७० को दसक सुरु हुनुभन्दा अघि नेपाली श्रम बजारमा मजदुरहरुको प्रभावकारी हस्तक्षेप र आन्दोलनमा जुन गति थियो त्यसपछिका यी वर्षहरु मजदुर आन्दोलन सिथिल, गतिहिन र निष्प्रभावि बन्दै गइरहेको देखिन्छ । खासगरी माओवादीद्वारा नेतृत्व गरिएको महान जनयुद्व र सामन्तवादी राज्य सत्ताका विरुद्ध संसदवादी राजनैतिक शक्ति समेतको सहभागितामा उठेको जनआन्दोलनले मजदुर आन्दोलनमा समेत नयाँ जागरण पैदा गरेको थियो । मुख्यतः माओवादीद्वारा नेतृत्व गरिएको महान जनयुद्धको आँधीमय वर्षहरुले सिर्जना गरेको जागरण स्वरुप मजदुरहरुमा समेत जागृती पैदा गरेको थियो । त्यहि जनयुद्ध र जनआन्दोलनको बलमा सामन्तवादी राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाले मजदुरहरुमा समेत उद्देलन पैदा गरेको थियो । फलस्वरुप पूजिपतिवर्गको जातोमुनि पिल्सिएर रहेका मजदुरहरुको ठूलो हिस्सामा मजदुरहरुका हक अधिकार प्राप्तिका अन्तर निहित चाहनाहरुलाई प्रस्फुटन हुने परिवेस पैदा भएको थियो । फलतः देशका ठुला शहरहरु, औधोगित क्षेत्र तथा कलकारखानाहरुमा मजदुरहरुका जवरजस्त आन्दोलनहरु विकास भएका थिए । मजदुर आन्दोलनको प्रभावले देसी तथा विदेशी प्रतिकृयावादी पुजिवादी शक्तिहरुमा समेत आतंकको तरंग सिर्जना हुन पुगेको थियो । एकातिर मजदुरहरुमा नयाँ राजनैतिक व्यवस्थाको स्थापनाको चाहनाले उद्देलित गरिरहेको थियो भने अर्काेतिर प्रतिकृयावादी पुँजीवादी तत्वहरु मओवादी शक्ति र त्यसको गुरुत्वले आकर्षित मजदुरहरुको जागरण र सक्रियताबाट भयग्रस्त हुन पुगेका थिए ।
७० को दसक सुरु नहुदै माओवादी आन्दोलनका मूल नेतृत्वमा पैदा हुदै गएको दक्षिणपन्थी, यथा स्थितिवादी धारले पार्टी कब्जा गरेर संसदीय दलाल तथा नोकरशाही पुजिवादी राजनैतिक व्यवस्थालाई आफ्नो राजनैतिक गन्तव्य बनाएर क्रान्ति र परिवर्तनको लक्ष्यबाट विमुख हुन पुगीसकेको थियो । फलतः जनवादी क्रान्तिको झण्डालाई निरन्तर खडा गर्ने क्रान्तिकारी माओवादीहरुको एउटा हिस्साले विद्रोह गरेर अगाडी बढ्ने संकल्पलाई अगाडी बढायो । परिणामतः मजदुर आन्दोलनमा समेत त्यसको असर पर्न गई फुट पैदा भयो । चाहनाका दृष्टिले परिवर्तनकारी हुँदाहुदै पनि चेतनाका दृष्टिले मजदुरहरुमा रहेका सिमाहरुका कारण मजदुरहरुको एउटा हिस्साले दक्षिणपंथी राजनैतिक नेतृत्व तथा अभिजतिय ट्रेड युनियनका नेताहरुद्वारा सिर्जना गरिएका भ्रमपूर्ण नितिहरुलाई बुझ्न सकेन मजदुरहरुमा रहेको सिमा कमजोरीबाट फाइदा उठाएर मजदुर आन्दोलनका अगुवाहरुले संगठनलाई सिमित पेशागत मागहरु मात्र उठाउने अर्थवादी ट्रेड युनियनको स्तरमा गिराउने प्रयास गरे । फलतः जनवादी राजनैतिक लक्ष्य बोकेको मजदुर आन्दोलनको एउटा ठुलो समुहको पतनको यात्रा शुरु भयो ।
