साहित्यमा नयाँ यथार्थ : एक टिप्पणी

साहित्यमा नयाँ यथार्थ : एक टिप्पणी

नेपाली साहित्यिक आन्दोलनमा नयाँ यथार्थ भन्नाले जनयुद्ध सिर्जित यथार्थलाई बुझ्नु पर्दछ । यो पुरानो यथार्थका विरुद्ध युगान्तकारी लक्ष्य लिएर सुरु गरिएको जनयुद्धको प्राप्ती हो । नयाँ यथार्थ निकै पेचिलो अनुभूतिजन्य र उदात्तभावले ओतप्रोत रहेको छ । यो नेपालको राजनीतिक आन्दोलनको नयाँ आयाम हो । किन्तु जनयुद्धलाई योजनावद्ध रूपमा साम्राज्यवादी–विस्तारवादी वर्गको चङ्गुलमा फसेर मुख्य नेतृत्वपङ्क्तिबाटै असफल पारिएको नै किन नहोस् परन्तु यो युगान्तकारी महत्वको विषय रहेको छ ।

दोस्रो विश्वयुद्धको सेरोफेरोमा तात्कालिन जहाँनियाँ राणा शासनका विरुद्ध उठेको जनविद्रोह सुरुमा राणा शाषकहरूद्वारा दबाइए पनि अन्ततः २००७ साल वरिपरि आउँदा त्यसले राणा शासनलाई नै उखेलेर सदाका लागि फाल्यो । त्यसपछि नेपालमा राजनीतिक चेतनाको निर्माण तीव्रत्तम रूपमा भयो । सोही अनुरूप विचारधाराका हाँगाहरू र तदनुरूपका सङ्गठनहरू पनि जन्मिए । माक्र्सवादी र गैरमाक्र्सवादी राजनीतिक दलहरू खुले ।

त्यसले साहित्यिक क्षेत्रमा निकै भिन्न र अग्रगामी विचारको विजारोण गर्यो । साहित्यिक क्षेत्रमा प्रगतिशील÷प्रगतिवादी धाराको विकास भयो । सोअनुरूपका लेखन र साहित्यहरू जन्मिए । यसले चारदशकको यात्रा ग¥यो । त्यसबीचमा क्रान्ति र प्रतिक्रान्तिको शृङ्खला दोहोरिएता पनि नेपाली समाजमा एकखालको चेतनाको निर्माण गर्दै गयो भने राजनीतिक रूपमा मात्रात्मक रूपमै पनि केही परिवर्तनहरू देखा परे ।

विश्व कम्युनिस्ट आन्दोलन निकै रक्षात्मक अवस्थामा रहेका बेला नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनसमुदायले उच्च त्याग र बलिदानीभावका साथ यथास्थितिका विरुद्ध क्रमभङ्ग गर्दै धावा बोले । त्यो विद्रोह जनयुद्धका रूपमा विकास भयो । त्यसले नयाँ सौन्दर्यमूल्यको भव्यतम शिखर निर्माण गरेको छ । यो निकै अद्वितीय रहेको छ । यसले फेरि एकपटक संसारभरका श्रमजीवी वर्गलाई आशाको दीप प्रज्ज्वलित गराएको थियो र छ । वस्तुगत र आत्मगत रूपले दुईवटा पक्ष रहेको यो नयाँ यथार्थ कुरूप संसारको ध्वंस र नयाँ संसारको निर्माणमा आधारित छ ।

