चीनको पटक पटकको चेतावनीपछि डोकलामबाट भारतीय सैनिक फिर्ता

चीनको पटक पटकको चेतावनीपछि डोकलामबाट भारतीय सैनिक फिर्ता

एजेन्सी । चीन र भुटानको विवादित सीमा क्षेत्र डोकलामबाट भारतीय सेना फिर्ता भएको छ ।

चीन, भारत र भुटानबीचको सो त्रिदेशीय सीमा क्षेत्रमा चीनले सडक निर्माण गरिरहेका बेला भारतीय सेना हस्तक्षेप गर्न पुगेपछि गत जुनदेखि दुई देशबीच तनाव जारी थियो ।

झण्डै साढे २ महिना लामो तनावपछि भारतीय सेना फिर्ता भएको हो । चिनियाँ सेनाले भने डोकलाम क्षेत्रमा आफ्नो गस्ती जारी राख्ने जनाइएको छ ।

यसअघि भारत सरकारले हिमालय क्षेत्रमा अवस्थित विवादित डोकलाम क्षेत्रबाट फौजहरु फिर्ता गर्न चीनसँग समझदारी भएको बताएको छ । भारतीय विदेशमन्त्रालयले हप्तौंदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको दाबी गरेको छ ।

भारतले गत जुन महिनामा भुटानले आफ्नो दाबी गर्ने सो क्षेत्रमा सडक निर्माण गर्नबाट चीनलाई रोक्न आफ्ना फौज खटाउने निर्णय गरेको थियो । तर चीनले डोकलाम आफ्नो भूमि भएको भन्दै भारतीय फौजले सीमा अतिक्रमण गरेको भन्दै बिना सर्त सेना फिर्ता लैजान पटक पटक चेतावनी दिएको थियो ।

भारतीय विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै भनेको छ, ‘हालैको हप्तामा डोकलाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक तहमा छलफल जारी रहेको छ, यो कुराकानीमा हामीले एक आपसको चिन्ता र हितकाबारेमा छलफल गरेका छौँ । यसै आधारमा डोकलाममा जारी विवादलाई लिएर सीमामा रहेका सेना द्रुत रुपमा हटाउने निर्णय गरेका छौ र यस दिशामा काम अघि बढेको छ ।’

दुई देशबीच सन् १९६२ मा सीमा विवादकै कारण युद्ध भएको थियो । त्यसबेला पनि भारतीय सेना चीनसँग पराजित भएर पछि हटेको थियो । चीनले सन् १८९० मा भएको एङ्लो–चीन सन्धी अनुसारपनि डोकलाम आफ्नो भएको बताउँदै आएको छ ।
सोही क्षेत्रलाई भुटानले दाबी गरेपछि सो क्षेत्रलाई लिएर विवाद चल्दै आएको छ । भुटान र चीनबीच सीमा विवाद समाधानका लागि तत्कालीन भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्लेको पालामा २२ वटकसम्म वार्ता भएपनि भारतीय हस्तक्षेपका कारण सफल हुन सकेको थिएन ।

गत मे महिनामा डोकलामलाई लिएर सुरु भएको तनावबीच चीनले सीमा क्षेत्रमा आफ्ना सैनिकको तैनाथी बढाएको थियो । भुटानसँग सीमा जोडिएको भारतको उत्तर पूर्वमा अवस्थित सिक्किमको नजिकै पर्ने डोकलाममा चीनले सडक निर्माण गर्न थालेपछि भारतले त्यसको विरोध गरेको थियो ।

भारतले भुटानले डोकलाममाथि प्रस्तुत गरेको दाबीलाई समर्थन गर्दै आएको छ ।
भारतले सो सडकको निर्माण पुरा भएमा आफ्नो उत्तर पूर्वी क्षेत्र जोड्ने २० किलोमीटर चौडा ‘चिकेन्स नेक’ भनिने कुखुराको घाँटी आकारको क्षेत्रमा चीनको पहुँच बढ्ने भन्दै चिन्ता व्यक्त गर्ने गरेको छ ।

‘सेभन सिस्टर्स’ पनि भनिने ७ वटा राज्य रहेको पूर्वी भारतीय क्षेत्र जोड्ने सो क्षेत्र भारतका लागि सामरिक रुपमा निक्कै महत्वपूर्ण मानिन्छ ।