल कुमार शाह ५ बलमा ४ रन अविजित रहे । मलेसियामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले पाँच, सन्दिप लामिछानेले चार साथै नन्दन यादवले एक विकेट लिएका छन् । नन्दनले तेस्रो ओभरमा भुटानका ओपनर जीवन घल्लेलाई एक रनमा आउट गरेका हुन् ।
दिपेन्द्रले ९ औँ ओभरमा दुई र १९ औँ ओभरमा दुई साथै २१ औँ ओभरमा एक विकेट लिएका हुन् । सन्दिप लामिछानेले २४ औँ ओभरमा एक र २६ औँ ओभरमा दुई साथै २८ औ ओभरमा एक गरेर चार विकेट लिएका छन् । भुटानका युग्येन दोर्जीले ४३ बलमा १३ रन साथै टासी फुन्टशोले ६५ बलमा १६ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । समान दुई दुई खेल जितेका सिंगापुर र नेपालको चार चार अंक भए पनि नेट रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा पुगेको हो । नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २ सय ५५ रनको अन्तरले हराएको थियो । पहिलो खेलमा भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो ।

१९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिता आउँदो नोभेम्बरमा भारतमा हुँदैछ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा छनौट चरणबाट आएका चार टिम एसिया कप क्रिकेटमा खेल्ने छन् । पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रको फाइनलमा पुग्ने दुई दुई टिम एसिया कपका लागि छनौट हुने छन् ।