यो हो ‘नयाँ जनवादी क्रान्ति’ का पक्षधरसँग एकताको पहलको वास्तविकता

यो हो ‘नयाँ जनवादी क्रान्ति’ का पक्षधरसँग एकताको पहलको वास्तविकता

काठमाडौं । नेपालमा नयाँ जनवादी क्रान्तिका पक्षधर कम्युनिष्ट क्रान्तिकारी पार्टीबीच ६ बुँदे सर्तका आधारमा एकताको पहल नेकपा (क्रान्तिकारी माओवादी)ले थालेको छ ।

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले भदौं ३ गते नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहसँग पार्टी एकता तथा सहकार्यका निम्ति प्रस्ताव गरे ।

मसालको बागबजार स्थित सम्पर्क कार्यालयमा दुई नेताबीच भएको भेटमा एकताको प्रस्तावले प्रवेश पाएको थियो ।

दुवै नेताबीच एकता तथा सहकार्यका निम्ति सकारात्मक कुरा भएको र अनौपचारिक छलफल अगाडि बढाउने कुरामा सहमति भएको उक्त भेटमा सहभागी रहेका क्रान्तिकारी माओवादीका कार्यालय सदस्य रामसिंह श्रीसले बताए ।

क्रान्तिकारी माओवादीको केही समय पहिले सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले मालेमावादलाई पार्टीको निर्देशक विचार मान्ने, नयाँ जनवादी क्रान्ति, बल प्रयोगको सिद्धान्त, जनवादी केन्द्रीयताको सिद्धान्त मान्ने र वर्तमान संविधान नमान्ने र वर्तमान सरकारमा नजाने वा नगएका पार्टीसँग एकता गर्न सकिने मार्ग प्रशस्त गरेको छ ।

यसै आधारमा क्रान्तिकारी माओवादीले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपासँग पनि एकता वा सहकार्यका लागि पहल गरेको स्रोतले जनाएको छ ।

वर्गीय र राष्ट्रिय रुपमा आत्मसमर्पण गर्न पुगेको माओवादी केन्द्रले एकताको नाममा छरेको भ्रमको निरन्तर विरोध गर्दै क्रान्तिकारी माओवादीले नयाँ जनवादी क्रान्तिका पक्षधर राजनीतिक पार्टीहरुसँग मात्र एकता सम्भव रहेको बताउँदै आएको छ ।

वर्तमान संविधान नमान्ने, संसदीय व्यवस्था नमान्ने र नेपाली समाजको आमूल परिवर्तनको मालेमावादी दिशाप्रति प्रतिबद्ध पार्टी, समूह र व्यक्तिहरूबीच सकेसम्म पार्टी एकता नभए कार्यगत एकताको स्थिति बनोस् भन्ने चाहना आम जनमानस तथा कार्यकर्ताहरूमा रहेको कुरालाई आत्मसात गर्दै क्रान्तिकारी माओवादीले यसतर्फ पहल गरेको नेता श्रीसले बताए ।