के हो विश्वदृष्टिकोण ?

के हो विश्वदृष्टिकोण ?

विश्वदृष्टिकोण दर्शनशास्त्रको आधारभूत प्रश्न हो । सिद्धान्त, विचार र व्यवहारिक क्रियाकलापको तालमेल र त्यसको दिशाबोध हो विश्वदृष्टिकोण । यो मानिसहरूको दार्शनिक, वैज्ञानिक, आर्थिक, राजनीतिक, सौन्दर्यात्मक तथा नैतिक विचारको अन्योनक्रियाको समुच्चयको निस्कर्ष हो । दर्शनमा विज्ञान र मानवीय क्रियाकलापबिचको अन्तरसम्बन्धमा बोधपक्ष सधै उघ्रेको हुन्छ । मानिसको आफ्नो चेतनाले काम गर्न थाले पछि ऊ यी भौतिक वस्तुहरूबाट नै आफ्नो जीवन रक्षा गर्दै, आपूmलाई पहिलेको भन्दा बढी चेतनशील र सक्षम बनाउदै आएको छ । यो संसारलाई हेर्ने, बुझ्ने र फेर्ने विश्वदृष्टिकोण हो । आदिम साम्यवाद पछि दुई भागमा बाँडिएको छ विश्वदृष्टिकोण भौतिकवादी र अध्यात्मवादी ।

मानिसहरू जब पुनर्उत्पादनमा संलग्न भए तब उनीहरूले आफ्नो उत्पादनलाई सङ्ग्रह मात्र गरेनन् त्यसको तुलनात्मक अध्ययन पनि गरे । यस्तो अध्ययन अनुभविक, तार्किक हुदै प्रायोगिक पद्धतिमा विकास भयो । उत्पादन भन्नाले खाने कुरामात्र नभई बाँच्न आवश्यक पर्ने, बस्न, लाउन र सुरक्षा (शत्रु र जनावर मात्र होइन किरा, झारपात, पानी, हावा आदिसँग बच्न) को क्रममा सुनेका, देखेका र भोगेका व्यवहारबाट यस संसारमा भएका घटनाक्रमहरूलाई हेर्ने, बुझ्ने र बुझेका कुराहरूलाई बुझाउने र आपसमा अन्तरक्रिया गर्ने र राम्रोलाई अझ राम्रो र नराम्रोलाई त्याग्दै, आफ्ना अनन्त आवश्यकता पुरा गर्न निरन्तर उत्पादनका लागि सङ्घर्ष मात्र नभएर आपसी सम्बन्धका बारेमा पनि अध्ययन हुन थाल्यो ।

World in eye

मानिस कबिला समुदायमा बसुन्जेल व्यक्तिगत कुरामा त्यत्ति धेरै चासो राख्दैन थिए । सबै कुराहरू सामुदायिक रूपमा नै प्रयोग हुन्थ्यो । क्षमता अनुसारको काम र आवश्यकता अनुसारका वस्तु तथा सेवा दिन्थे । युद्धमा समातिएका मानिसहरूलाई नमारी दासको रूपमा प्रयोग हुन थाले पछि परिवारको प्रादुर्भाव भयो । परिवार भए पछि आफ्नो परिवारको लागि बढी उपभोग र सञ्चय गर्ने प्रवृत्तिको विकास भयो । त्यसको परिणाम हुने र नहुने अर्थात् गरी खाने र बसी खाने वर्गमा समाजको विकास भयो । यही नै वर्ग सङ्घर्षको सुरुवात थियो । गरी खानेहरूले लौकिक संसारलाई नै प्राथमिक वस्तुको रूपमा स्वीकार गरे । बसी खानेहरूले यही हामीले देखेको वस्तुबाट मात्र संसारको कहाँ सिर्जना भएको हो र यो सिर्जना गर्ने अलौकिक शक्ति छ त्यसले नै यो संसारको रचना गरेको हो भन्दै अनकौ मिथकहरूको सिर्जना गरे ।

मानिसहरूको विचार कुन रूपमा विकास भएर आयो भन्ने कुराको आधार खोज्दा चाहे पूर्व होस् वा पश्चिम अहिलेसम्म प्रायः सबैभन्दा पुरानो ग्रन्थ वेदलाई मानिन्छ । सर्वेपल्लि राधाकृणन लेख्दछन् “मानिसको मस्तिष्कमा कुनै विषयको बारेमा बुझ्ने, खोजतलाश गर्ने, एक स्वभाविक प्रवृत्ति हुन्छ । ऊ हरेक कुरालाई स्वतः स्वीकार गर्न तयार हुदैन । ‘रातमा सूर्य कहाँ हुन्छ ?’ ‘दिनमा तारा कहाँ हराउँछन् ?’ ‘सूर्य तल किन खस्दैन ?’ ‘दिन र रात कुन पहिले आउँछ ?’ ‘हावा कहाँबाट आउँछ र कहाँ जान्छ ?” आदि प्रश्न वैदिक कालमा नै उठेको थियो । यी कुराहरू वेदका ऋचाहरूमा उल्लेखित छन् । यसबाट वैदिककालदेखि नै मानिसहरू यस संसारको बारेमा जान्न इच्छुक थिए भन्ने कुरा प्रष्ट हुन्छ । उनीहरू हरेक वस्तु तथा घटनाक्रमलाई केलाएर हेर्न उत्सुक थिए । वस्तुहरूको उत्पत्ति, अस्तित्व, रूपान्रण र विकास कसरी हुन्छ भन्ने कुरालाई अनेकौं प्रश्नद्वारा खोज्ने प्रयत्न गरिरहेका थिए जस्को परिणाम आज हामी यो अवस्थामा आइपुगेका छौं ।

