पञ्चप्रेतहरूको पार्टीमा फेरी पहिरो गयो । यसपाली भने ठूलै पहिरो गयो । जस्तोसुकै डोजरले पनि सम्याउन नसक्ने गरी टुप्पिदेखि फेँदैसम्म पहिरो गयो । प्रेतपार्टीमा पनि जुट्ने र फुट्ने क्रम निरन्तर चलिरहेको छ । यो पार्टी फुट्नुमा अरू कुनै कारण छैन । केवल खानपिनको लफडाको कारण मात्रै हो । खानपिनको अर्थ बथान मालिक को बन्ने भन्ने हो । बथान मालिक बनेपछि राजकाज आफ्नो कब्जामा आउँछ र बिर्ता फिर्ता भएका खण्डमा मुकुट पहिरिन पाइन्छ भन्ने दाउका कारण यो पार्टीमा निकै लफडा चलिरहन्छ । सुरुमा दुईटाबाट जन्मिएको प्रेतपार्टी कहिले एउटा कहिले दुईटा र कहिले तिन्टासम्म पुग्दै फेरी जुट्दै र फेरी फुट्दै गरेर यतिखेर तिन्टा बनेको छ । सुरुमा जन्मँदा एउटा पार्टी हलोछाप र अर्को गाईछाप थियो । धनकुटे थापाकाजीले हलो जोते । बैतडेल बाबुसावले गाई दुहेर प्रेतपार्टी जन्माएका थिए । केही समयपछि गाईछाप र हलोछाप मिसिएर एउटै महाप्रेत पार्टी बन्यो । जुट्दै र फुट्दै गर्ने क्रममा यतिखेर फेरी फुटेर तिन्टा भएको छ ।
पञ्चप्रेतहरूको पार्टी पञ्चायतका छ थान मुखिया प्रेतहरूबाट बनेको हो । धनकुटे थापाकाजी, (उनलाई छिन्ताङ–पिस्करे काजी पनि भनिन्छ ।), बैतडेल बाबुसाव, सिपाका श्री ३ महाराज, हेटौँडे थापाकाजी, गोर्खाली चारफुटे बाहुन र कान्तिपुरीका डा.बाहुन गरी छ थान पञ्चप्रेतहरूले प्रेतपार्टी जन्माएका थिए । ती मध्ये छिन्ताङे काजी र गोर्खाली बाहुनले ‘स्वर्ग’तिरको बाटो तताइसके भने अरू चारथान जिवितै छन् र बेलाबखत रडाको मच्चाई रहन्छन् ।
केही समय पहिला श्री ३ महाराजको पार्टी र हेटौँडे थापाकाजीको पार्टी जुटेर महाप्रेत पार्टी बन्यो । जुटेदेखि नै लफडा सुरु भयो । अधिवेसन गर्दागर्दै डाक्टर बाहुनले जुटेको पार्टीलाई लोप्पा ख्वाउँदै अर्को बुकुरो बारेर गोठ छुट्याए । बैतडेल बाबुसाव थाकेर श्री ३ महाराज सामू त्वम् शरणम् गरिहाले । टक्र प¥यो हेटौँडे छोटे काजी र श्री ३ महारजको । अनेक जालझेल तिगडम मच्चाएर हेटौँडे काजीले पार्टीको श्रीपेज पहिरिएपछि श्री ३ महाराजलाई हुनसम्मको चोट प¥यो । त्यसपछि उनले लफडा सुरु गर्न थाले । थापाकाजीको बलबुँताले समाधान गर्नै नसक्ने लफडा चलेपछि आखिरिमा श्री ३ महाराजले आफ्ना पूर्खाको बिँडो थाम्दै बिर्ता अलग गर्दै बडाहाकिमको पदवी सम्हाले ।
बुढेसकाल लागेर तिर्थाटन गर्ने बेला पार्टी फुटाउने जङ किन चलाउनुभो भन्ने झर्रोटर्रोको प्रश्नको जवाफ दिँदै श्री ३ महाराजले भनिबक्स्यो ‘हेर्नुस् पत्रकार भाइ पहिलो कुरा त म जङ्गबहादुरको सन्तान हुनुको नाताले चाइन्जो जङ चलाउने कुरा त मेरो कूलधर्म भैहाल्यो । दोस्रो कुरा थापाकाजीको राजनीति कुर्चीनीतिमा बदलियो । उनी जसरी हुन्च कुर्चीको पोइल जानु पर्च भन्न थाले । दलको कुर्ची पनि उनैलाई चाहिने, चाइन्जो सरकारी कुर्ची पनि उनैलाई चाहिने भो । यस्तो नगरौँ भनेको माने पो । त्यसपछि पार्टीमा लफडा चल्न थालेको हो ।’
पार्टी फुटाउनै थ्यो भने पहिला किन मिलेको त उनी त राजा फर्काउन पर्च भन्ने विचारका परे भन्ने प्रश्नको जवाफ दिँदै महाराजले भनिबक्स्यो ‘हो, उनी राजा फर्काउन पर्च भन्ने विचारका हुन्, म चाहीँ हैन । सातसालमा चाइन्जो राजाले हाम्रो सत्ता खोसेको हुनाले म त ज्यान गएपनि राजा फर्काउने पक्षमा त छैन । उनले पनि अब राजाको लफडामा नलागौँ भनेर हामी मिल्या हो । तर उनको कुरै कुझि नसक्नु भयो । चाइन्जो कहिले राजा चाहिन्छ भन्चन्, कहिले हिन्दू धर्म मात्रै हुनपर्च भन्चन् । फेरी तिनै बहुदलबादीहरूसँग मिलेर सरकारको तर चाट्न जान पनि छोड्दैनन् । त्यो पनि आफैँ जान मरिहत्ते गर्चन् । जाने भए यता पार्टीको मुखिया पद छोड त भनेको चाइन्जो त्यो पनि हुन्न भन्चन् । उनकै हिजडा नीतिका कारण अहिले स्थानीय चुनाउमा पनि चाइन्जो नराम्रो हार बेहोर्नु प¥यो ।’
स्थानीय चुनाउमा समानुपातिक नीति नभएकाले हारेको होला नी भन्ने प्रश्नको जावाफ दिँदै महाराजले भनिबक्स्यो ‘चाइन्जो तपाइँले ठिक कुरा गर्नु भो । पैला माननीयको चुनाउमा पनि प्रत्यक्षमा उनले त एउटै सिट जित्या हैन । ऐले समानुपातिक नहुनाले हारियो । चाइन्जो यसमा पार्टी मुखिया हुनुको नाताले उनले जिम्मा लिनु पर्च ।’ पार्टी फुटाएर तपाइँलाई त नाफा भो नि काजीपट्टीका माननीय चोरिबक्सयो भन्दा उहाँले भनिबक्स्यो ‘चाइन्जो यो त हाम्रो पुर्खादेखि चलिआएको सनातनी धर्मनीति हो । हाम्रा जिजुपुर्खा जङ्गबहादुरलाई मार्न षड्यन्त्र गरेका राजाका सेनालाई हाम्रा जिजुले आफ्नो पक्षमा तानेर कोतपर्व चलाएर शासन हत्याएको हो । अहिले पनि मैले चाइन्जो त्यही ग¥या हो । काजीले मलाई राजनीतिबाटै सिध्याउन खोज्या’थे मैले पासा पल्टाइदिएँ ।’ (हाहाहा… ।) निकैबेर हाँसो चल्यो । त्यसपछि हामी बिदावारी भयौँ ।
२९ साउन २०७४