आखिर एउटाको ध्वंसबाट मात्र अर्को निर्माण हुन सक्छ । यो द्वन्द्ववादको नकारको सकार सम्बन्धी नियम पनि हो । माक्र्सले ध्वंसको चर्चा गर्दै पुरानोको ध्वंसले मात्र नयाँ निर्माण गर्न सक्छ भनेका थिए । उनको जोड समाजवाद स्थापनाका लागि क्रान्तिको आवश्यकता छ र क्रान्तिले पुरानोको ध्वंस अनिवार्य हुन्छ भन्नु थियो । नेपालको सन्दर्भमा समाजवाद रणनीतिक प्रश्न भएकाले त्यसलाई प्राप्त गर्न जनवादी क्रान्ति आवश्यक छ । जनवाद प्राप्त गर्नका लागि पनि पुरानोको ध्वंस अनिवार्य थियो र छ । जनयुद्ध यसै मान्यतामा आधारित थियो ।

सही विचार योजनामा खडा भएको क्रान्तिकारी पार्टीको सचेत पहलकद्मी र मृत्यु या मुक्तिको सपथ खाएका उच्च विचारले समृद्ध कार्यकर्ताको सचेत प्रयत्नमा जनयुद्धको शंखनाद गरियो । सुरुका अत्यन्तै पीडादायी क्षणहरू गुजार्दै र अत्यन्तै प्रतिकूल परिस्थितिको सामना गर्दै विकसित जनयुद्धले नयाँ जनसत्ता, जनसेना निर्माण गर्नु महान् कार्य थियो । यो आफैंमा महान् सम्भावना र गम्भीर चुनौतीको संश्लेषण पनि हो ।

यो नयाँ यथार्थको वस्तुगत पक्ष हो भने यसको आत्मगत पक्ष भनेको त्यही वस्तुगत अवस्थाबाट सिर्जित नयाँ सौन्दर्यात्मक मूल्यवोध, वर्गीय एकत्वभाव, नयाँ ऊर्जा र उदात्तभावको संस्कृति हो । वर्गसङ्घर्षको यस प्रक्रियाले ग्रामीण जनतालाई आवेग, आक्रोश, पीडा र छटपटाहटको तीव्रतम अनुभूति गराएर त्यसलाई विद्रोहको शक्तिमा रूपान्तरित गर्यो । जसले पुरातन संस्कृति, मूल्यमान्यतालाई तोड्दै र सदियौंदेखि शोषण दमन गर्दै जनताको रगत र पसिना चुसेर निर्माण गरेको सामन्ती आभिजात्य संस्कृति ध्वंस गर्दै त्यसको ठाउँमा वर्गीय, जातीय, क्षेत्रीय असमानता एवम् विभेदको अन्त्य गर्दै साम्यवादी संंकृतिको बीजारोपण गर्यो । यस अवधिमा जनसमुदायबाट लिएर जनसमुदायलाई नै फर्काउने साहित्यकलाको विकास भयो । नयाँ सांस्कृतिक मूल्यबोधका आधारमा सिर्जित साहित्य र कलाले उत्पीडित वर्ग, जाति, भाषा, क्षेत्र र लिङ्गका जनतालाई अग्रगामी परिवर्तन गरी नयाँ नेपाल निर्माण गराउने महाअभियानमा संकल्पबद्ध गराई उदात्तभावका साथ लाग्न हौसल्यायो ।

यिनै त्याग, वीरता र बलिदानका उदात्त, भव्य एवम् सुन्दर आदर्शहरूलाई सङ्केन्द्रित गराएर नेपाली जनयुद्धले विश्व कम्युनिस्ट आन्दोलनलाई एउटा ऊर्जा प्रदान गरेको छ । यसले मालेमावादी सौन्दर्यमूल्य मान्यतामा नयाँ आयाम माक्र्सवादी सौन्दर्यमूल्यबोध प्रदान गरेको छ । यो सचेतन धक्काद्वारा क्रमभङ्ग गर्दै अगाडि बढेर महान् सम्भावनाका समष्टिमा अभिव्यक्त भएको छ । यही नयाँ यथार्थ हो । जो विश्व कम्युनिस्ट आन्दोलन र अग्रगामी प्रगतिवादी धाराको एउटा भव्यतम मौलिक र विशिष्ट परिचय हो ।

