क्रान्तिकारी माओवादीहरुबीचको एकता, आजको आवश्यकता

क्रान्तिकारी माओवादीहरुबीचको एकता, आजको आवश्यकता

नेपाल कम्युनिस्ट पार्टी माओवादी २०५१ सालमा निर्माण भएको थियो । यो पार्टी कसैको विशेष योग्यता वा इच्छाले बनेको थिएन । २००६ सालदेखि ०५१ सालसम्म नेपाल कम्युनिस्ट पार्टीभित्र चलेको दुई लाइन सङ्घर्षको परिणाम थियो । अन्तर्संङ्घर्षकै बीच यो पार्टी बन्दा १९ जनाको सामुहिक नेतृत्वको केन्द्रीय समिति बनेको थियो । जसमा प्रचण्ड महासचिव थिए भने अन्यमा किरण, बादल, कान्छा बहादुर, आलोक, दिवाकर, कञ्चन, बिमल, अभ्यास, पम्फा, अनिल, दिपेन्द्र शर्मा, मात्रिका यादव, शितल कुमार, कमल प्रसाद, अनल आदि थिए । हाल आलोक र दिवाकरको मृत्यु भैसकेको छ, दिपेन्द्र शर्मा बेपत्ता छन् भने अनलले नेतृत्वदायी भूमिका छाडेका छन् । यसै नेतृत्वले देशमा जनयुद्ध सुरु गरी दश वर्षसम्ममा नेपाललाई उथलपुथल पारेको थियो । यो नेतृत्वपंक्तिमध्ये १५ जना अझै पनि माओवादीका विभिन्न समुहमा कृयाशिल नै छन् ।

तत्कालिन समयमा पार्टी विभाजन भएको थियो । संसदीय व्यवस्थाप्रति जनताको मोह थियो । देशभर पार्टी संगठन पनि थिएन । नेपालमा भएका सबै पार्टी संसदीय व्यवस्थालाई संसारको उत्कृष्ट व्यवस्था भन्दै एकजुट थिए । पार्टीसंग आर्थिक भौतिक केही साधन थिएन । यस्तो पार्टीले सशस्त्र जनयुद्ध गर्ने घोषणा गर्नु एक किसिमले हाँस्यास्पद देखिन्थ्यो । क्रान्तिका लामा–लामा बहस गर्ने आफूलाई क्रान्तिकारी हौं भन्नेहरुले गुलेली चलाउन नजान्नेले जनयुद्ध गर्ने अरे भनेर हाँसी मजाक गर्दथे । यस्तो अवस्थाको पार्टीले एक्काइसौं सताब्दीको उत्कृष्ट क्रान्ति कसरी ग¥यो ? यस क्रान्तिले संसारभरका प्रतिक्रियावादीलाई कसरी हल्लायो ? अमेरिका लगायत संसारका प्रतिक्रियावादी देशहरुको समेत निन्द्रा हरण कसरी ग¥यो । नेपालका सबै प्रतिक्रियावादी, सेना, पुलिस, भिजलान्तेलगायत विश्व प्रतिक्रियावादी देशका सेना, पुलिसले प्रतिआतङ्कवाद बिरुद्ध तालिम भन्दै नेपालमा अड्डा जमाउँदा पनि युद्ध ज्यमितीय हिसाबले कसरी बढ्यो ? संसारभरबाट प्रतिआतङ्कवाद विरुद्ध भन्दै आर्थिक सहयोग, सैनिक सहयोग र हातहतियार लगायत मुस्ताङ्क अपरेशनजस्ता कार्यक्रमहरु सञ्चालन गर्दा पनि माओवादी क्रान्ति किन नियन्त्रण गर्न सकेनन् ? किन दशौं हजारको बलिदानी हुँदा पनि जनसेना र जनता पछि हटेनन् ? जनयुद्ध सुरु गर्दा दुईटा बन्दुकसम्म जम्मा गर्न गरेको प्रयासलाई बहादुरी ठान्ने तपाईंहरुलाई कालिकोटका निशस्त्र महिलाले सशस्त्र फोर्सको बन्दुक खोसी किन दिए । सामन्ती उत्पीडनमा जकडिएका महिलाहरुले जेलब्रेक गरेर क्रान्तिलाई उचाइमा पु¥याए किन कसरी ? तीस, तीस हजार जनसेना निर्माण भए, कसरी जनसरकारहरु बने ? कसरी जातीय विभेद खतम भए ? यी सबै क्रियाकलापहरु तपाईहरुमा भएको ईश्वरीय शक्तिले भएको ठान्नु हुन्छ ? तपाईहरुमध्ये दुई चार जनाको परिवारबाहेक सबैको परिवार सकुशल छ । दशौं हजार परिवारले आफन्त गुमाए । हजारौं परिवारका सदस्य बेपत्ता छन् । यस्तो अवस्था हुँदासम्म पनि जनता क्रान्तिमा अघि बढिरहेकै थिए । सेना पुलिसको क्याम्पमा आक्रमण गरेकै थिए । मध्य दिनमै बुटवलको खैरेनी र कृष्णभिरमा जनसेना लडेको टेलिभिजनले समेत देखाउन बाध्य हुने समय आएको होइन ?

