यसो गरौं बाढी, पहिरो र डुवानको विपत्तिलाई रोक्न !

यसो गरौं बाढी, पहिरो र डुवानको विपत्तिलाई रोक्न !

महाभूकम्पको मारमा परेर थिग्रिन नपाउँदै मुलुकमा अर्को प्राकृतिक विपत्ति आइलागेको छ । केही दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुवानमा परी करिब सय जनाको ज्यान गइसकेको छ । कैयौं वेपत्ता अवस्थामा छन् । हजारौं परिवार विस्थापित हुन पुगेका छन् । उद्दार, राहत तथा पुनस्र्थापनाको कार्यमा राज्यको ढिलासास्ती हुँदा कैयौं घाइतेहरु मृत्युको मुखमा धकेलिएका छन् भने स्वस्थ खानेपानीसम्मको अभाव हुँदा अझ ठूलो महामारी फैलनसक्ने स्थिति पनि देखिएको छ । सम्बन्धित पक्षको यतातर्फ ध्यान गम्भीररुपमा जान जरुरी छ । बाढी, पहिरो र डुवानले पु¥याएको धनजनको क्षतिको यकिन तथ्यांक अझै आउन सकेको छैन ।
पहाडमा पहिरोको प्रकोपमा बृद्धि हुनुको कारण केही वर्ष पहिले गएको भूकम्प हो भने मधेशमा डुवानको समस्या बढ्दै जानुको कारण भारतले नेपालको सीमामा एकतर्फी रुपमा बाँधेको बाँध नै हो । सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सहमति नलिई भारतले नेपालको सिमामा पूर्वदेखि पश्चिमसम्म पक्की सडक निर्माण गरेको छ । बाँधभन्दा अग्लो त्यो सडकका कारण पानीको सहज निकास नहुँदा अहिले मधेश डुवानमा परेको हो । जसका कारण ठूलो धनजनको क्षति हुन पुगेको छ । हजारौं परिवार विस्थापित हुन वाध्य हुनु परेको छ । बाँधका कारण हुने डुवानको पीडा त छँदै थियो । अर्कोतिर चुरेको वन विनास, ढुंगा, बालुवा र गिटीको अवैधरुपमा भारततर्फ गरिएको निकासीका कारण भूक्षय हुँदा तराई÷मधेसको भूमि भएर बग्ने सबै खहरे खोला, नदीहरु खेतीयोग्य जमिन, बस्तीभन्दा माथि उक्सिएको छ । यसै कारण वर्षेनी बाढी बस्तीमा पसेर विनाश निम्त्याउने गरेको छ । यही समस्यालाई दृष्टिगत गरी राष्ट्रपति चुरे संरक्षण समिति बनाइएको छ । जसको ०७३÷०७४ को बार्षिक बजेट १ अर्ब ८८ करोड ३८ लाख थियो । तर देखिने र सबैले अनुभूति गर्ने गरी कुनै काम गरेको देखिएको छैन । दिनानुदिन चुरे जंगल मासिदो छ । घाँस, दाउरा, काठ, ढुंगा, माटो, गिटी, बालुवाको अवैध धन्दा चलिरहेकै छ । जसका कारण हरेक वर्षा मौसममा चुरेमा अत्यधिक भूक्षय बढिरहेको छ । फलतः मधेशको खेतीयोग्य जमिन र वस्तीभन्दा खहरे खोला तथा नदी माथि उक्सिएको छ । र, बाढी बस्तीमा पसेर विनाश निम्त्याउने गरेको छ ।

चुरेकै ढुंगा, गिटी र बालुवाको अवैध आयात गरेर भारतले नेपालको सीमामा बनाएको पक्की सडक र सीमामा एकतर्फी रुपमा बनाइएको बाँध नै तराई मधेश डुवानको प्रमुख कारण बनेको छ । पक्की सडक र बाँधका कारण पानीको सहज निकास नहुँदा बर्षेनी मधेसको भूमि डुवानमा पर्दै आएको छ । यो भनेको भारतको नेपालमाथिको ठूलो ज्यादती पनि हो । यसका विरुद्ध सीमामा बस्ने नेपालीहरुले बेला बेलामा विरोध र विद्रोह गर्दै पनि आएका छन् । तर नेपालका शासकहरुले तराई मधेसका जनताले भोग्नुपरेका यी समस्या, तिनको कारण र समाधानबारे भारत सरकारसँग कहिल्यै कुरा गरेन र गर्ने सामथ्र्य राखेन । जनताले विरोध र विद्रोहलाई पनि सत्ता र शक्तिको आडमा दबाउने काम गरियो । ‘मरता तो क्या नही करता’ भनेजस्तै सीमामा भारतीय ज्यादतीका विरुद्ध नेपाली जनताको आक्रोश दिनदिनै चुलिदै गएको छ । राज्यले त्यसको बेलैमा समाधान नगरे स्थिति विष्फोटक बन्दै जाने देखिन थालेको छ ।

राज्य तराई÷मधेशका जनताको यो विपत्ति र कष्टसाध्य जीवनप्रति संवेदनशील छ भने भारतले एकतर्फी रुपमा सीमाका निर्माण गरेको पक्की सडक र बाँध भत्काउने दिशामा भारतीय सरकारसँग तत्काल आवश्यक पहल गर्न आवश्यक छ । सप्तकोशीको व्यारेजका सबै ढोका खोलेर पानीको सहज निकास गराउन नेपाल सरकारले पहल गर्नैपर्दछ । साथै, चुरेको वनविनाश, ढुंगा, गिटी, बालुवाको अवैध कारोबारमा प्रतिबन्ध लगाई वृक्षारोपणमा विशेष जोड दिन आवश्यक छ ।