अर्धसामन्ती, अर्ध/नवऔपनिवेशिक अवस्थाबाट मुक्तिका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य

अर्धसामन्ती, अर्ध/नवऔपनिवेशिक अवस्थाबाट मुक्तिका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य

नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठक हालै सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोग गरेको क्रान्तिकारी माओवादी अब आफ्नो राष्ट्रिय सम्मेलनतर्फ केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको दस्तावेजमाथि छलफल केन्द्रित रहेको केन्द्रिय समिति बैठकका निर्णयहरुबारे गरिएको संक्षिप्त कुराकानीको सारांश :

नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको करिब एक साता लामो बैठक सम्पन्न भएको छ । बैठकले लिएका महत्वपूर्ण निर्णयहरु के के हुन् ? बताइदिनुस् न ।

पार्टीको केन्द्रीय समितिको यो बैठक राष्ट्रिय सम्मेलनको तयारीमा केन्द्रित रहेको छ । बैठकमा लिइएका आवश्यक निर्णयहरुबारे प्रेसवक्तव्यमार्फत् विस्तृत रुपमा प्रकाश पारिसकिएको छ ।

आसन्न राष्ट्रिय सम्मेलनलाई लक्षित गरी बैठकमा प्रस्तुत दस्तावेजहरुको मूल स्प्रिटबारे संक्षिप्तमा स्पष्ट पारिदिनुस् न । यसले प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादीहरुको चौतर्फी घेराबन्दीलाई तोड्दै नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्न सक्छ ? संक्षिप्तमा प्रकाश पारिदिनुस् न ।

राष्ट्रिय सम्मेलनमा प्रस्तुत दस्तावेजहरुको मूल स्प्रिट वर्तमान नेपाली समाजको स्वरुप र पार्टीको आमकार्यदिशाको निर्धारण गर्ने प्रश्नसित जोडिएको छ । पार्टी दस्तावेजमा देशलाई अर्धसामन्ती, अर्धऔपनिवेशिक र नवऔपनिवेशिक अवस्थामा रहेको र त्यस अवस्थाबाट मुक्तिका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको कुरा उल्लेख गरिएको छ । समग्रमा बैठकमा प्रस्तुत दस्तावेजहरु नयाँजनवादी क्रान्तिको आवश्यकता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण र पार्टीको आगामी कार्यभारलगायतका विषयमा आधारित रहेको छ । परिस्थिति जटिल छ, तर पनि प्रतिक्रियावादी, संशोधनवादी तथा विभिन्न प्रकारका अवसरवादीहरुद्वारा तेस्र्याइएका अवरोधहरुको सामना गर्दै नेपालमा नयाँजनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ र गर्नु पर्दछ भन्ने बारेमा पार्टी दृढ रहेको छ ।

दस्तावेजमाथि केन्द्रीय सदस्यहरुबाट के कस्ता सुझावहरु आए ? बताउन मिल्छ ?

दस्तावेजहरु माथि सबै केन्द्रीय सदस्यहरुले आफ्ना धाराणा राख्नु भएको छ । सबैको चिन्ता, चासो र जिज्ञासा पार्टीलाई देशको नयाँ विकल्पका रुपामा प्रस्तुत गरी कार्य गर्न योग्य बनाउनु भन्ने रहेको छ ।

बैठकले स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोगको नीतिको समीक्षामा के कस्ता निष्कर्ष निकाल्यो ? संक्षिप्तमा बताइदिनुस् न ।

स्थानीय निर्वाचनबारे पनि बैठकमा समीक्षा गरिएको छ । आवश्यक तयारीबिना नै निर्वाचनको उपयोग गर्नु परे पनि पार्टीको उपयोगसम्बन्धी नीति सही नै रहेको समीक्षा गरिएको छ । साथै, अहिलेको स्थानीय निर्वाचनमा सत्ताधारी र प्रतिपक्षी राजनीतिक दलहरुको बीचमा जुन गठबन्धनहरुको नाटक मञ्चन गरिए ती सबैबाट सिद्धान्त र पार्टी नीति होइन चुनाव जसरी पनि जित्नैपर्ने कुत्सित मान्यतालाई आधार बनाएको देखियो । यसले उनीहरुकै मान्यताअनुसार पनि संसदीय व्यवस्थामा प्रतिपक्षीको व्यवस्था हुनुपर्ने कुरालाई खण्डित गरिदियो । निर्वाचनमा अनेकैं विकृति विसंगति देखापरे ।

आगामी प्रदेश र केन्द्रीय निर्वाचनको उपयोग गर्ने सम्बन्धमा पनि केही छलफल भयो कि ?

आगामी प्रदेश र केन्द्रीय निर्वाचनको उपयोगबारे सामान्य कुराकानी त भयो, तर यसबारे आगामी केन्द्रीय समितिको बैठकमा नै निर्णय लिइने समझदारी बनाइयो ।

पार्टीलाई समेत प्रादेशिक संरचनामा लगिने निर्णय गरेको बुझियो । यसो गर्दा यो व्यवस्था, सत्ता र संविधानलाई नै स्वीकार गरेको अर्थ त लाग्दैन ?यसैलाई आधार बनाएर केही मान्छेहरुले यस्तो आरोप पनि लगाएका छन् नि ?

