च्याम्पियन्स लिगमा चेल्सीको शानदार जित, बार्सिलोना, पिएसजी र म्यानयु विजयी

च्याम्पियन्स लिगमा चेल्सीको शानदार जित, बार्सिलोना, पिएसजी र म्यानयु विजयी

काठमाडौं । च्याम्पियन्स लिगको नयाँ सिजनमा प्रिमियर लिग च्याम्पियन चेल्सीले शानदार सुरुवात गरेको छ ।

मंगलबार राति भएको खेलमा चेल्सीले अजरबैजानको क्वाराबाग फुटबल क्लबलाई ६–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । चेल्सीका लागि पाँचौं मिनेटमा नै पेड्रो रोड्रिग्वेजले गोल गर्दै अग्रता दिलाए ।

चेल्सीको जितमा डेभिड जापाकोस्टा, सिसर एजपिलिक्वेटा, टिमोए बाकोयोको र मिची बात्सुआईले एक एक गोल गरे भने क्वारबागका माक्सिम मेदभेदेभले एक आत्मघाती गोलको उपहार दिएका थिए ।

यसैगरी मंगलबार राति नै भएको अर्को खेलमा लिओनल मेस्सीको दुई गोलको मदतमा बार्सिलोनाले युभेन्टसमाथि ३–० को जित हात पारेको छ ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ४५ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले लुइस स्वरेजसँग वान टु वान पास खेल्दै गोल गरे ।

दोस्रो हाफमा पनि युभेन्टस खेलमा फर्कन सकेन । ५६ औं मिनेटमा राकिटिकले गोल गरे भने ६९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै महत्वपूर्ण जित दिलाए ।

यस्तै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले सेल्टिकमाथि ५–० गोल अन्तरको जित निकालेको छ ।

सेल्टिकको घरेलु मैदानमा भएको खेलमा पीएसजीले १९ औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । ३४ औं मिनेटमा एमबापे र ४० औं मिनेटमा काभानीले गोल गरेपछि पीएसजीले पहिलो हाफमा ३–० को अग्रता लियो ।

 

दोस्रो हाफमा पनि पीएसजी नै हावी भयो । ८३ औं मिनेटमा सेल्टिकका लुस्टिङले आत्मघाती गोल गरे भने दुई मिनेटपछि नै पाएको पेनाल्टीमा काभानीले गोल गरे र पेरिस सेन्ट जर्मेन ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

यसैगरी म्यान्चेस्टर युनाईटेडले एफसी बासेलमाथि ३–० को जित निकालेको छ । म्यान्चेस्टर युनाईटेडको जितमा मराउने फेलाइनी, रोमेलु लुकाकु र मार्कस रास्फोर्डले एक एक गोल गरे ।