यतिखेर नेपाल मण्डलमा आर्थिक वर्ष सकिएको छ । आर्थिक वर्ष सकिनेबेला विकासका काम पनि धमाधम जादूको छडीको गतिमा भएका छन् । नेपाल मण्डलमा उखानै छ ‘जब प¥यो राती उसै बुढी ताती’ । यो उखान पनि नेपाल मण्डलबाटै आविष्कार भएको हो । आफ्नै मण्डलाँ आविष्कार भा’को कुरो लागू नगर्नु पनि भएन । त्यसैले उखानलाई सिरोधार्य गर्दै नेपाल मण्डलमा विकासे दरबाजा पनि धमाधम खुल्दै जान्छन् । यो हाम्रो मण्डलको विकासे काइदा हो । यो विकासे काइदामा विभिन्न तहका लाउकेहरूलाई फाइदाको कुरो छ । सरकार चलाएका लाउके दलका लाउके नेताहरू, सरकारी कारिन्दाका लाउकेहरू, ठेकेदारहरू, सत्ताधारी दलका भुइँतहका चुल्ठे, मुन्द्रे, जगल्टे, शरीरैभरी ट्याटु खोपेका टाटेपाङ्ग्रे आदि आदि सबैलाई भागशान्ती पूजापाठ गरेर भोग दिन पर्च । त्यसैले पनि यो विकासे काइदा निकै फलिफाप र युग अनुकूलको छ ।
हरेक आर्थिक वर्षको जेठ र असारमा बजेट भाषण हुनाले पनि विकासे काइदा यस प्रकारको भएको हो । मुख्य कारण यहि हो । जेठ असारमा बजेट भाषण हुन्च । साउन कालो भैहाल्यो । भदौसम्म विनियोजित बजेटमाथि छलफल हुन्च । असोजमा दसैँ पर्च । कार्तिकमा तिहार । मङ्सिरमा बजेट पारित हुन्च । पुस जाडो महिना भएकाले फासफुस भएर बित्छ । माघमा विकासका लागि बोलपत्र आह्वानको सूचना प्रकाशित हुन्च । फागुनमा ठेकेदारहरूले टेण्डर हाल्चन् । चैतमा टेण्डर पास हुन्च । बैसाखमा ठेकेदारहरूले साइड निरीक्षण गर्चन् । जेठमा काम सुरु गर्चन् । असारमा समाप्त पार्छन् । विलकुल रुटिन अन्सार काम भएको छ । यसरी नेपाल मण्डलको विकासे काम फत्ते हुन्च । यो प्रकृया कैयौँ दशकदेखि चलिआएको छ । सनातनी चलनलाई तोड्न पनि त भएन । छलफल, बहस र सरकारी कागजात मिलाउन दस महिना लाग्च भने विकास दुई महिनामा सफाचट हुन्च । यो हो विकासको आधुनिक तरिका । यसलाई लोकतन्त्रे काइदा पनि भन्न सकिन्च । सबै भन्दा ठूलो कुरा कागजात मिलाउने हो । विकास त सामान्य कुरा हो । अरू देशाँ कागजात मिलाउन दुई मैना लाग्च र विकासे काम गर्न दश मैना लाउँचन् । हाम्रो देशाँ कागजात मिलाउन दश मैना लाग्च, विकासे काम गर्न दुई मैना लाग्च । नेपाली मनुवा यसै पनि संसारभर बहादुरको नामले प्रशिद्ध छन् । संसारका अरू मनुवाले गर्न नसक्ने काम नेपालीले गरे पो बहादुरको अर्थ र महत्व रहन्च । नत्र त अरू जस्तो भैगयो । अरू देशका मनुवा र हामी बिचको अन्तर भनेकै यहि त हो ।
विकासको अनुगमन सरकारका कारिन्दाहरूले गर्चन् । कारिन्दाहरूलाई स्थाई सरकार पनि भन्चन् क्यारे । मन्त्रीहरू त आउँचन् जान्चन् । सरकारलाई टेको पुरो लाएर अड्याई राख्ने त कारिन्दाहरू नै हुन् । अझ नेपाल मण्डलमा त नौ मैने सरकार न प¥यो । ‘प्रभुको तोकैले नौ मैने सरकारै खायाँ’ । पुरानो गीत पनि बदल्नु पर्ने भयो । नेपाल मण्डलमा सरकार पनि आफ्नै बलबुँतामा बन्दैन । रैतीहरूले चुनेर त पठाउँचन तर तिनरुलाई अनुमति भने प्रभुहरूले दिन्चन् । कारिन्दाहरू त लोकसेवाको लाइसन लिएर सिँहदरबार छिरेका हुन्चन् । लाइसनधारी भएकाले तिनलाई कोइ माइकालालले पनि हल्लाउन सक्तैन ।
कारिन्दाहरूको अनुगमन गर्ने काइदा पनि बडो गजबको छ । आफ्नो मण्डलमा भएको विकासको अनुगमन गर्न अर्काको मण्डलतिर जानु पर्च । ऐले सिँहदरबार भित्र जाने हो भने कुनै पनि मन्त्रालयमा बरिष्ठ अधिकृतदेखि सचिवसम्मका कारिन्दाहरू भेटिँदैनन् । सबै विकास हेर्न सात समुन्द्र पारी हानिएका छन् । कोही हानिने तरखरमा छन् । एकादुई मात्रै होइन थोकका थोकमा हानिन्चन् । नेपाल मण्डलको बजेट पनि विदेशबाटै दातामाता र प्रभुहरूले पठाइदिने भएकाले अनुगमन गर्न उतै जानु पनि मुनासिवै हो । आफ्नो मण्डलमा रैतीहरूबाट तिरोभरो र कर अशुलीबाट उठेको पैसाले सांसद, मन्त्री, कारिन्दाहरू र सरकारको सुरक्षामा खट्ने नानाथरीका फौजहरूलाई तलव भत्ता खानै ठिक हुन्च । विकास गर्नका लागि त प्रभुहरूसँग हार गुहार गरेर रिनपान र भीख मागेरै चलाउनु पर्च । त्यो रिनपान र भीख पनि विभिन्न आइएनजिओ र एनजिओहरूको झोलामा हालेर ल्याउनु पर्च । त्यसैले दातामाताहरू र आइएनजिओहरूका गोष्ठीहरूमा भाग लिन कारिन्दाहरू त जानै प¥यो क्यारे । बजेट फ्रिज गराउनु पनि त भएन । फेरि अर्को पटक माग्दा नपाइने हुन्च । त्यसैले सरकारी कारिन्दा जति सबै विदेशतिर विकासे अनुगमन गर्न गएका छन् । मौकामा चौका हान्नै प¥यो । अनुगमन पनि हुने भ्रमण पनि हुने । डाडु पन्यु हातमा हुनेले आफ्नो भाग ठूलो बनायो भनेर आरिस गरेर के नाप्चन् र अरूले । जाऊ जाऊ कारिन्दा हो सरकार त तिम्रै हो ।
१ साउन २०७४