बाँदरले हार्‍यो आफ्नै सेल्फीको मुद्दा, तस्बिरको स्वामित्व स्लेटरलाई

बाँदरले हार्‍यो आफ्नै सेल्फीको मुद्दा, तस्बिरको स्वामित्व स्लेटरलाई

एजेन्सी । लामो कानुनी लडाईपछि बाँदरको सेल्फी फोटोको स्वामित्वको विवाद समाधान भएको छ ।

सन् २०११ मा इन्डोनेसियाको जंगलमा लिइएको बाँदरको सेल्फी फोटोको स्वामित्व अन्ततः फोटो ग्राफर डेभिड स्लेटरलाई नै दिइने भएको हो ।

क्यामेरामा दाँत देखाउँनै चम्किलो आँखा देखाएको बाँदरको सेल्फीको स्वामित्वको विषयलाई लिएर लामो विवाद चलेको हो । फोटो ग्राफरले पशु अधिकार समूहसँग चलेको दुई वर्ष भन्दा लामो समयको कानुनी लडाई जितेका हुन् ।

यो तस्बिर सन् २०११ मा इन्डोनेसियाको जंगल माकक प्रजातिको नारुतो नामक बाँदरले लिएको थियो । बाँदरले न्यु साउथ वेल्सका डेभिड स्लेटरको क्यामरामा यो सेल्फी लिएको हो ।

अमेरिकी न्यायाधीसले बाँदरलाई कपिराइट कानुनअनुसार अधिकार नमिल्ने भन्दै मुद्दा खारेज गरिदिएका हुन् । पशु अधिकार समूह (पेटा) ले भने यो तस्बिरबाट जनावरलाई समेत फाइदा हुनुपर्ने तर्क गरेको थियो ।

बाँदरको तर्फबाट भन्दै पेटाले दायर गरेको रिट खारेज भएपछि फोटो ग्राफर डेभिडले यसको स्वामित्व पाएका हुन् । मुद्दाको फैसला आफ्नो पक्षमा भएपछि स्लेटरले यो तस्बिरबाट भविष्यमा हुने कमाईको २५ प्रतिशत दान गर्ने घोषणा गरेका छन् ।

स्लेटर र पेटाद्वारा जारी संयुक्त वक्तव्यमा तस्बिरको बिक्रीबाट हुने एक चौथाई कमाई नारुटो र त्यस स्थानमा रहेका च्यारिटी संस्थाहरुलाई दान दिने उल्लेख गरिएको छ ।

पेटाका वकिल जेफ कर्रले यो मुद्दाका कारण संसारभर पशु अधिकारका विषयलाई लिएर चर्चा भएको बताएका छन् । स्लेटरले भने यो तस्बिरका लागि आफूले धेरै मेहनत गरेको र तस्बिरमाथिको कपिराइट अधिकारको दाबीका लागि पर्याप्त रहेको जनाएका छन् ।

स्लेटरले आफू स्वयम पनि संरक्षणवादी भएको बताउँदै तस्बिरमा पैदा भएको रुचीका कारण इन्डोनेसियाका जनावरलाई समेत फाइदा पुगेको बताएका छन् । यो मुद्दालाई ‘नारुटो भर्सेज स्लेटर’ नाम दिइएको थियो ।

बाँदरको पहिचानलाई लिएर पनि विवाद थियो । पेटाले यो तस्बिरमा देखिएको बाँदर पोथी भएको र यसको नाम नारुटो भएको बताएको छ भने स्लेटरले यसलाई माकक प्रजातिको ‘नर बाँदर’ भएको बताएका थिए ।

विश्वमै चर्चित भएको यो तस्बिरबाट उनले हालसम्म कुनै आम्दानी हासिल गरेका छैनन् । स्वामित्व सम्बन्धि विवादका कारण उनले कुनै रकम नपाएका हुन् । रकम पाउनुको साटो उनले कानुनी लडाईका कारण ठूलो धनराशी खर्च गर्नुपरेको थियो ।