सामान्यतः पार्टीका संरचनाहरु क्रान्तिको उभार तथा उतार र संगठन एवं संघर्षका रुपहरुको विन्याससम्बन्धी मान्यतामाथि ध्यान दिएर बनाइएको हुन्छन् । पार्टीले राज्यको संरचना, प्रशासनिक आधार, संविधान, व्यवस्थालाई अस्वीकार गर्दै आएको कुरा स्पष्ट नै छ । तर पनि तात्कालिक रुपमा पार्टी कामको सुविधा र सरलताको दृष्टिले प्रशासनकै राज्यसंरचनाअनुरुप जानु हामीले उपयुक्त ठानेका छौं । तर हामीले राज्यको वर्तमान संरचनालाई भने स्वीकार गर्न सक्दैनौ र गरेका पनि छैनौं ।

विद्यमान निष्क्रियता र निराशालाई चिर्दै पार्टीलाई गतिशील र प्रभावशाली बनाउने विषयमा योजनागत रुपमा केही सोच्नु भएको छ कि ?

पार्टीलाई गतिशील र प्रभावकारी बनाउनका लागि सर्वप्रथम विचारधारा तथा राजनीतिक कार्यदिशालाई विकसित तथा समृद्ध तुल्याउन र तद्अनुरुप कुशल संगठकहरुको जालो तयार पार्न आवश्यक हुन्छ यो काम हामीले राष्ट्रिय सम्मेलनको प्रक्रियामा सम्भव गर्दछौं । यसपश्चात् हामी शुद्धीकरण सुदृढीकरणको प्रक्रियाबाट अगाडि बढ्दछौं । अनि हामी जुझारु संघर्षशीबाट विकसित तुल्याउने काम लाग्दछौं । समग्र क्रान्तिको तयारीको प्रक्रियामा नै पार्टी गतिशील र प्रभावकारी बन्दै जान्छ ।

पार्टीभित्रका अन्तर्संघर्षको सही रुपमा संचालन हुन नसक्दा विगतमा पार्टी विभाजित हुन पुग्यो । यो अन्तर्संघर्षको व्यवस्थापन कसरी गर्ने सोच्नु भएको छ ?

पार्टीभित्र अन्तरसंघर्ष निरन्तर चलिनै रहन्छ र त्यसमा पनि सम्मेलन वा महाधिवेशनहरुमा अन्तरसंघर्ष अलि बढी प्रखर हुने गर्दछ । क्रान्तिकारी कार्यदिशालाई विकसित तुल्यान र संगठनमा गति पैदा गर्नका लागि अन्तरसंघर्षको महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । जहाँसम्म अन्तरसंघर्ष सही ढंगले सञ्चालन गर्ने प्रश्न छ, यसमा हामीले विशेष ध्यान दिनु पर्दछ । समग्रका कमी, कमजोरी तथा शिक्षाबाट पाठ सिक्नै एकता–संघर्ष तथा मुतया उच्चस्तरीय रुपान्तरणमा जोड दिनु पर्दछ ।
बैठकले अन्य पार्टीमा रहेका क्रान्तिकारी पंक्तिलाई पनि एकता वा ध्रुवीकरणका लागि आव्हान गर्ने भन्ने निर्णय गरेको पनि सुनियो । यसको आधार र सम्भावनाबारे स्पष्ट पारिदिनुस् न ।
नेपाली कम्युुनिष्ट आन्दोलन एकीकरण र ध्रुवीकरण आजको टड्कारो आवश्यकता हो । हामीले सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई सही विचार धरातलमा तथा रणनीतिक कार्यदिशाका आधार एकताबद्ध तुल्याउने बारे निरन्तर चर्चा गर्दै आएका छौं । त्यसबारे यस बैठकमा कतिपय ठोस निर्णयहरु पनि लिइएका छन् ।

पार्टीले भन्दै आएको प्रतिक्रियाकाल अब सकियो कि छँदैछ ? यो कहिलेसम्म रहन्छ ?
पार्टीको भन्नेबारेको तक्रियावाद भनेको प्रतिक्रियावादी वर्ग तथा त्यसको राज्यसत्ता बलियो र क्रान्ति कमजोर बन्न गएको अवस्था हो । सोही निश्चित समय एवं यो अवस्था रहन्छ । क्रान्तिको तयारीको प्रक्रियामा प्रतिकूलताको सामना गर्दै जाँदा प्रतिक्रिया कालको अंश र उभारको काल विकसित हुने करा निश्चित छ ।

अन्त्यमा, असोजमा गर्ने भनेको राष्ट्रिय सम्मेलनबाट पार्टीले कुन दिशा समात्छ ? प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादीहरुको चौतर्फी घेराबन्दी गरिरहेको अवस्थामा गर्न लाग्नुभएको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आम पार्टीपंक्ति र जनपंक्तिमा के आग्रह तथा आव्हान गर्न चाहनुहुन्छ ?

आज हामी नेपाली क्रान्ति, वर्गसंघर्ष र नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको एक विशिष्ट नयाँ र जटिल मोडमा छौं । यस प्रकारको मोडमा नयाँ ढंगले अगाडि बढ्न र प्रतिक्रियावादी तथा दक्षिणपन्थी संशोधनवादीहरुद्वारा तेस्याईएका चुनौतीहरुको दृढतापूर्वक सामना गरी ऐतिहासिक राष्ट्रिय सम्मेलनलाई सफल तुल्याउन र सम्पूर्ण पार्टीपंक्ति र जनपंक्तिलाई दृढ मनोबल र क्रान्तिकारी आशावादीले समृद्ध बन्न र एकताबद्ध हुन विशेष अनुरोध गर्दछु ।