
चन्द्रपुर । रौतहटको चन्द्रपुरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सर्लाहीको हरिऔनबाट दुर्घटनाका घाइतेलाई लिएर उपचारका लागि चितवनको भरतपुरतर्फ जाँदै गरेको ज १ च १४९१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ६६ वर्षीया घाइते पार्वती भुजेलको मृत्यु भएको हो ।
विरामी लिएर जाँदै गरेको एम्बुलेन्स चन्द्रपुर नगरपालिका–२ स्थित सहिदपार्क नजिकै लोकमार्गमा रोकिराखिएको ना १ क ६९०१ नम्बरको ट्रकमा ठोक्किर दुर्घटना भएको हो ।
हरिऔनमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी भुजेलको अर्को दुर्घटनामा मृत्यु भएको हो ।
दुर्घटनामा चालक प्रेमकुमार कार्कीसहित तुलसा भुजेल र सुभद्रा श्रेष्ठ घाइते भएका छन् । उनीहरुमध्ये कार्कीको अवस्था गम्भीर रहेको छ ।
उनीहरुलाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।