यस्तो क्रान्तिको ज्वारभाटा प्रचण्ड वा बाबुराममा भएको चमत्कारी शक्ति विचार÷दर्शनले भएको थिएन । पार्टीमा लामो अन्तर्संघर्षले नेपालको वस्तुस्थितिमा प्रयोग हुन सक्ने मालेमाको सिद्धान्त प्राप्त भएको थियो । पार्टीले राम्रो वर्ग विश्लेषण गर्न सफल भएको थियो । जनतालाई देशमा भएका सामन्तवर्ग, दलाल, पुँजीपति वर्ग, नोकरशाही वर्ग चिनाउन सफल भएको थियो । यस वर्गलाई भारतीय विस्तारवादबाट प्रत्यक्ष सहयोग सहायता भएको कुरा देखाई दिएको थियो । भारतले महेशपुर, सुस्ता कालापानी आदि गरी ६३ स्थानमा सिमा अतिक्रमण गर्दा देशका प्रतिक्रियावादीहरुले विरोध नगरेको कुरा बुझाएको थियो । यिनै प्रतिक्रियावादीले कोशी, गण्डकी महाकाली पश्चिम सेती, अपर कर्णाली आदि सन्धि गरी नेपालको जलस्रोत भारतलाई सुम्पेर कमिशन लिएको बुझाएको थियो । जुन कुरा जनमोर्चाका नाममा सरकारलाई दिएको ४० बुँदे कार्यक्रममा स्पष्ट बताएको थियो । सामन्तवादले सिर्जना गरेको जातीय असमानता, क्षेत्रीय रुपमा रहेको असमानता, लैङ्गीक रुपमा रहेको असमानता देखाइदिएको थियो । पुस्तौं पुस्तादेखि कमैया, हली, गोठाला जीवन बाँच्न वाध्य सुकुम्बासी गरिवहरुलाई उज्ज्वल भविष्यको किरण देखाइदिएको थियो । यी सबै समस्याको समाधान जनयुद्ध बेगर प्राप्त गर्न सकिदैन भन्ने विश्वास जनतामा जगाउन सफल भएको थियो । पार्टीले एक पटक हतियार उठाई सकेपछि यी माथिका सबै विभेद अन्त नभएसम्म सीमित उपलब्धिमा वार्ता सम्झौता गरी जनतालाई धोका दिइने छैन भनि प्रतिबद्धता समेत गरेको थियो । सत्ता प्राप्त भएपछि पनि मुख्य नेतृत्व सरकारमा जाने छैन यसले निरन्तर क्रान्तिलाई अघि बढाइरहने छ र नेपाललाई समाजवाद, साम्यवादमा पु¥याउन कोशिस गरिरहने छ भन्ने थियो । त्यसैले जनता आफ्नो मुक्तिका लागि माओवादीमा गोलबद्ध भएका थिए ।