पूर्वीय इतिहास केलाउँदा बृहस्पति पहिलो भौतिकवादी देखिन्छन् । देवीप्रसाद चट्टोपाध्याय लेख्दछन् “बृहस्पति भन्दछन् कि पृथ्वी, जल, वायु र अग्नी यी मात्र सत्य हो । यिनैको समिश्रणबाट उत्पन्न हुने वस्तुहरूलाई शरीर, पिण्ड र इन्द्रीयहरू भनिन्छ । चेतना यसैसँग सम्बन्धित हुन्छ । अचेतन पदार्थबाट चेतना कसरी उत्पन्न हुन्छ भन्ने तर्कको जवाफमा जसरी मादक पदार्थ रहित वस्तुहरूको समिश्रणबाट मादक पदार्थ तयार हुन्छ भन्दछन् । जुन म¥यो त्यो फेरी फर्केर आउँदैन । आत्मा, मुक्ति, नैतिकता र चरित्रहीनता जस्ता कुनै चिज हुदैन । अग्नी तातो हुनु , जल शीतल हुनु , वायुको स्पर्श अनुभव हुनु , यस्तो विचित्रता कसले उत्पन्न ग¥यो ? कसैले होइन । यिनीहरूको आफ्नो आफ्नो स्वभाव (प्रकृति) हो ।” त्यस समयमा पनि भौतिक वस्तु नै प्राथमिक हो र चेतना द्वितीय, दृष्टिकोण स्पस्ट थियो । प्राचीनकालमा भौतिक वस्तु र मानव जीवनसँगको साम्यानुमान थियो ।

भौतिकवादी संसरमा जति पनि दृष्य (देख्न सकिने) वस्तुहरू जसको लम्बाई, चौंडाई र उचाईका साथै तौल पनि हुन्छ । यस्ता वस्तुहरू मिलेर बनेको यो संसार नै शाश्वत (गलष्खभचकब)ि हो । यो न कसैले निर्माण गरेको हो नत कसैले विनास नै गर्दछ । पदार्थको प्राथमिक तत्वहरूबाट यो संसार बनेको छ र यसको संरचना निश्चित काल पछि फेरिरहन्छ । यसरी हुने परिवर्तन नै कालको रूप हो । यस संसारमा सजीव र निर्जीव पदार्थबिच कुनै अभेद्य पर्खाल छैन । सजीव प्राणीमा पाइने प्राथमिक तत्व र निर्जीव वस्तुमा पाइने प्राथमिक तत्व उही हो । मात्र त्यसको संरचना फरक हो । यो संसार बोधगम्य छ, हामीले जानेको कुरा भने जान्नु पर्ने अनगिन्ती कुराहरू मध्येमा हामीले जानेका कुराहरू गन्ती गर्न सकिने मध्येको थोरै अंश मात्र हो ।

बसी खाने अर्थात् सत्ता र सत्तासमिपमा रहेकाहरूलाई माथि उल्लेखित कुराहरू पाच्य थिएन । उनीहरू कर्ममा विश्वास राख्ने र अदृष्य शक्तिसँग कुनै भय नभएका कारण आफ्नो अनुकुलतामा उनीहरूलाई काम लगाउन नसकिने र यिनीहरूको चेतनाको विकास हुन सक्ने सम्भावनाबाट त्रसितहरू भई आत्मा–परमात्मा, धर्म–पाप, स्वर्ग–नर्क, सेवा–मुक्ति, जस्ता मिथकहरूको सिर्जना गरेर मानिसमा भय उत्पन्न गराउने प्रयत्न गर्न थाले । अनेकौं मिथक समावेश गरिएको रचना वेद, ब्राह्मण ग्रन्थ, उपनिषद् , पुराण, मनुस्मृति आदिको रचना गरी मानिसहरूको हैसियत अनुसार वर्ण व्यवस्था र तिनीहरूको कामको व्यवस्था गरियो । सोही अनुसार काम नभए सजाय गर्ने दण्ड विधान पनि तयार गरे ।

भारतीय जीवन दर्शनको बारेमा राधाकृष्णन लेख्दछन् “भारतमा जीवनको एक मात्र उद्देश्य ब्रह्मलाई सधैं सत्ताको रूपमा जान्नु वा बुझ्नु हो ।” यसमा ‘ब्रह्म सत्य जगत मिथ्या’ वाक्यांशलाई विशेष जोड दिइएको छ । त्यस्तै अर्को उदाहरण हेरौं “पश्चिमी विचारक, जसलाई हामी इन्द्रीय भन्छौं , त्यस माथि निर्भर छन् जबकी भारतीय कल्पनाको क्षेत्रमा आत्मज्ञानमा बढी जोड दिन्छन् ।” (उही) ईश्वर, आत्मज्ञान जस्ता अलौकिक कुराहरू जुन वस्तुगत तथ्यका विपक्षमा खडा छन् अर्थात् ‘ब्रह्म सत्य जगत मिथ्या’ जस्ता यो संसार जहाँ हामी बस्छौं, जसलाई जम्मा गरेर आपूm सम्पन्न र शक्तिशाली छु भन्छौं, अनि त्यसैको धज्जी उडाएर हामी नै सही छौं भनि ढोल पिटिरहने कुरा कति सत्य छ भनेर सायद उनीहरूलाई नै विश्वास छैन । आत्मा–परमात्मा, पूवजन्म–पुनर्जन्म, पाप–पुण्य, स्वर्ग–नर्क र मोक्ष जस्ता कुराहरूमा मानिसहरूलाई भ्रममा राखी शोषण गर्ने मिथक हो, अध्यात्मवाद ।