भारत–पाक नियन्त्रण रेखामा पुनः हिंसात्मक भिडन्त, ७ जनाको मृत्यु

भारत–पाक नियन्त्रण रेखामा पुनः हिंसात्मक भिडन्त, ७ जनाको मृत्यु

एजेन्सी । भारत र पाकिस्तानबीच नियन्त्रण रेखामा पुनः हिंसात्मक भिडन्त हुँदा ७ जनाको मृत्यु भएको छ ।

पाकिस्तानी अधिकारीहरुले चिडीकोट सेक्टरमा फायरिङबाट एक महिलासहित चार जनाको मृत्यु भएको जनाएका छन् ।

यसैगरी नकयाल सेक्टरमा भारतीय सेनाको गोली प्रहारबाट अर्की पाकिस्तानी महिलाको मृत्यु भएको छ ।

यता भारतका अधिकारीहरुले पनि पाकिस्तानले गरेको फायरिङमा दुई जनाको मृत्यु भएको जनाएको छ ।

भारत प्रशासित काश्मिरमा हिजबुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीको प्रहरीले गरेको हत्याको एक वर्ष पुगेको अवसरमा हड्ताल आयोजना भएकै समयमा दुई देशको नियन्त्रण रेखामा हिंसा भएको हो ।

कश्मिरमा हुर्रियत कन्फ्रेन्स र जिहाद काउन्सिलको अपिलमा हड्ताल आयोजना गरिएको हो । भारत प्रशासित काश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच समेत झडप भएको छ । त्यसलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

शनिबार मात्रै कश्मिरका करिब १२ स्थानमा झडप भएको छ । त्यसक्रममा तीन जना सुरक्षाकर्मीसहित केही प्रदर्शनकारी समेत घाइते भएका छन् ।

बुरहान बानीको हत्यापछि कश्मिरमा जारी तनावका क्रममा हालसम्म १ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने भारत–पाक नियन्त्रण रेखामा पनि दर्जनौंको मृत्यु भएको छ ।