क्रान्तिको मध्य चरणमा आइपुग्दा नयाँ नेतृत्वको पनि विकास भएको थियो । साविक केन्द्रीय समितिमा युवा पुस्ताबाट कृष्णबहादुर महरा, वर्षमान पुन, नेत्रविक्रम चन्द, लोकेन्द्र विष्ट, टोप बहादुर रायमाझी, शक्ति बस्नेत, देबेन्द्र पौडेल, हरिबोल गजुरेल, दिनानाथ शर्मा, हितमान शाक्य, हितराज पाण्डे, नन्दकिशोर पुन, कुलबहादुर के.सी., लेखराज भट्ट, इन्द्रमोहन सिग्देल, हिसिला यमी, धर्मेन्द्र बास्तोला, गोपाल किराँती, राम कार्की, खड्ग बहादुर विश्वकर्मा गरी ३५ जनाको केन्द्रीय समिति पनि बन्यो । तर यी युवाले माक्र्सवादी तरिकाले एकता, सङ्घर्ष, रुपान्तरणका हिसाबले आफुहरुलाई पार्टीमा स्थापित गर्न सकेनन् । पार्टीमा जब प्रचण्डपथको एकल नेतृत्व सुरु भयो, उपल्लो नेतृतवमा गुटबन्दी सुरु भयो । बुर्जुवा डिग्रीधारी बाबुरामले आफूलाई केन्द्रविन्दुमा राखेर हेर्ने गर्दथे । यिनी भारतको सहयोगबिना क्रान्ति सफल हुँदैन भन्ने मान्यता राख्दथे ।

दोस्रो राष्ट्रिय सम्मेलन, किरण गौरबको गिरफ्तारीको घटना, फुन्टीवाङ्ग बैठक, लावाङ्ग बैठक, चुनवाङ्ग बैठक, १२ बँुंदे दिल्ली सम्झौता आदि काण्ड घटनाहरुको विवेचना र मूल्याङ्कन इतिहासले गर्नेछ तर आम पार्टी कार्यकर्ता र जनताले देखेको माओवादी र यसका गतिविधि भूमिगत काल र ०६२÷०६३ पछिको खुला कालको नै हो ।

०६२÷०६३ मा पार्टी खुला हुँदा यही ३५ जनाको नेतृत्व नै थियो तर नेतृत्व तीन गुटमा विभाजन भएको रहेछ । ०६२÷०६३ देखि ०६९ सम्मको काल माओवादी पार्टीको सङ्घर्ष र फुटको काल हो । यसै समयमा ०६४ सालमा संविधान सभाको चुनाव भयो । समावेशी, समानुपातिक रुपमा माओवादीका नेता कार्यकर्ताले २४० सिटमध्ये १२० सिट जित्न पनि सफल भए । माओवादीको आफ्नै सेना सरकारी खर्चमा रहेको थियो । लाखौं लाख जनता समर्थक बनेका थिए । माओवादीले युद्धमा करार गरेका दुश्मन राजा, कांग्रेस, एमाले प्रतिरक्षामा पुगेका थिए । माओवादीकै कारण २५० वर्षदेखि ईश्वरीय शक्तिको रुपमा रहेको सामन्तवादको नायक राजतन्त्रका पात्र राजा ज्ञानेन्द्र राजगद्दि छाडी नागार्जुन जङ्गलतर्फ लागेका थिए । संसदीय व्यवस्थाका मसिहा मानिने कांग्रेस, एमालेले ३७, ३३ सिटमा खुम्चिएका थिए । त्यसमा पनि मुख्य नेतृत्ववाला आउन सकेका थिएनन् । सरकार माओवादीकै बनेको थियो । अब यो सुखद्काल सम्झनामा मात्र रह्यो ।
राजा भागेकै थियो, संसदीय पार्टीहरु म्याऊ—म्याऊको अवस्थामा पुगेका थिए । गाउँ शहर बजार जताततै माओवादी हैकम थियो । यसलाई सदुपयोग गरेर देशलाई अघि बढाउने समय आएको थियो । तर पार्टीभित्र नेतृतवमा तीन गुट बनेको रहेछ । समग्रको त्याग तपस्या बलिदानीबाट भएको यस्तो परिस्थिति निर्माण बुर्जुवा बाबुरामले मेरै प्रस्तावले बनेको भन्दा रहेछन् भने प्रचण्डले मेरै प्रस्तावले बनेको भन्दा रहेछन् । क.किरणले क्रान्तिलाई लगातार अघि बढाउन कोशिस गरिरहेका थिए । माओवादीकै यही कालमा धन्न संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता परिवर्तनहरु भए । यदि तत्काल यी समेत स्थापित नभएको भए पछिल्लो कालमा केही पनि प्राप्त नहुने रहेछ ।

