अमेरिकी फेडरल एभिएशन एडमिनिस्ट्रशन (एफएए) ले सन फ्रान्सिस्को विमानस्थलमा एयर क्यानडाको एक फ्लाइट अन्य चार वटा विमानसँग ठोक्किनबाट बचेको घटनाको जाँच सुरु गरेको छ ।
गत शुक्रबार टोरोन्टोबाट सन फ्रान्सिस्को आएको एसी ७५९ फ्लाइटको ल्याण्ड गर्नका लागि कुनै अवरोध थिएन, तर पाइलटले सो फ्लाइटलाई अन्य चार विमान फ्लाइटका लागि तयारी अवस्थामा रहेको स्थानमा पुर्याएका थिए ।
यसलाई लिएर एयर ट्राफिक सञ्चालकले थाहा पाएपछि पाइलटलाई रोक्न आग्रह गरेपछि एयरबस ३२० सुरक्षित अवतरण हुन सकेको थियो ।
यस विषयमा एफएएले एयर क्यानडाको फ्लाइट र ट्याक्सीवेमा रहेका फ्लाइटबीचको दुरी जाँच गरिरहेको छ । एफएएले ७ जुलाईमा भएको यो घटना अपवादस्वरुप भएको बताएको छ ।
एयर क्यानडाले १ सय ३५ जना यात्रु र चालक दलका पाँच सदस्यसहित टोरोन्टोबाट उडान भरेको जनाएको छ । अहिलेसम्म पनि ट्याक्सीवेमा रहेका विमानमा कति मानिस थिए भन्नेबारेमा केही खुलेको छैन ।
जुन विषयमा एयर क्यानडाले समेत छानविन गरिरहेको छ । उसले पाइलटले किन यसो गरे भन्नेबारेमा छानविनपछि विस्तृत जानकारी दिने जनाएको छ ।
यस घटनामा पछिल्लो शुक्रबारको अडियो रेकर्ड समेत बाहिर आएको छ, जसमा सन फ्रान्सिस्को एयरपोर्टमा ट्राफिक कन्ट्रोलर र पाइलटबीच कुराकानी छ ।
यस अडियोमा रनवेमा लाइट छ भनेको पुरुषको आवाज रहेको छ । अर्कोतर्फ एयर ट्राफिक कन्ट्रोलरले अर्को फ्लाइट नरहेको बताएको सुनिएको छ । यो आवाज एयर क्यानडाको विमानका पाइलटको भएको अनुमान गरिएको छ ।































