रोहिंग्यामाथिको कारबाही जातीय नरसंहारको रुपमा देखियो : राष्ट्रसंघ

रोहिंग्यामाथिको कारबाही जातीय नरसंहारको रुपमा देखियो : राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुखले म्यानमारको राखिने प्रान्तमा सरकारी सुरक्षाफौजले जारी राखेको हिंसात्मक सैन्य कारबाही जातीय नरसंहारको संकेत भएको आरोप लगाएका छन् ।

म्यानमारमा गत अगस्ट २५ मा रोहिंग्या लडाकुले प्रहरी पोस्टमाथि आक्रमण गरी १२ प्रहरीको हत्या गरेपछि सुरक्षाफौजले चलाएको सैन्य अपरेशनका क्रममा लाखौं विस्थापित भइसकेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा सम्बोधन गर्दै राष्ट्रसंघीय मानवअधिकार प्रमुख जैद राद अल–हुसैनले अगस्ट २५ पछि सुरक्षाफौजले गरेको कारबाहीका क्रममा मात्रै २ लाख ७० हजार भन्दा बढी रोहिंग्या मुस्लिम समुदायका सर्वसाधारण शरणार्थीका रुपमा बंगलादेश प्रवेश गरेको जानकारी दिए ।

रोहिंग्याहरुको बस्तीमा आगो लगाइएको तथा गैरन्यायिक हत्या समेत भएको बताउँदै उनले अझै थुप्रै सर्वसाधारण म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रोकिएर रहेको बताए ।

जैदले म्यानमार सरकारलाई हाल सेनाले जारी राखेको हिंसात्मक सैन्य अपरेशन बन्द गर्न आग्रह गरेका छन् । उनले म्यानमारमा हाल भइरहेको सो कारबाही जातीय सफाईको रुपमा देखिएको टिप्पणी गरे ।

बंगलादेशका विदेशमन्त्रीले हिंसाग्रस्त राखने राज्यमा भएको सो हिंसालाई ‘एक नरसंहार’ भएको टिप्पणी गरेको एक दिनपछि राष्ट्र संघीय मानवअधिकार परिषदका उच्चायुक्तको यो भनाई बाहिर आएको हो ।

बंगलादेशका विदेशमन्त्री एएच मोहम्मद अलीले अन्तर्राष्ट्रिय समुदायले जस्तै आफूहरुले पनि यसलाई नरसंहारको रुपमा लिएको बताएका थिए ।

उनले म्यानमारमा रोहिंग्या समुदायमाथि भइरहेको यो हिंसा र नरसंहार अस्वीकार्य भएको टिप्पणी समेत गरे । उनले भने, ‘समस्या हामीले होइन, म्यानमारले सुरु गरेको हो र उनीहरुले नै यसलाई समाधान गर्नुपर्छ । हामी सहयोग गर्न तयार छौं ।’