साउन ३२, २०७४ मा दोरम्बा हत्याकाण्डको १४ वर्ष पूरा भयो । २१ जना महान जनयोद्धाहरुले अमूल्य जीवनको त्यहाँ बलिदान गरे । गरिखाने श्रमजीवि जनताको सुन्दर संसार निर्माण उनीहरुको महान सपना थियो । मुक्ति वा मृत्युको कसम खाएर जनयुद्धमा होमिएका उनीहरुको भागमा मृत्यु प¥यो, मुक्तिको सपना अधुरै रह्यो । सहिदहरुका शवलाई लाइन लगाएर राखेर पार्टीको झण्डा ओढाउँदै मुठ्ठि कसेर ‘सहिदहरुका अधुरा सपना र अपुरा संघर्ष पूरा गर्नेछौं’ भनेर कसम खाएकाहरु र नाफाको जिन्दगी बाँचेर आएकाहरु साँच्चै व्यक्तिगत नाफाको धन्धामा लागे, सहिदहरुका महान सपनालाई बन्दकी राखेर, रछ्यानमा मिल्क्याएर सहर, सदरमुकाम, महल, दरबारभित्र पसेर ऐस आराम, मोजमस्तीको जीन्दगी रोज्न थाले । उनीहरुले दोरम्बाका मात्रै होइन महान जनयुद्धका सबै सहिदहरुका सपनाहरुलाई साँच्चै हेर्दा हेर्दै ह्वीस्की र वियरसँगै पिउन थाले, चुरोटका धुँवाहरुमा उडाउन थाले, ठेक्कापट्टा, भ्रष्टाचार, कमिसन र तस्करीको साधन बनाउन थाले । करोडौंको गाडीमा सयर गरेर गाडीको धुँवाबाट ती सपनाहरु बाहिर फाल्न थाले ।

हेर्दाहेर्दै जनयुद्धकालमा आफूले नखाई खुवाएका, आफू नसुती सुताएका, सेन्ट्री बसेर सेना पुलिसबाट बचाएका जनताहरुको त्याग, श्रम, पसिना र रगतलाई उनीहरुले भूल्दै गए, चिन्दै नचिन्ने भए । र, उनीहरु आफ्नो निजी स्वार्थका लागि जे गर्न पनि तयार हुँदै गए । श्रमजीवि वर्गका मुद्दालाई पैतालामुनि कुल्चिएर विस्तारवादका दलाल बन्न पुगे । अन्ततः आमूल परिवर्तन चाहने ती महान सहिदहरु, श्रमजीवि जनताहरु, उत्पीडित जनसमुदायहरुका लागि हेर्दा हेर्दै उनीहरु संसदीय राजनीतिको फेरो समातेर प्रतिक्रियावादमा पतन हुन पुगे । बिडम्बना, यसको अगुवाई पनि प्रचण्ड–बाबुरामहरुले नै गर्न पुगे । जसका विरुद्ध मोहन वैद्य‘किरण’हरुले विद्रोहको झण्डा उचाल्ने साहस गरे । र, सहिदका सपना, श्रमजीवि जनताका मुद्दा र उत्पीडित जनसमुदायका आवाजहरुको नेतृत्व गर्दै किरणहरुले क्रान्तिको बाटो रोजे, नयाँ जनवादी क्रान्तिको कार्यभार कसरी पूरा गर्न सकिन्छ, त्यसको मार्ग खोजे, खोज्दैछन् ।  

संसदीय माओवादीहरु पैसामा सहिदका सपनाहरु किनबेच गरिरहेका छन् । आजकल उनीहरु असाध्यै रकमी कुरा गर्छन्, कानुनी, सरकारी माओवादी बनेका छन् । सहिद परिवारलाई दश लाख दिएर सहिदमाथि न्याय गरेको, महान काम गरेको भ्रमको प्रचारबाजी गरिरहेका छन् । के सहिदको मूल्य त्यही १० लाख हो ? मेरा घरपरिवारले म सहिद भए, दशलाख राहत पाउँछन् भनेर जनयुद्धमा होमिएका थिए सहिदहरु ? जुन उद्देश्यका लागि जनयोद्धाहरुले अमूल्य जीवनको बलिदान गरे ती महान उद्देश्य, सपना र आदर्शलाई आज दशलाख पैसामा गुजुल्ट्याउने ? यो कति ठूलो अपराध, कति ठूलो आपराधिक मानसिकता हो ! पैसामा बलिदानको मूल्यलाई ओझेलमा पार्ने ? हिजो सही विचारले सबैथोकको निर्धारण गर्छ भन्नेहरु आज पैसा भएपछि सबैथोक गर्न सकिन्छ भन्ने उन्मादमा देखिएका छन् । पैसाका लागि उनीहरु जुक्का जस्तै भएर राज्यका ढिकुटीमा बुर्कुसी मारिरहेका छन् । कांग्रेस, एमालेसँगै मिलेर उनीहरु हरेक कुरामा भागबण्डा गरेर खान पल्केका छन्, त्यसमा अभ्यस्त भएका छन् । सहिदका मूल्य, सपना र आदर्शलाई यसरी नै बेचेर खाइरहेका छन् ।

 नेपाली समाजको आमूल परिवर्तनका निम्ति रणसमरमा होमिएका जनयोद्धाहरु, जो मृत्युको मुखबाट बालबाल बचेर आए, जो इमान्दार र निष्ठावान छन्, ले आज पैसामा बलिदानका मूल्यहरु बेचिखानेलाई थुकेका मात्रै छैनन्, इतिहासको कठघरामा उभ्याएर तिनीहरुको हिसाबकिताब गर्न तथ्यांकहरु बटुलिरहेका छन् । उनीहरुले दोरम्बा हत्याकाण्डमा जीवन बलिदान गर्ने तत्कालीन जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), टेकबहादुर मगर (विवेक), रक्तिम लगायत २१ जनाको मात्रै होइन आमूल परिवर्तनको युद्ध र आन्दोलनमा बलिदान गर्ने महान योद्धाहरुको सपना, आदर्श र मूल्यलाई संस्थागत र स्थापित गर्न फेरि पनि क्रान्तिका खाका कोर्न लागिरहेका छन् । हिजोका माओवादीहरु आज को कस्ता भएका छन्, हिजो के भन्थे आज के भनिरहेका छन्, जनताले पनि लेखाजोखा गरिरहेका छन् । जनयुद्धको आयाम ठूलो छ, त्यसबाट भाग्न खोज्नेले छुट पाउने स्थिति हुनेछैन । 

प्रतिक्रिया

सम्बन्धित खवर