एजेन्सी । मेक्सिकोको दक्षिणी समुद्री तटमा शुक्रबार आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।
मेक्सिकोका राष्ट्रपतिले दक्षिणी तटमा यो शताब्दीकै शक्तिशाली भूकम्प आएको बताएका छन् । भूकम्पबाट क्षतिग्रस्त भएका टैबीको, भहाका र चियापसमा उद्दारकार्य जारी छ । केही स्थानमा भत्किएका भग्नावशेषमा मानिसहरु च्यापिएको आशंका गरिएको छ ।
राष्ट्रपति एनरिक पेना नेइटोका अनुसार भूकम्पका कारण कम्तीमा पनि २ सय जना घाइते भएका छन् । राष्ट्रिय आपतकालीन कमिटिका प्रमुख लुइस फिलिपे पुएन्टेले भूकम्पका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको जानकारी दिएका छन् ।
अधिकारीहरुले भहाकामा ४५ जनाको मृत्यु भएको र चियापसमा १० तथा टैबस्कोमा तीन जनाको मृत्यु भएको जनाएका छन् । भहाकामा भूकम्पबाट सबैभन्दा प्रभावित सहर खुचिटानका मेयर ग्लोरिया सान्चेजले भने, ‘खुचिटानमा धेरै खराब अवस्था रहेको इतिहासमा यस्तो अवस्था देखेको थिइन ।’
ग्वाटेमालामा परी सोही भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । मेक्सिकोका राष्ट्रपति पेना नेइटोले भूकम्पको झट्का करिब ५ करोडले महसुस गरेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन् ।
अमेरिकी भूगर्व वैज्ञानिकको सर्वेक्षणअनुसार भूकम्पको केन्द्र पिजिजियापन सहरको दक्षिण पश्चिममा ८५ किलोमिटर टाढा र ७० किलोमिटर गहिराईमा भएको जनाएका छन् ।
मेक्सिको सहित यो भूकम्पका कारण ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुआ, पनामा र होन्डुरसमा सुनामीको चेतावनी जारी गरिएको थियो । यो शक्तिशाली भूकम्पको झट्का एक मिनेटसम्म महसुस गरिएको थियो ।
भूकम्पपछि ४.९ र ५.७ रेक्टरका पराकम्प गएको बताइएको छ । यो भूकम्पको झट्का सन् १९८५ मा आएको भूकम्पको भन्दा ठूलो थियो । १९८५ मा आएको भूकम्पमा परी हजारौंका मृत्यु भएको थियो ।