माओवादी पार्टीभित्र क्रान्तिलाई लगातार अघि बढाउनु पर्दछ भन्ने मत बहुमतमा नै थियो । जब पार्टी खुला भयो, पार्टीमा जनयुद्धका विरोधी बुर्जुवा सुकिला मुकिलाहरुको प्रवेश सुरु भयो । जसमा संस्थागत रुपमा जनयुद्ध विरोधी नारायणकाजीको एकता केन्द्र मसाल गु्रपले प्रवेश गरी पार्टीको नाम नै परिवर्तन गरी एकीकृत माओवादी बन्न पुग्यो । त्यसपछि यस पार्टीको दुर्दिन सुरु भए । अब पार्टी केन्द्रीय समिति ३५ जना होइन, सयौंको भयो । प्रचण्ड र बाबुराम बिच सरकारको नेतृत्वका लागि प्रतिक्रियावादीको चाकडी कस्ले बढी गर्ने भन्ने प्रतिस्पर्धा नै भयो । धोबिघाटको सानो गल्ति कमजोरीले बाबुराम प्रधानमन्त्री बन्न पुगे । उनले भारतसंग बिप्पा सम्झौता गरे, जनसेना बिघटन गरे, सुकुम्वासी वस्तिमा डोजर चलाए, हुँदा खादाको आफ्नो एक किसिमले बहुमतको संविधान सभा नै विघटन गरे । क्रान्तिको रक्षाका लागि भन्दै पहिलाको ३५ जनाको केन्द्रीय समितिका मोहन वैद्य, सी.पी. गजुरेल, राम बहादुर थापा, देवप्रसाद गुरुङ्ग, हरिभक्त कंडेल, हितमान साक्य, कुलबहादुर के.सी. नेत्रबिक्रम चन्द, पम्फा भूषाल, धर्मेन्द्र वास्तोला, नारायण प्रसाद शर्मा, इन्द्रमोहन सिक्देल, खड्गबहादुर विश्वकर्मा आदिले छुट्टै भेला गरी नेपाल कम्युनिस्ट पार्टी – माओवादी गठन गर्न पुगे । यसरी पार्टी बिभाजन हुन पुग्यो । क्रान्तिकारीहरु पार्टीबाट बाहिरिएपछि एमाओवादीको महाधिवेशन भयो । यस महाधिवेशनले जनवादी क्रान्ति पुरा भएको, अब समाजवादी क्रान्ति गर्ने भन्दै क्रान्तिको बाटो नै फे¥यो । प्रचण्ड र बाबुरामको खिचातानीमा कर्मचारी खिलनाथलाई नेतृत्व सुम्पी दोस्रो संविधान सभाको चुनाव भयो । यसलाई माओवादीले बहिस्कार ग¥यो, (एमाओवादी) ले २६ सिट मात्र जित्न पुग्यो । न ड्यास माओवादीले यसै चुनाव बहिस्कारबाट क्रान्ति सुरु गर्न सक्यो, न एमाओवादीले आफ्नो वर्चश्व बनाउन सक्यो । भद्रगोल हिसाबले संबिधान पनि बन्यो । किरणले क्रान्ति गर्न नसकेको भन्दै नेत्रविक्रम चन्दले पहिलो नेतृत्वका खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र वास्तोलालाइ लिएर छुट्टै पार्टी गठन गरे । रामबहादुर, पम्फा, हितमान, कुलबहादुर, देव गुरुङ्ग, नारायण प्रसाद आदि एमाओवादीमा फर्के । हाल अघिल्लो ३५ जनामध्ये ५ जना नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)मा बाँकी रहेका छन् । देवेन्द्र पौडेल, हिसिला यमी, बाबुरामबाहेक सबै माओवादी केन्द्रमा छन् । हाल ने.क.पा. (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठकले माओवादीबीच एकताको प्रस्ताव ल्याएको छ । त्यस्तै माओवादी केन्द्रले पनि केन्द्रीय समितिको बैठकबाट माओवादी पार्टीबिचको एकताको प्रस्ताव ल्याएको छ । सम्भवतः नेत्रविक्रम चन्दले पनि एकताको प्रस्तावलाई अस्विकार गर्दैनन् होला । अर्कोतर्फ बाबुराम नयाँ शक्तिको नाममा कम्युनिस्ट आन्दोलनबाटै भागेकाले उनका बारेमा केही भन्नुपर्ने अवस्था छैन । अब के साँच्चै होला त माओवादी नामधारी सबै पार्टीबिच एकता ? रामबहादुर बादल लगायत मणी थापा, मातृका यादव सबै जम्मा गरी प्रचण्डले माओवादी केन्द्र गठन गरेका छन् । माओवादी केन्द्र गठन गर्दा केन्द्रीय समिति नै चार हजारको बनेको छ । अझ यसले माओवादी नाम मात्रको पनि क्रान्तिकारी शक्ति नेपालमा नरहोस भन्ने दुरासयले यो प्रस्ताव ल्याएको हुन सक्दछ । प्रचण्डलाई लाल गद्दार भन्दै पार्टीबाट बाहिरिएका रामबहादुर, देव गुरुङ्गहरु आएकै छन् । समाजवादी क्रान्ति गर्न कांग्रेससंग चुनावी तालमेल भएकै छ । अब यो भन्दा पतन हुने कुनै ठाउँ अझै छ र ? भारतीय विस्तारवादको चाकडी चाप्लुसी गरी राष्ट्रिय स्वाधीनतालाई खत्तम पार्न अब के बाँकी छ ? उनीहरु वर्गसंघर्ष परित्याग गरेर वर्ग समन्वयको बाटो हिँडेका छन् । कांग्रेसभन्दा पर गएर प्रतिक्रियावादी कित्तामा पुगेको माओवादी केन्द्रसँग क्रान्तिकारी माओवादीको एकता त सहकार्यको पनि सम्भावना देखिन्न ।

