चीनले भारतलाई सोध्याे–‘सेनापति विपिन रावतको भनाई भारतको आधिकारिक भनाई हो ?’

चीनले भारतलाई सोध्याे–‘सेनापति विपिन रावतको भनाई भारतको आधिकारिक भनाई हो ?’

एजेन्सी । भारतीय सेना प्रमुख विपिन रावतले बुधबार चीन र पाकिस्तानसँग एकैपटक युद्ध गर्ने अवस्था आउनसक्ने भन्दै दिएको अभिव्यक्तिप्रति चीनले कडा आपत्ति प्रकट गरेको छ ।

बेइजिङले सेना प्रमुख रावतको यो भनाई चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्ता र छलफलको विपरित भएको जनाएको छ ।

रावतले नयाँ दिल्लीमा सेन्टर फर ल्याण्ड वारफेयरद्वारा आयोजित सेमिनारलाई सम्बोधन गर्दै भारतले दुई वटा युद्ध मोर्चाका लागि तयार रहनुपर्ने बताएका थिए ।

उनले चीन र पाकिस्तानसँग एकै पटक युद्ध हुनसक्ने भन्दै दुवै मोर्चामा भारत तयार रहनुपर्ने उल्लेख गरेपछि त्यसले फेरि विवाद निम्त्याएको हो ।

भारत र चीनबीच भुटान, चीन र भारतको त्रिदेशीय सीमा क्षेत्र डोकलामलाई लिएर ७३ दिनसम्म चलेको विवाद भारतले सेना फिर्ता गरेसँगै टुंगिएको थियो ।

डोकलाम विवाद समाप्त भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनको फुजियान प्रान्तको सियामेनमा आयोजना गरिएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिनका लागि गएका बेला दुई नेताबीच भेट भएको थियो ।

भारतीय सेनापतिको यो भनाईपछि बेइजिङमा विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता गेङ शुआङले भने, ‘हामीले भारतमा सम्बन्धित व्यक्तिका अभिव्यक्ति हे¥यौं र पत्रपत्रिकामा केही भनाई देख्यौं । डोकलाममा दुई देशका सेनाबीच ७३ दिनसम्मको गतिरोध समाप्त भएपछि मोदीसँगको पहिलो कुराकानीमा उनले व्यक्त गरेको विचार विपरित रावतको भनाई भारतको आधिकारिक भनाईको प्रतिनिधित्व गर्छ ?’