रियलबाट रोड्रिग्वेज बायर्न म्युनिखमा

रियलबाट रोड्रिग्वेज बायर्न म्युनिखमा

असार २८, २०७४ । कोलम्बियाली फुटबलर जेम्स रोड्रिग्वेजले मंगलबार दुई वर्षको लागि बायर्न म्युनिखमा अनुबन्धन भएका छन् । उनी रियल म्याड्रिडबाट ऋणमा बुन्डेसलिगा क्लब गएका हुन् । सन् २०१९ को जुन ३० सम्मका लागि दुई क्लबबीच दुईवर्षे सम्झौता भएको हो । ब्राजिलमा भएको सन् २०१४ को विश्वकपमा २५ वर्षीय मिडफिल्डर सर्वाधिक गोलकर्ता रहेका थिए ।

‘यो स्थानान्तरण सम्भव भएकोमा मलाई खुसी लागेको छ,’ बायर्नका अध्यक्ष कार्ल हेन्ज रुमेनिगाले भने, ‘हाम्रा प्रशिक्षक कार्लो एन्सेलोट्टी उन (जेम्स) लाई क्लबमा भित्र्याउन चाहन्थे ।
उनीहरूले रियलमा छँदा सँगै काम पनि गरिसकेका छन् । रोड्रिग्वेज निकै राम्रा खेलाडी हुन् । उनी गोल पनि गर्छन् र गोलका लागि अवसर पनि सिर्जना गर्छन् । अझ उनी सेट पिसमा निकै उत्कृष्ट छन् ।’

बायर्नका केही प्रमुख खेलाडीले क्लब छाड्ने धम्की दिइरहेका बेला रोड्रिग्वेजका रूपमा टिमले आक्रामक मिडफिल्डर ल्याएको हो । ब्राजिली फरवार्ड डगलस कोस्टा युभेन्ट्स जान चाहन्छन् भने विंगर सर्जी नाब्र वेर्डेर ब्रेमन लाग्न चाहन्छन् । सन् २०१४ मा रोड्रिग्वेज मोनाकोबाट ७ करोड ५० लाख युरोमा गएका थिए ।

कोलम्बियाले क्वाटरफाइनलसम्म तय गरेको विश्वकप यात्रामा रोड्रिग्वेजले ६ गोल गरेका थिए । सन् २०१४ र १५ को सिजन उनका लागि रियलमा सर्वाधिक उत्कृष्ट रह्यो । त्यति बेला रियलका प्रशिक्षक एन्सेलोट्टी थिए । रोड्रिग्वेजले त्यो सिजन १७ गोल गरे । कुल ४६ खेलमा उनले १८ गोलमा सहयोगी भूमिका पनि खेलेका थिए ।

स्टार खेलाडीले भरिएको रियलमा प्रशिक्षक जिनेदिन जिदान आएयता भने रोड्रिग्वेज पहिलो रोजाइमा पर्न छाडे । गत सिजन उनले स्पेनी लिगमा १३ अवसरमा मात्र सुरुदेखि खेल्न पाएका थिए । यस्तै उनले ९ खेलमा बेन्चबाट आएर खेले । लेनागेसविरुद्ध रियलले प्राप्त गरेको जितमा उनलाई सब्स्टिच्युट गरिएपछि उनले खुलेर असन्तुष्टि पोखेका थिए । एजेन्सी