काठमाडौं । पाकिस्तानको ७० औं स्वतन्त्रता दिवसमा सहभागी बनेर भारतको आकास हुँदै सोमबार साँझ चिनियाँ उपप्रधानमन्त्री नेपाल आइपुगेका छन् । २९ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै आएका उपप्रधानमन्त्री वाङ तीन दिने भ्रमणका लागि नेपाल आएका हुन् । उनको भ्रमण बेल्ट एण्ड रोड इनिसिएटिभ्सको प्रारुपमा ठोस रुपमा अगाडि बढाउने र भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निमाणको उद्देश्यमा केन्द्रीत रहेको चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन यिङले बताए पनि चीन र भारतबीच डोक्लाम विवाद चर्किरहेको बेलामा गरिएको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
क–कसलाई भेटदैछन् वाङले ?
मंगलबार साढे ११ बजेदेखि साढे १२ बजेसम्मको एक घण्टा चिनियाँ उपप्रधानमन्त्री वाङले नेपालका समकक्षी विजय कुमार गच्छदारसँग होटल सोल्टीमै भेटवार्ता गर्ने कार्यक्रम छ । लगत्तै उपप्रधानमन्त्री वाङ तथा उपप्रधानमन्त्रीद्वय गच्छदार र कृष्णबहादुर महराको उपस्थितिमा नेपाल र चीनबीच एक सम्झौतामा हस्ताक्षर हुनेछ । वाङको सम्मानमा समकक्षी गच्छदारले दिउँसो १ बजे दिवाभोजको आयोजना गर्नेछन् ।
मंगलबार दिउँसो ३ बजेबाट पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वाङबीच होटल सोल्टीमा ४० मिनेट भेटवार्ता हुनेछ। त्यसलगत्तै ४ बजेबाट अर्का पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ४० मिनेट भेटवार्ता तय गरिएको छ ।
वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार अपरान्ह भेटवार्ता गर्ने कार्यतालिका निर्धारण गरिएको छ। बुधबार दिउँसो ३ बजेदेखि पौने ४ बजेसम्म प्रधानमन्त्री देउवा र वाङबीच ४५ मिनेट प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता हुनेछ। त्यसैगरी राष्ट्रपति भण्डारीसँग ४ बजेदेखि पौने ५ बजेसम्म ४५ मिनेट भेटवार्ताको समय छुट्टाइएको छ।
प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्नुअघि वाङ बुधबार बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुनेछन् । सो कार्यक्रममा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले वाङलाई स्वागत गर्दै केन्द्रको बारेमा जानकारी गराउने कार्यतालिका छ। बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म वाङ र नेपालका उद्योग–व्यावसायीबीच १ घण्टा नेपालमा चिनियाँ लगानीको सम्भावनाबारे छलफल हुने कार्यक्रम छ । बुधबार साँझ ५ बजे देखि साढे ५ बजेसम्म वाङ चिनियाँ दूतवासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
बिहिबार बिहान ८ बजे चिनियाँ विशेष विमानबाट उपप्रधानमन्त्री वाङ बेइजिङ फर्कने छन् ।
६२ बर्से उपप्रधानमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुन् । चिनियाँ स्टेट काउन्सिलका प्रमुख नेतामध्ये वाङ पनि एक हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको ग्वाङडोङ प्रान्तीय कमिटीका सचिवका रूपमा उनले २००७ देखि २०१२ सम्म काम गरेका थिए । चीनले हालैका वर्षमा नेपालको व्यापार, पर्यटन, कनेक्टिभिटी र उद्योगमा लगानी बढाएको छ ।
सुरक्षा र राजनीतिक मामिलामा पनि चीनको सहयोग बढ्दै गएको छ । चीन र भारतबीच डोक्लाम क्षेत्रमा उत्पन्न विवाद चर्किरहेका बेला चिनियाँ उपप्रधानमन्त्री वाङको नेपाल भ्रमण भएको हो । उनी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले विमस्टेकको बैठकमा सहभागी हुने क्रममा राजनीतिक भेटघाट गरेर फर्केको तीन दिनपछि आएकाले पनि यो भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । उनको भ्रमण लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जाने हुनाले यो भ्रमणलाई महत्वको साथ हेरिएको हो ।





