आजका दिनसम्म आउँदो माओवादी आन्दोलनको र क्रान्तिकारी युद्धको विरासत बोकेको मजदुर आन्दोलनको एउटा हिस्सा यथास्थितिवादी कांग्रेस एमाले सम्वद्ध मजदुर संगठन जस्तै दलाल पुँजीपति वर्गकै कठपुतलीका रुपमा बदलिइसकेका छन् । अनि ति संगठनहरु आफ्नो अस्तित्व कायम राख्नका लागि मजदुरहरुको क्रान्तिकारी चेतनालाई भुत्ते पार्दै परिवर्तनको प्रवाहमा अवरोध सिर्जना गर्ने कार्यका लागि क्रियाशिल रहेका छन्। खासगरी विदेशी दाताहरुको आर्थिक सहायतामा वर्गिय आन्दोलनलाई वैचारिक रुपले हत्या गर्ने रणनैतिक योजना स्वरुप आफ्ना नारा र अभियान अगाडि बढाइरहेका छन् । लैंिगक विभेद, बालश्रम, कार्यक्षेत्रमा अनुशासन, मजदुर मैत्री वातावरण, यस्तै यस्तै दलाल पुँजीपतिवर्गले तयार पारिदिएका परियोजनाहरु सञ्चालन गरिरहेका छन्। यसका लागि उनीहरुलाई आइ.एल.ओ÷युनि जस्ता अन्तराष्ट्रिय संघ संस्थाद्वारा लगानी भैरहेको छ । मजदुरवर्गको हितको मुद्दा उठाएर उनीहरुका क्रान्तिकारी चेतनाको हत्या गर्नु यी संस्थाहरुको ध्यय रहेको कुरा आजको दुनियाँमा सबै जानकार छन्। यो सानो लेखमा दलाल पुँजीपतिवर्गको मजदुर आन्दोलनका मुट्टिभर नेताहरुलाई प्रभावमा पारेर सिंगो मजदुर आन्दोलनलाई कसरी दिशाहिन बनाउँछ भन्ने कुराको व्याख्या सम्भव छैन अपितु महान जनयुद्धबाट आएको माओवादीकै एउटा हिस्सा र त्यसको मजदुर नेतृत्व दलाल पुँजीपति वर्गद्वारा कसरी परिचालित हुदै पतन हुन्छ भन्ने कुरा हेर्न धेरै टाढा जानु पर्दैन । तिनीहरुले अगाडि सार्ने नारा र तिनका जिवन पद्धति र विदेश यात्राको सूचि हेरे पुग्दछ । त्यसका वावजुत जनवादी क्रान्तिको माध्यमद्वारा मजदुर किसान एकतामा आधारित राज्य व्यवस्था स्थापना गर्ने र क्रान्तिद्वारा मजदुर वर्गको राजनैतिक र पेशागत अधिकारहरु रक्षा गर्ने क्रान्तिकारी मजदुर आन्दोलनको एउटा सशक्त धारा खडा भैसकेको छ र यसले श्रमिकवर्गको आशा र अपेक्षाहरुलाई मर्न दिएको छैन ।
हजारौ हजार मजदुरहरुका विचमा रहेर फेरी पनि मजदुर संघर्षको प्रवाह सिर्जना गर्ने प्रयत्न गरीरहेको छ । हामीले विश्वस्त भएर भन्न सक्छौ कि क्रान्तिकारी मजदुर आन्दोलनको विकास र मार्गचित्र कोर्न हामी सफल हुनेछौं । उदारीकरण र विश्वव्यापीकरणको नारा लिएर संसारभर श्रमिक वर्गको श्रमको दोहन गरेर अगाडि बढेको साम्राज्यवाद तथा दलाल पुँजीपतिवर्ग तथा तिनीहरुको आड भरोसामा टिकेको नेपालका नोकरशाही पुँजीपति वर्गका विरुद्ध सचेत संघर्ष गर्न सक्षम र जझारु संगठनको सुदृढीकरण विकास देशको तत्कालिन आवश्यकता भैसकेको कुरालाई आत्मसाथ गर्दै कथित दाता र विदेशि प्रतिकृयावादी वर्गले फलको हालिरहको नक्कली नारा होइन नेपाली श्रमिक वर्गले देशका मजदुरहरुले भोगिरहेको सबैखाले शोषण दमनका विरुद्ध संघर्ष गर्दै आफ्नै खुट्टामा उभिएर चल्न सक्ने एउटा जुझारु मजदुर आन्दोलनको श्रृष्टि गरौं !