जनयुद्धका क्रममा दसौं हजार सहिदहरूको बलिदानद्वारा दुश्मन सत्ताका ‘किलो सेरा टु’, ‘जङ्गल सर्च अभियान’, ‘कर्डन एण्ड सर्च’ लगायत पछिल्लो क्रममा आधार इलाकामा चलाइएको पाथिभरा अप्रेशन जस्ता दर्जनौ अप्रेसनहरूलाई धुलो चटाउने कार्य भयो । यसबीचमा सांस्कृतिक अभियन्ताहरूले निकै ठूला मूल्य चुकाउँदै सामूहिक हत्याकाण्डको सामना गर्दै अघि बढे । प्रगतिवादी सांस्कृतिक एवम् साहित्यिक आन्दोलनका शीर्ष व्यक्तित्व, उच्चतम् त्यागका धरोहर कमरेड कृष्ण सेन ‘इच्छुक’ सहित अनेकोट, भावाङ, हार्जङ्, सुकिदह, खारा, दोरम्बा, नवलपरासी, डुङ्ग्ला, मुडभरालगायत सयौं सामूहिक हत्याकाण्डसँग जुध्दै वर्गसङ्घर्षले सामन्तवाद र साम्राज्यवादलाई एकहदसम्म घुँडा टेकायो । फलस्वरूप युद्धले रक्षात्मक अवस्थाबाट प्रत्याक्रमणको दिशामा उच्चतम विजय हासिल गर्दै अघि बढ्यो ।

यसक्रममा साहित्यिक सांस्कृतिक क्षेत्रमा पनि ठूल्ठूला बलिदानका कीर्तिमानहरू खडा भए । त्यही उत्सर्गको जगमा आधारित भएर साहित्य सिर्जनाले निकै ठूलो फड्को मार्यो । युद्धभूमिबाटै उपन्यास, कथा, कविता, गीत, निबन्ध, संस्मरण, पत्रसाहित्य जस्ता साहित्यका थुप्रै विधाहरूमा हजारौँ कृतिहरू लेखिए । यसरी प्रगतिवादी धारामा अभूतपूर्व फड्को मार्दै लेखनको तीव्रगतिमा विकास भयो । ठूल्ठूला फौजी कार्वाहीमा जाँदाजाँदै जनसेनाहरूबाट उदात्तभावमा सुन्दरतम् पत्रसाहित्य, संस्मरण, कविता, गीत, कथा लेखेर शब्द र कर्मको समायोजन गर्ने काम भएका छन् र एकैछिनपछि मृत्युको मुखमा पुगिने थाहा भएरै आफ्नो मृत्युपत्र लेखेका उदाहरण दर्जनौ छन् ।

सगर्व मृत्युवरणको यो भन्दा सुन्दर संस्कृति अरू केही हुन सक्दैन । कृष्ण सेन ‘इच्छुक’ को सहादत आफैंमा एउटा नयाँ ऊर्जाशील आन्दोलन बनेर खडा भयो । त्यसैगरी स्रष्टाहरू दण्डपानी न्यौपाने, सुरेश वाग्ले, रीतबहादुर खड्का, चुनु गुरुङ, च्याङवा लामा, नारायण घिमिरे, डी.बी. थापा, रोहित कोइराला, पुष्पराज चौधरी, कमल पुन, हर्षबहादुर मल्ल, शारदा श्रेष्ठ, मस्त विष्ट, झक्कुप्रसाद पुनलगायतका होनहार स्रष्टाहरूको बलिदानले साहित्यिक र लेखकीय आन्दोलनलाई अघि बढाउने काम ग¥यो । साथै जनयुद्धको अद्वितीय मुक्ति अभियानमा सयौं साहित्यकार तथा संस्कृतिकर्मीले शासकका बर्बर यन्त्रणालाई कुनै प्रवाह गरेनन् र सांस्कृतिक आन्दोलनमा ऊर्जा दिने काम गरे ।