मोर्गन इन्जिनियरिङ कलेजमा क्रान्तिकारीद्वारा तोडफोड

मोर्गन इन्जिनियरिङ कलेजमा क्रान्तिकारीद्वारा तोडफोड

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बसुन्धारास्थित मोर्गन इन्जियिरिङ कलेजमा आइतबार बिहानै तोडफोड गरेको छ ।

कलेजमा इन्जिनियरिङ अध्ययन अध्यापनका लागि आवश्यक भौतिक पूर्वाधार बिना नै नयाँ भर्ना लिन सुरु गरेपछि आफूहरु कारबाहीमा उत्रिन बाध्य हुनुपरेको सो संगठनले दाबी गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत रहेको सो कलेजमा विद्यार्थीहरुका लागि भौतिक पूर्वाधार तयार गर्नका लागि पटक पटक ध्यानाकर्षण गराइएको तथा विश्व विद्यालयले समेत भौतिक पूर्वाधार निर्माणका लागि निर्देशन दिएपनि कलेजले अटेर गरेको क्रान्तिकाले जनाएको छ ।

इन्जिनियरिङ पढाउनका लागि सो कलेजमा आवश्यक भवन, ल्याब प्रयोगात्मक अभ्यास गर्ने फिल्डलगायतको पूर्वाधार तयार गरेर मात्रै नयाँ भर्ना लिन क्रान्तिकारीले माग गर्दै आएको थियो ।

यद्यपि त्यसका बाबजुद कुनै मागको सुनुवाई नै नगरी नयाँ भर्ना प्रक्रिया सुरु गरेपछि आफूहरु भौतिक कारबाहीमा उत्रिएको र आगामी दिनमा पनि भौतिक पूर्वाधार निर्माणका ध्यान नदिइएमा थप संघर्षमा उत्रिने र त्यसको जिम्मेवार क्याम्पस नै हुने सो संगठनले चेतावनी दिएको छ ।