एजेन्सी । उत्तर कोरियाले अमेरिकी द्वीप गुआममा आक्रमण गर्ने तयारी रहेको सार्वजनिक गरेसँगै अमेरिका झनै आक्रोशित बनेको छ ।
अमेरिकी रक्षा मन्त्री जेम्स माटिसले प्योङयाङले परमाणु हतियार विकास गर्ने क्रम रोक्नु पर्ने अन्यथा उत्तर कोरियाको शासन–सत्ता सिध्दिने र उसले मानवीय क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध भीषण आक्रमण हुन सक्ने चेतावनी दिएको एक दिनपछि अमेरिकी रक्षा मन्त्रीको अर्को चेतावनी आएको हो ।
उत्तर कोरियाले चाहिँ अमेरिकी राष्ट्रपतिसँग ठोस कारण नै नभएको प्रतिक्रिया दिएको छ ।
उत्तर कोरियाले आफ्नो सेनाले अगष्ट महिनाको मध्यावधीसम्ममा प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआमको ४० किलोमिटर क्षेत्रभित्र पर्ने समुद्रमा चार वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्ने योजना बनाइरहेको बताएको छ ।
त्यसअघि अमेरिकी विदेश मन्त्री रेक्स् टिलरसनले उत्तर कोरियाबाट तत्कालै कुनै खतरा नभएको बताएका थिए । संयुक्त राष्ट्रसंघले चाहिँ तनावको कूटनीतिक समाधान खोज्न दुवै पक्षलाई आग्रह गरेको छ ।