क्रान्तिकारी माओवादीले एकता गर्न खोजेका माओवादीहरु तिनीहरु हुन्, जसले अझै जनवादी क्रान्तिको कार्यभार पुरा भएको छैन, सत्ता बल प्रयोगबाट मात्र प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्दछन्, जो निरन्तर क्रान्तिको बाटो अवलम्बन गर्न राजी हुन्छन्, जसले यस संसदीय व्यवस्थालाई अस्विकार गर्दछन् आदि शर्तहरु छन् । माओवादी केन्द्र धेरै परगइसकेको छ । यसले संसदीय व्यवस्थालाई नै मार्गनिर्देशक सिद्धान्तका रुपमा लिएको छ । अब क्रान्तिको आवश्यकता छैन, शान्तिपूर्ण तरिकाले समाजको परिवर्तन गर्न सकिन्छ, अब कोही पनि मित्र दुश्मन छैनन्, आर्थिक विकास गर्न जो जो राजी हुन्छन्, उसैसंग सहकार्य र एकता हुन सक्दछ भन्ने मान्यता राख्दछ । माओवादीको अर्को घटक नेत्रविक्रमको छ, यसले हालसम्म बलप्रयोगको सिद्धान्त, संसदीय व्यवस्थाको बिरोध आदि गरिरहेको छ । तर यसले पनि समाजवादी क्रान्ति गर्ने, एकीकृत क्रान्तिको कार्यदिशा आदि भन्दै आएको छ । संसदीय व्यवस्थामा पतन नभएसम्म यस समुहसंग वार्ता छलफल सहकार्य सम्भव छ ।

यस बाहेक माओवादी क्रान्तिमा लागेको ठूलो जनसमुहहरु अहिले पर्दा पछाडि रहेको छ । माओवादीले लुटपाट, हत्या हिंसा गरेर आफ्नो जीवन धान्दछन्, यिनीहरुले आतङ्क सिर्जना गर्नेछन् भनेर प्रतिक्रियावादीले भनेजस्तो माओवादी मतका जनताले गरेका छैनन् । बरु सुंगुर बङ्गुर पालेका छन्, कतारको खाडीमा बसेका छन्, अपवादबाहेक एक शहीद, बेपत्ता परिवार पनि एमाले कांग्रेसमा गएका छैनन्, माओवादी केन्द्रले कांग्रेसलाई भोट हाल्न दिएको निर्देशन जनताले पालना गरेका छैनन्, अझै क्रान्ति पर्खिएर बसेका छन्, त्यसैले माओवादी एकता आजको आवश्यकता भएको छ । माओवादी व्यक्ति, विचार समुह आदिसँंगको क्रान्तिकारी एकताविना क्रान्ति दिवासपना मात्र हुन जानेछ । वर्गसंघर्षको प्रक्रिया अगाडि बढ्दै जाँदा सच्चा कम्युनिष्ट क्रान्तिकारी तथा माओवादीहरुबीच एकता र ध्रुवीकरणले साकार रुप लिदै जानेछ ।