काठमाडौं । उपत्यकामा शुद्ध ‘खानेपानी’का नाममा जार र बोटलहरुमा बेचिने विभिन्न कम्पनीका पानीमध्ये २१ कम्पनीका पानी गुणस्तरहीन भेटिएको छ । सरकारले गत साउनदेखि जेठसम्म अनुगमनका क्रममा संकलित नमुना परीक्षण गर्दा यस्तो कैफियत भेटिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनका क्रममा पानीका ६१ नमुना संकलन गरेकोमा २१ वटा ‘पिउने’ भनिएको पानी छन् । गुणस्तरहीन पानी बेच्ने कम्पनीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको विभागका सह–प्रवक्ता मदनकुमार चापागाईंले जानकारी दिए ।
यस्तै, विभागले ११ वटा दूध उद्योगलाई कारबाहीको लागि प्रशासनमा मुद्दा दर्ता गरेको छ । यसमा आइडिया प्लस डेरी ललितपुर, कालिका डेरी भक्तपुर, सैंजु डेरी भक्तपुर, जगदम्बा फुड एन्ड बेभरेज भक्तपुर, सीताराम गोकुल मिल्क्स कीर्तिपुर, नवप्रभात डेरी ललितपुर छ । यी कम्पनीको दूधमा कैफियत भेटिएको चापागाईंले बताए ।
लतिपुरको चापागाउँस्थित राजधानी डेरीको दही न्यून गुणस्तरको भेटिएको थियो । काठमाडौं डेरी बबरमहलले लेबल बिनाको बटर बेच्ने गरेको फेला परेको थियो । त्यस्तै, नेपालगन्जको ज्ञान फुड प्रोडक्टको बेसन र हरिहरभवनस्थित कसौंडी चुलोको मःम दूषित भेटिएको थियो ।
भक्तपुरको नेपाल टप फिडको दाना, बनेपास्थित ओम खाद्य उद्योगको गहुँको पिठो, बाराको ओम भेजिटेबल र शिवशक्ति घीउका उत्पादन गुणस्तरहीन भेटिएको थियो ।
आर्थिक वर्ष ०७३ र ७४ को जेठसम्ममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चार सय १४ वटा खाद्य वस्तुको नमुना परीक्षण गरेको थियो ।