च्याम्पियन्स लिगको प्ले अफमा लिभरपुलद्वारा होफनहाईम पराजित

च्याम्पियन्स लिगको प्ले अफमा लिभरपुलद्वारा होफनहाईम पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा प्ले अफ खेल सुरु भएका छन् ।

मंगलबार राति भएको प्ले अफको पहिलो लेगको खेलमा इङ्ल्यान्डको लिभरपुलले जर्मन क्लब होफनहाईमलाई पराजित गरेको छ ।

जर्मनीमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन अलेक्जेन्डर आर्नोल्डले पहिलो गोल गरे भने होफनहाईमकै हाभर्ड नर्डभिटले एक आत्माघाती गोल गरे ।

खेलको अन्त्यतिर होफनहाईमका मार्क उथले एक गोल फर्काउँदै गोल अन्तर कम गरे । जितसँगै लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा छनोट हुने संभावना बलियो पारेको छ ।

दोस्रो लेगको खेल अर्को हप्ता लिभरपुलको मैदानमा हुनेछ । च्याम्पियन्स लिग प्ले अफ् अन्तर्गतका अन्य खेलहरुमा अजरबैजानको एफ.के.काराबाग, साईप्रसको अपोईल निकोसिया र रुसको सि.एस.के.ए.मस्को पनि विजयी भएका छन् ।

पोर्चुगलको स्पोर्टीङ लिस्बन र रोमानियाको स्टावा बुकारेष्टले भने गोलरहित बराबरी खेलेका छन् ।